स्वास्थ्य संस्था लैजादा ओडारमै सौरीले बच्चा जन्माइन्

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाँदै गर्दा बीच बाटोको ओडारमा बच्चा जन्माएकी छन् ।
सोही गाउँपालिका–२ उदिउनाकी २४ वर्षीया सौरी बुढाले स्वास्थ्य चौकी पुग्न नपाउँदै बीच बाटोको ओडारमा बच्चा जन्माएकी हुन् । शुक्रबार बिहान करिब ४ बजे सुत्केरी व्यथा लागेपछि परिवारका सदस्यले उनलाई फयालगाउँ आधारभूत स्वास्थ्य संस्थातर्फ लैजाँदै थिए ।
करिब एक घण्टा हिँडिसकेपछि मतियान भन्ने स्थानमा पुगेका बेला व्यथा अत्यधिक बढेपछि उनलाई बाटो नजिकैको ओडारमा लगिएको थियो । सोही ओडारमा उनले दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएको फयालगाउँ आधारभूत स्वास्थ्य संस्थामा कार्यरत अनमी नमुना खत्रीले जानकारी दिइन् ।
सुत्केरीलाई स्वास्थ्य संस्थातर्फ ल्याउँदै गर्दा बाटोमै अवस्था जटिल बनेपछि उनका श्रीमान् हिरा बुढा स्वास्थ्य संस्थामा पुगेर अनमी खत्रीलाई खबर गरेका थिए । खबर पाएको करिब एक घण्टापछि अनमी नमुना खत्री र हिरा बुढा स्ट्रेचर बोकेर घटनास्थल पुगेका थिए ।
अनमी नमुनाका अनुसार आफू पुग्दासम्म शिशुको जन्म भइसकेको थियो, तर सालनाल निस्किएको थिएन । त्यसपछि उनले सालनालको व्यवस्थापनसहित आवश्यक सुत्केरी सेवा प्रदान गरिन् । “म पुग्नुभन्दा केही समयअघि बच्चाको जन्म भइसकेको रहेछ । सालनाल निस्किएको थिएन । त्यसको व्यवस्थापन गरेर आमा र शिशु दुवैलाई सुरक्षित राख्न सफल भयौँ,” अनमी खत्रीले भनिन् ।
हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अवस्था स्थिर भएपछि सुत्केरी आमालाई स्ट्रेचरमार्फत घर पु¥याइएको उनले बताइन् । घरमै पुगेर सलाइनसमेत चढाइदिएको र त्यसपछि फर्किएको उनको भनाइ छ ।
“सुत्केरी भएको स्थान घरबाट अलि नजिकै थियो । फेरि स्वास्थ्य संस्था ल्याउन कठिन हुने भएकाले घरमै लगेर राखिएको हो । अहिले पनि आमा र बच्चा हाम्रो नियमित निगरानीमा छन्,” उनले भनिन् ।
अनमी नमुना खत्री पालिकाको करार सेवामा कार्यरत स्वास्थ्यकर्मी हुन् । उनी आफूले स्वास्थ्य सेवालाई केवल जागिर नभई सेवाभावका रूपमा लिएको बताउँछिन् । उनी २०७१ सालदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत छिन् र स्वास्थ्य संस्थामा २४ घण्टा सेवा दिँदै आएकी छन् ।
केही दिनअघि मात्र सोही गाउँपालिका–१ बस्ने रुगिन्दा धामीले पनि स्वास्थ्यकर्मीको सहयोगमा बाटोमै बच्चा जन्माएकी थिइन् ।
त्यस्तै गौमुल गाउँपालिका–५, कोटमा पनि एक महिलाले बाटोमै शिशु जन्माएकी थिइन् । वर्षायाममा सडक र यातायातको कठिनाइका कारण यस्ता घटना बढ्ने गरेका छन् । दुर्गम भौगोलिक अवस्था, स्वास्थ्य संस्था टाढा हुनु तथा समयमै उपचार नपुग्ने समस्याका कारण बाजुरा जस्ता जिल्लामा अझै पनि धेरै महिलाले घर, बाटो वा जंगलमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको छ ।


