रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को-  दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन खस्दा तीन जना बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा अन्य ४० जना घाइते भएका छन्।

रुसको क्रास्नोदार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभका अनुसार घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनले युक्रेनले जानीजानी सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्। युक्रेनले भने यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा पर्यटकहरू किनार र पानीमा भइरहेका बेला तीव्र गतिमा आएको ड्रोन भिरनजिकै ठोक्किएर आगोको गोलामा परिणत भएको देखिन्छ। काला सागरनजिकैको आर्खिपो-ओसिपोभ्का गाउँनजिक रहेको उक्त स्थान रुसी पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य मानिन्छ। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणअघि कुनै खतराको साइरन बजेको थिएन।

ड्रोनको मुख्य लक्ष्य के थियो भन्ने स्पष्ट भइसकेको छैन। केही युक्रेनी सञ्चारमाध्यमहरूले इलेक्ट्रोनिक वारफेयरका कारण ड्रोन बीचमा खसेको दाबी गरेका छन्। बिबिसीले स्थानीय रुसी सञ्चारमाध्यमलाई उद्धृत गर्दै लेखेको खबर अनुसार विस्फोटअघि गोली चलेको आवाज सुनिएकाले एयर डिफेन्स प्रणालीले ड्रोन खसाल्न खोजेको अनुमान गरिएको छ।

पछिल्लो समय युक्रेनले रुसी भूभागभित्रै छिरेर उर्जा पूर्वाधार र सैन्य प्रयोजनमा प्रयोग हुने गोदामहरूमा दूरगामी आक्रमण तीव्र पारेको छ। अर्कोतर्फ, रुसले सन् २०२२ फेब्रुअरीमा सुरु गरेको पूर्णकालीन आक्रमणयता युक्रेनका आवासीय क्षेत्रमा निरन्तर क्षेप्यास्त्र प्रहार गर्दै आएको छ। गत शनिबार मात्रै रुसले युक्रेनको राजधानी किभमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button