बडीमालिकाको अगुवाईमा बजार सरसफाई

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको भदौ ११ गते शुक्ल पक्ष चतुर्दशीका दिन लाग्ने मेलाको अवसरमा बडीमालिका नगरपालिकाको अगुवाईमा मार्तडी बजार सरसफाई अभियान संचालन गरेको छ ।
नगर प्रमुख अमर खड्काको नेतृत्वमा मार्तडी बजारमा जथाभावी रुपमा फालिएका फोहोर संकलन गरिएको हो । बजार क्षेत्रमा बस्दै आएका स्थानीय र व्यापारीहरुले जथाभावी रुपमा फालिएका प्लाष्टिक सहितका फोहोरहरु व्यवस्थापन गर्ने गरी सरसफाई अभियान संचालन गरिएको नगर प्रमुख अमर बहादुर खड्काले बार्जु खबरलाई बताएका छन् ।
उनले बडीमालिकालाई हरित बडीमालिका बनाउने गरी वृक्षारोपण र स्वच्छ, सफा नगर बनाउने लक्ष्य सहित बजार सरसफाई गर्ने कार्य अघि बढाएको बताए ।
मार्तडी बजार सरसफाइका कारण वातावरण स्वच्छ र सफा हुने, बडीमालिका मेलामा आउने तीर्थयात्रीहरुले समेत देख्ने दृश्य नै परिवर्तन हुने भएकाले बजार सफा राख्नु आवश्यक रहेको नगर प्रमुख खड्काले बताएका छन् ।
नियमित रुपमा हुने सरसफाई कार्यक्रमले नगरपालिकालाई टेवा पुर्याउँदै आएको छ । मार्तडी बजारलाई स्वच्छ र सफा राख्नका लागि मार्तडी हाट बजार व्यवस्थापन समितिले हरेक महिनाको १५ गते, जिल्ला अस्पताल बाजुराले नियमित रुपमा हरेक शुक्रबार सरसफाई गर्ने गरेकाले नगरपालिकालाई सरसफाई क्षेत्रमा मद्दत पुगेको नगर प्रमुख खड्काको भनाई रहेको छ ।
सरसफाई अभियानमा बजारमा राखिएका फोहोरहरु नगरपालिकाको टिप्परले नलिने गरेकाले त्यसको तत्काल व्यवस्थापन गर्न सुझाव दिइएको छ ।
बजारमा जथाभावी रुपमा राखिएका फोहोरहरुले दुर्गन्ध फैलाउने भएकाले यसको व्यवस्थापनमा पालिकाले ध्यान दिनुपर्नेमा सरसफाइमा सहभागीहरुले जोड दिएका छन् ।
शनिबार नगरपालिकाले आयोजना गरेको सरसफाई कार्यक्रममा जिल्ला समन्व्य समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,नगर प्रमुख अमर बहादुर खड्का,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा,उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष चक्र रोकाया लगायत कर्मचारी सुरक्षाकर्मीं, व्यापारी, जनप्रतिनिधी, पत्रकार लगायत ससफाई कार्यक्रममा सहभागी भएका थिए ।



