बडीमालिकामा फोरजी सेवा सञ्चालन

बाजुरा- जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा सोमबारबाट फोरजी सेवा संचालन भएको छ ।
नेपाल टेलिकमले बडीमालिकाको लौरी विनायकमा टेलिफोनको फोरजी टावर निर्माण गरेपछि सेवा सुचारु भएको हो ।
नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले लौरी विनायकमा टावर निर्माण तथा जडान कार्य सम्पन्न भई फोरजी सेवा सञ्चालनमा आएको जानकारी दिएका छन् । टेलिफोनको टावर जडानका लागि भदौ ३ गते नेपाल टेलिकमका प्राविधिकको टोली बडीमालिका पुगेको थियो ।
भौगोलिक विकटता तथा सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पु¥याउन कठिन भएपछि साउन २६ गते हेलिकप्टरमार्फत आवश्यक टावर जनाका लागि आवश्यक पर्ने उपकरण सामग्री बडीमालिकाको त्रिवेणी पाटनमा ढुवानी गरिएको थियो । त्रिवेणी पाटनबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत बोकाएर लैजान बडीमालिका नगरपालिकाले टोली खटाएको थियो ।
यसअघि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिकामा हरेक वर्ष हजारौँ पर्यटक तथा दर्शनार्थी पुग्ने गर्छन् । तर सञ्चार सेवा नहुँदा तीर्थयात्री, स्थानीय तथा सुरक्षाकर्मीले मोबाइल सम्पर्क र इन्टरनेट प्रयोगमा समस्या भोग्दै आएका थिए । फोरजी सेवा सञ्चालनमा आएपछि बडीमालिका पुग्ने भक्तजन तथा पर्यटकलाई परिवारसँग सम्पर्क गर्न, सूचना आदान–प्रदान गर्न तथा इन्टरनेट प्रयोग गर्न सहज हुने बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् ।

उनका अनुसार बडीमालिका मेलाका क्रममा आपत्कालीन अवस्था आइपरे उद्धार तथा सुरक्षा निकायसँग सम्पर्क गर्नसमेत सेवा महत्वपूर्ण हुने छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बडीमालिका मेला अगावै फोरजी सेवा सञ्चालनमा आएपछि मेलामा सहभागी भक्तजनलाई सूचना तथा सञ्चारका क्षेत्रमा सहजता हुने बताए ।
यो वर्ष बडीमालिकामा मुख्य पूजा भदौ ११ गते हुँदैछ । मुख्य पूजा भदौ ११ गते भए पनि भक्तजनको बढ्दो चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै पूजा सुरु गरिएको छ । बडीमालिका पूजाका लागि सोमबार बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का, जिल्ला प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरालगायत जिल्लाको सरकारी टोली बडीमालिका प्रस्थान गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button