संस्थापन इतरले गर्न लागेको राष्ट्रिय भेलाको मूल आयोजक समितिमा नाम राखिएको भन्दै आपत्ति

काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतरले राष्ट्रिय भेलाको मूल आयोजक समितिमा आफ्नो नाम राखेपछि राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले आपत्ति जनाएका छन् ।
संस्थापनइतरले शनिबार पत्रकार सम्मेलन गरेर पूर्व महामन्त्री डा.शशांक कोइरालको नेतृत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जानकारी गराएको थियो । उक्त समितिमा नाम समावेश गरिएको भन्दै पार्टीको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष चम्लागाई आपत्ति जनाएका हुन् ।
आइतबार विज्ञप्ति निकालेर अध्यक्ष चम्लागाईंले पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने तथा विभाजनकारी गतिविधिमा आफू सहभागी नहुने बताएका छन् । पार्टीभित्रका असन्तुष्टिहरूको समाधान विधान, विधि र संगठनात्मक प्रक्रिया भित्रै खोजिनु पर्ने चम्लागाईंको धारणा छ ।
कांग्रेसको वैधानिक नेतृत्व र संस्थागत संरचनाको विकल्प कुनै पनि समानान्तर वा अवैधानिक भेला हुन नसक्ने उनले विज्ञप्तिमा लेखेका छन् । पार्टीलाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन चम्लागाईंले कार्यकर्तालाई आग्रह गरेका छन् ।



