एक दशकपछि पहिलोपटक अर्थतन्त्रका विषयमा रिपब्लिकनभन्दा डेमोक्रेटिक पार्टीसँग मतदाता विश्वस्त

रोयटर्स/इप्सोसले गरेको सर्वेक्षणअनुसार अमेरिकी मतदाताले झन्डै एक दशकपछि पहिलोपटक अमेरिकी अर्थतन्त्र सञ्चालनका लागि रिपब्लिकन पार्टीभन्दा डेमोक्रेटिक पार्टीलाई बढी उपयुक्त मानेका छन्। सर्वेक्षणले राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको जनसमर्थन पनि घटेर ३५ प्रतिशतमा पुगेको देखाएको छ।
अर्थतन्त्रमा डेमोक्रेटिक पार्टी अगाडि
सर्वेक्षणमा सहभागी दर्ता भएका मतदातामध्ये ३७ प्रतिशतले अमेरिकी अर्थतन्त्र व्यवस्थापनका लागि डेमोक्रेटिक पार्टीको दृष्टिकोण राम्रो रहेको बताए। ३६ प्रतिशतले रिपब्लिकन पार्टीलाई रोजे भने २७ प्रतिशतले आफू निश्चित नभएको वा अन्य कुनै पार्टीले राम्रो काम गर्न सक्ने बताए।
रिपब्लिकन पार्टीले सन् २०१७ देखि २०२१ सम्म ट्रम्पको पहिलो कार्यकालमा अधिकांश समय अर्थतन्त्रको विषयमा डेमोक्रेटिक पार्टीमाथि अग्रता कायम गरेको थियो। त्यसपछि डेमोक्रेटिक राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालभरि र ट्रम्पको दोस्रो कार्यकालको सुरुवातमा पनि रिपब्लिकन पार्टीले अर्थतन्त्रसम्बन्धी जनविश्वासमा अग्रता कायम राखेको थियो।
मे २०१७ मा सम्पन्न रोयटर्स÷इप्सोस सर्वेक्षणमा भने डेमोक्रेटिक पार्टीले अग्रता लिएको थियो। तर त्यसबेला प्रश्न फरक ढंगले सोधिएको थियो र ‘निश्चित छैन’ वा ‘अर्को पार्टीले राम्रो काम गर्न सक्छ’ भन्ने विकल्प दिइएको थिएन।
अर्थतन्त्रमा रिपब्लिकनको अग्रता खस्किँदै
ट्रम्पको वर्तमान कार्यकालमा अर्थतन्त्रसम्बन्धी रिपब्लिकन पार्टीको अग्रता निरन्तर कमजोर हुँदै आएको सर्वेक्षणले देखाएको छ। पछिल्ला महिनाहरूमा यो अग्रता शून्यमा झरेको थियो।फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढ्दा अमेरिकी परिवारको आर्थिक अवस्थामा दबाब परेको छ। त्यसयता जारी युद्धका कारण पेट्रोलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेको छ। औसत अमेरिकी उपभोक्ताले पेट्रोल पम्पमा प्रति ग्यालोन एक डलरभन्दा बढी अतिरिक्त रकम तिर्नुपरेको छ।
ट्रम्पले इरानको आणविक कार्यक्रम ध्वस्त पार्न, क्षेत्रीय प्रतिद्वन्द्वीमाथि आक्रमण गर्ने उसको क्षमता कमजोर बनाउन र इरानी जनतालाई धार्मिक शासन हटाउने वातावरण सिर्जना गर्न आफूले आक्रमणको आदेश दिएको बताउँदै आएका छन्।
तर युद्धका कारण बढेको इन्धनको मूल्यले अमेरिकी परिवारको खर्चमा प्रत्यक्ष दबाब बढाएको छ।
मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको अग्रता
अहिले नै अमेरिकी कंग्रेसको निर्वाचन भएको अवस्थामा कसलाई मतदान गर्ने भन्ने प्रश्नमा पनि डेमोक्रेटिक पार्टी अगाडि देखिएको छ।
सर्वेक्षणअनुसार ४२ प्रतिशत दर्ता मतदाताले कंग्रेसको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवारलाई मतदान गर्ने बताएका छन् भने ३७ प्रतिशतले रिपब्लिकन उम्मेदवारलाई रोजेका छन्।
स्वतन्त्र मतदातामध्ये डेमोक्रेटिक पार्टीले रिपब्लिकन पार्टीमाथि १२ प्रतिशत अंकको अग्रता कायम गरेको छ।
नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसमा रहेको आफ्नो झिनो बहुमत जोगाउनुपर्नेछ। यस निर्वाचनबाट आगामी दुई वर्षका लागि अमेरिकी कंग्रेसको नियन्त्रण कुन पार्टीको हातमा रहने भन्ने निर्धारण हुनेछ।
राष्ट्रिय सर्वेक्षण र वास्तविक निर्वाचनबीच फरक
यद्यपि सर्वेक्षणले देशभरको राजनीतिक मनोवृत्तिको समग्र तस्वीर देखाउँछ, अमेरिकी कंग्रेसको वास्तविक निर्वाचन भने अझ जटिल हुने अपेक्षा गरिएको छ।
प्रतिनिधिसभाका कुल ४३५ सिटमध्ये करिब तीन दर्जन सिटमा मात्र कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। त्यस्तै, सिनेटका करिब आठ सिट प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
त्यसैले राष्ट्रिय स्तरमा डेमोक्रेटिक पार्टीले अग्रता लिए पनि कंग्रेसको नियन्त्रण कुन पार्टीले प्राप्त गर्छ भन्ने कुरा केही सीमित प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रको परिणाममा निर्भर हुन सक्छ।
ट्रम्पको लोकप्रियता पनि घट्यो
रोयटर्स/इप्सोस सर्वेक्षणमा राष्ट्रपति ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर पनि घटेको देखिएको छ।
गत महिना गरिएको सर्वेक्षणमा ३७ प्रतिशत रहेको ट्रम्पको अनुमोदन दर यसपटक घटेर ३५ प्रतिशतमा पुगेको छ। यो उनको वर्तमान कार्यकालकै सबैभन्दा न्यून अनुमोदन दरभन्दा केवल एक प्रतिशत अंकमात्र माथि हो।
ट्रम्पले भने आफ्नो नेतृत्वप्रति अमेरिकी जनता असन्तुष्ट रहेको देखाउने विभिन्न सर्वेक्षणलाई पटक–पटक अस्वीकार गर्दै आएका छन्।
नयाँ रोयटर्स÷इप्सोस सर्वेक्षण सार्वजनिक हुनुअघि सोमबार बिहान उनले आफ्नो ‘ट्रुथ सोसल’ खातामा आफ्नो वास्तविक सर्वेक्षण अंक अहिलेसम्मकै उत्कृष्ट रहेको दाबी गरेका थिए। उनले आफूविरुद्धको सर्वेक्षणलाई ‘फेक न्युज मिडिया’ले बनाएको तथ्यांक भन्दै खारेज गरेका छन्।
४,५०५ अमेरिकी नागरिक सहभागी
रोयटर्स/इप्सोसको यो सर्वेक्षण बुधबारदेखि सोमबारसम्म अनलाइनमार्फत देशव्यापी रूपमा गरिएको थियो।
सर्वेक्षणमा ४,५०५ जना अमेरिकी वयस्क सहभागी थिए। यसको त्रुटिको सम्भावित सीमा करिब २ प्रतिशत अंक रहेको रोयटर्सले जनाएको छ।
सर्वेक्षणको नतिजाले ट्रम्प प्रशासनका लागि विशेषगरी महँगी, इन्धनको मूल्य र अर्थतन्त्र आगामी नोभेम्बरको मध्यावधि निर्वाचनमा महत्वपूर्ण राजनीतिक चुनौती बन्न सक्ने संकेत गरेको छ। अर्थतन्त्रमा दशकपछि पहिलोपटक डेमोक्रेटिक पार्टीले अग्रता लिनु ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकी मतदाताको आर्थिक धारणा परिवर्तन भइरहेको महत्वपूर्ण राजनीतिक संकेतका रूपमा देखिएको छ। रोयटर्स


