बडीमालिकालाई भूमि बैङ्क स्थापनाका लागि स्वीकृती, बाझो जमिनलाई उपयोगमा ल्याइने

बाजुरा– जिल्लाको बडीमालिका नगरपालिकालाई बाझो जमिन उपयोगमा ल्याउनका लागि भूमि बैंक स्थापना गर्न स्वीकृती प्रदान गरिएको छ ।
भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोही नगरपालिकालाई भूमी बैंक स्थापना गर्न स्वीकृती दिएको हो ।
पालिकामा रहेका बाँझो, उपयोगविहीन तथा आंशिक रूपमा उपयोगमा रहेका जग्गालाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने उद्देश्यले भूमि बैङ्क स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । भूमि बैङ्क स्थापनाका लागि आवश्यक स्वीकृती प्राप्त भएपछि नगरपालिकाको भूमि व्यवस्थापनलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउने बाटो खुलेको नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
उनका अनुुसार नगरपालिकाको नगर कार्यपालिकाले २०८३साउन १८ गते भूमि बैङ्क स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नगरपालिकाले सम्बन्धित मन्त्रालयमा भूमि बैङ्क स्थापना गर्न स्वीकृती माग माग अनुसार संघीय मन्त्रालयले स्वीकृती दिएको नगर प्रमुख खड्काले बताए ।
नगरपालिकाले भूमि बैङ्क स्थापनालाई केवल बाँझो जग्गा व्यवस्थापनमा मात्र सीमित नगरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, खाद्य सुरक्षा प्रवद्र्धन र भूमिको दिगो व्यवस्थापन सँग जोडेको नगर प्रमुख खड्काको भनाई रहेको छ ।
नगर क्षेत्रभित्र विभिन्न कारणले बाँझो रहेका तथा पूर्ण रूपमा उपयोगमा नआएका जग्गाको संरक्षण, अभिलेखीकरण र एकीकृत व्यवस्थापन गर्दै त्यस्ता जमिनलाई उत्पादनशील उपयोगमा ल्याउने नगरपालिकाको लक्ष्य छ । भूमि बैङ्कमार्फत जग्गाको उपलब्धता र उपयोगको अवस्थाबारे व्यवस्थित अभिलेख तयार गरी आवश्यकताअनुसार कृषि तथा उत्पादनमूलक गतिविधिमा प्रयोग गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।

भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापनमा पनि सहयोग पुग्ने
बडीमालिका नगरपालिकाले भूमि बैङ्क स्थापनालाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन सँग समेत जोडेको छ।
यसका लागि नगरपालिकाले भूमि शाखा स्थापना गरी आवश्यक कार्यहरू सञ्चालन गरिरहेको जनाएको छ ।
भूमि बैङ्क स्थापना भएपछि भूमिसम्बन्धी तथ्याङ्क, उपलब्ध जग्गा तथा यसको उपयोगको अवस्थालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले भूमि उपयोग ऐन, २०७६ तथा भूमि बैङ्क स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ को दफा ५ को उपदफा (१) बमोजिम भूमि बैङ्क स्थापना गर्न स्वीकृती माग गरेको थियो ।
बाँझो जमिनलाई उत्पादनको आधार बनाउने लक्ष्य
पहाडी क्षेत्रका कतिपय जमिन विभिन्न कारणले बाँझो रहने अवस्था रहेको भन्दै नगरपालिकाले त्यस्ता जग्गालाई व्यवस्थित रूपमा उत्पादनमा जोड्ने अवधारणा अघि सारेको हो ।
भूमि बैङ्क स्थापना भएपछि स्थानीयस्तरमा उपलब्ध भूमिको तथ्याङ्क र अवस्थाको पहिचान गरी कृषि उत्पादन, व्यवसायिक खेती तथा अन्य उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न थप सहज हुने अपेक्षा गरिएको छ । यसबाट स्थानीय उत्पादन बढाउनुका साथै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।
भूमि बैङ्क स्थापनाको स्वीकृति पाउने स्थानीय तहमा तनहुँको व्यास नगरपालिका र बैतडीको पुर्चौडी नगरपालिकासमेत रहेका छन् । यी स्थानीय तहसँगै बडीमालिकाले पनि भूमि व्यवस्थापनलाई स्थानीय विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने अवसर प्राप्त गरेको छ ।

बडीमालिका नगरपालिकाका लागि भूमि बैङ्क स्थापना भूमि व्यवस्थापनसँगै कृषि, रोजगारी, खाद्य सुरक्षा र स्थानीय आर्थिक विकासलाई जोड्ने नयाँ आधार बन्न सक्ने अपेक्षा गरिएको छ ।
बाँझो तथा उपयोगविहीन जमिनलाई उत्पादनमा ल्याउने योजनाले आगामी दिनमा नगरपालिकाको कृषि क्षेत्रलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button