बडीमालिका पर्यटन विकास समिति गठन, अध्यक्षमा रावल चयन

राेशन बुढा
बाजुरा- जिल्लाको बडीमालिका नगरपालिकामा मंगलबार बडीमालिका पर्यटन विकास समिति गठन गरिएको छ । पालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावना,चुनौती र तीनीहरुको प्रचार प्रसार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त समिति गठन गरिएको हो ।
मंगलबार गरिएको विकास समितिको अध्यक्षमा शेर बहादुर रावल, उपाध्यक्ष विरेन्द्र रावल सहित ११ सदस्यीय बनाइएको बडीमालिका नगरपालिका नगर प्रमुखको सचिवालयले जनाएको छ ।
नगर प्रमुखको सचिवालयका अनुसार पालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा प्रवद्र्धन एवं संरक्षण गर्ने गरी उक्त समिति गठन गरिएको बताइएको छ ।
नगरपालिकाको पर्यटन सम्भावना धार्मिक पर्यटनमा मात्र सीमित नभई यहाँ रहेका बडीमालिका मन्दिर, पाटन, दहडाँडा, जाल्पादेवी मन्दिर, बिरेखोला झरना, चैल्यासैन दह, रतुडा कैलाश, मनातोला कैलाश, सुका डाँडा कैलाश देवता, कालाजग्रा, बुढीनन्दा पदमार्ग, पोरखे लेक, ऐतिहासिक जुगाडी राजाको दरबार, उपरकोट, घटाला मन्दिर, धलपुरो,खापर माणु, थुम माणु, मष्टामाणु रानीवन तथा पोरखे गढी जस्ता धार्मिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा साहसिक पर्यटनका असाधारण गन्तव्यहरूको समग्र संरक्षण, विकास, व्यवस्थापन र प्रवद्र्धन नै यस समितिको मूल उद्देश्य रहेको नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
नवगठित समितिले दीर्घकालीन पर्यटन गुरुयोजना निर्माण, स्थानीय संस्कृति र सम्पदाको संरक्षण, पर्यटन पूर्वाधार विकास, होमस्टे प्रवद्र्धन, स्थानीय रोजगारी सिर्जना तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउँदै विश्वास लिइएको नगर प्रमुख खड्काको भनाई रहेको छ ।
उनले नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाहमा विश्वस्त रहेको बताए ।
समृद्ध बडीमालिकाको आधार पर्यटनको दिगो विकास भएकाले यसलाई साझा अभियानमा नवगठित समितिलाई हार्दिक बधाई दिएका छन् ।
पालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी नवगठित समितिले काम गर्नेमा पालिकाले विश्वास रहेको बताइएको छ ।


