स्वामीकार्तिकको दुई गाउँ भाइरल ज्वरोको प्रकोपबाट प्रभावित, स्वास्थ्यकर्मी परिचालन
बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा भाइरल ज्वरोको प्रकोपबाट स्थानीय प्रभावित भएका छन् । दुषित खानेपानीका कारण सोही गाउँपालिका–२ बस्तीका स्थानीयलाई भाइरल ज्वरोकोबाट प्रभावित भएका हुन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस बहादुर शाहीका अनुसार लगातारको मौसमले खानेपानीको पाइप बगाएर दुषित खोलाको पानी प्रयोग हुन थालेपछि उक्त वडाका वारिबगर, घट्ट, छुद्वरी तथा बालुवा बस्तीमा भाइरल ज्वरोबाट प्रभावित बनेको बताएका छन् ।
पुरै गाउँ नै भाइरल ज्वरोको प्रकोटबाट ५१ परिवार बढी प्रभावित भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शाहीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार भाइरल ज्वरोको प्रकोटबाट स्थानीय विरामी भएको खबरपछि गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधी सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको खबरलाई बताए । गाउँमा भाइरल ज्वरोबाट प्रभावित भएका ९४ जनाको उपचार गरी औषधी वितरण गरिएको छ ।
भाइरल ज्वरोबाट प्रभावित बनेका स्थानीयहरुलाई ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पातलो सिंगाउन बग्ने, खोकी लाग्ने, हाटजोर्नी दुख्ने लगायतका लक्षण देखा परेको स्वास्थ्य शाखा प्रमुख शाहीको भनाई रहेको छ ।
चार वटै गाउँका स्थानीय भाइरलको ज्वरोको प्रकोपबाट थला परेपछि गाउँपालिकाको स्वाथ्य टोली परिचालन गरी ज्वरो नियन्त्रणमा ल्याउने कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बार्जु खबरलाई बताएका छन् ।
उनका अनुसार वडा नम्बर २ वारिबगर, घट्ट, छुद्वरी तथा बालुवा गाउँका नागरिकहरु दुई सातादेखि विरामी भएको खबरपछि कस्वास्थ्य शाखाको टोली खटाएर भाइरल ज्वरोको विरामीलाई उपचार थालिएको बताए ।
भदौ ५ गतेबाट भाइरल ज्वरोका विरामी भएपनि ढिलो गरी गाउँपालिकालाई खबर भएपछि स्वास्थ्यकर्मी सहितको टोली औषधी सहित प्रभावित क्षेत्रमा पठाएर ज्वरो नियन्त्रणमा आइरहेको गाउँपालिकाका अध्यक्ष रोकायाले बताए । भाइरल ज्वरोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित भएको गाउँपालिका अध्यक्ष रोकाया बताउँछन् ।
छुद्धरीमा खानेपानीको पाइप खोलाले बगाएर दुषित पानी पिउन बाध्य भएका कारण भाइरल ज्वरोको प्रकोट बढेपछि गाउँपालिकाबाट पाइपको व्यवस्था गरी खानेपानीको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष रोकाया बताउँछन् ।
भाइरल ज्वरोका विरामी हुनुमा खानेपानीको प्रमुख कारण भएकाले सुरक्षित खानेपानी सहितको व्यवस्थापनपछि ज्वरो नियन्त्रणमा आउने विश्वास अध्यक्ष रोकायाको रहेको छ ।
एकसातादेखि विद्यालय बन्द
भाइरल ज्वरोबाट विद्यार्थी र शिक्षक विरामी भएपछि एकसातादेखि सोही गाउँपालिका–२ छुद्धरीमा रहेको गंगा आधारभूत विद्यालय पूर्ण रुपमा बन्द भएको छ ।
भाइरल ज्वरोबाट विद्यालयका बालबालिका विरामी भएपछि विद्यालय नै बन्द भएको गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताएका छन् ।
पुरै गाउँ नै प्रभावित भएपछि विद्यालय बन्द भएको हो अध्यक्ष रोकायाले भने । ज्वरोका विरामी निको भएपछि विद्यालय संचालनमा ल्याइने अध्यक्ष रोकायाको भनाई रहेको छ ।
अध्यक्ष रोकाया भन्छन्,–“विद्यालयमा पठन पाठन गर्दै आएका विद्यार्थी र पढाउने शिक्षक नै ज्वरोका विरामी हुँदा विद्यालय संचालनमा समस्या भएको हो ।”
भाइरल ज्वरोबाट एकको मृत्यु
भदौ ८ गतेबाट भाइरल ज्वरोबाट विरामी भएका सोही गाउँपालिका २ छुद्धरीका ६८ वर्षीय पम्फ बुढाको मृत्यु भएको गाउँपालिका अध्यक्ष रोकायाले बताएका छन् ।
दमका रोगी भएका कारण भाइरल ज्वराले समेत थप प्रभावित बनेपछि बुढाको भदौ ६ गते निधन भएको बताए । दमका रोगी र त्यसैमा भाइरल ज्वरोबाट ग्रसित भएपछि बुढाको मृत्यु भएको अध्यक्ष रोकायाको भनाई रहेको छ । गाउँ नै भाइरल ज्वरोको प्रकोपबाट ग्रसित बनेपनि पालिकालाई भने ढिलो गरी खबर भएको थियो ।



