बडीमालिका कप खुला भलिवल प्रतियोगिता आज हुँदै, समन्वय प्रमुख रोकायाले उद्घाटन गर्ने

बाजुरा- प्रथम बडीमालिका खुला भालिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
बडीमालिका नेचर प्रा.लि. बाजुराको आयोजनामा एक लाख ५५ हजार पुरस्कार धनराशीको प्रथम बडीमालिका कपको आयोजना गरिएको हो ।
प्रा.लि.ले प्रकृतिको संरक्षण,प्रवद्र्धन र संस्कृतिको संरक्षण सहितको मुल नारा लिएर प्रथम बडीमालिका कपको आज अर्थात शनिबार दिउँसो उद्घाटन हुने अध्यक्ष कृष्ण ओलीले जानकारी दिएका छन् ।
बडीमालिका क्षेत्रको प्रचार प्रसार र पर्यटन प्रवद्र्धन गर्दै संस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित प्रा.लि.ले पहिलो पटक ठुलो धनराशीको खुला भलिवल प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का निर्देशन गणेश थापाले बताएका छन् ।
खेल क्षेत्रलाई प्रवद्र्धन गर्ने तथा बडीमालिकाको प्रचार सहितको प्रकृतिको संरक्षण गर्ने लक्ष्य सहित खुला भलिवल आयोजना गरिएको हो ।
उक्त प्रतियोगिताको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले समुद्घाटन गर्ने प्रालिका अध्यक्ष ओलीले बताएका छन् ।
खुला भलिवल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउन नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
सदरमुकाम मार्तडीको खुलामञ्चमा आयोजना हुन लागेको प्रतियोगितामा राष्ट्रियस्तरमा रेफ्री समेत ल्याइएको छ ।
खेलकुद क्षेत्रमा निष्पक्ष रुपमा खेल खेलाउना लागि प्रदेशस्तरबाट रेफ्री ल्याइएको हो ।
आज हुने उद्घाटनपछि जिल्लाका क्रियाशिल पत्रकार र राजनितिक दल बीच मैत्रीपूर्ण खेल संचालन गरिने आयोजकले जनाएको छ ।
मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघ बाजुरा र जिल्लाका राजनितिक दलहरु बीचको खेल हुने भएको हो ।
यस्तै उद्घाटन सत्रमा नृत्य, देउडा खेलाडी सुना वि.क, रामबहादुर थापा लगायतको देउडा खेल संचालन गरिने प्रा.लि.का अध्यक्ष ओलीले बताए ।
आज उद्घाटन सत्रमा विभिन्न कार्यक्रम गरिने भएपनि आइतबार विहानबाट अर्थात भोलिबाट खेलहरु सुचारु हुने आयोजकले बताएको छ । प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुने भएको छ ।



