धुलाचौरमा प्रसूति गृह र ल्याब सेवा सहित स्वास्थ्य सेवा सुरु
बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा मंगलबार प्रसुती र ल्याव सहितको स्वास्थ्य सेवा संचालन गरिएको छ ।
गाउँपालिकाको आयोजना र फेज नेपालको सहयोगमा नागरिकको स्वास्थ्यलाइै मध्येनजर राख्दै पालिकामा नै उक्त सेवा दिने गरी संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताएका छन् ।
गाउँपालिकामा रहेका सबै नागरिक र गर्भवती महिलालाई सुत्केरी गराउन सहजताका लागि प्रसुती गृह र अन्य नागरिकको रगत पिसाव सहितको चेकजाँचका लागि ल्याव सेवा दिने गरी संचालनमा ल्याइएको अध्यक्ष मल्लले बताए ।
भौगोलिक विकटता र स्वास्थ्यको पहुँचमा नपुगेका नगारिकहरुका लागि पालिकाले गैर सरकारी संस्था फेज नेपालको प्राविधिक सहयोगमा उक्त सेवा मंगलबारबाट सुचारु गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले वडा नम्बर ६ र ७ का नागरिकलाई लक्षित गरी धुलाचौरमा व्यवस्थित प्रसूति गृह तथा ल्याबसहितको स्वास्थ्य सेवा सञ्चालनमा गाउँपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखाज बहादुर भण्डारीले बार्जु खबरलाई जानकारी दिएका छद् ।
उनले दिएको जानकारी अनुसार पालिकाको स्वास्थ्य सेवा विस्तार कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले गरेको बताए ।
उद्घाटन समारोहमा फेज नेपालका स्वास्थ्य विभाग प्रमुख गणेश श्रेष्ठले स्वास्थ्य सेवा विस्तारको उद्देश्य र आगामी योजनाबारे जानकारी गराएका थिए ।
उनले धुलाचौरलाई मुख्य केन्द्र बनाएर हिमाली गाउँपालिका वडा नं. ६ र ७ मा रहेका अन्य तीनवटा स्वास्थ्य संस्थालाई समेत आवश्यक सहयोग उपलब्ध गराउने योजना रहेको बताए ।
फेज नेपालसँग विगत दुई वर्षदेखि निरन्तर हुँदै आएको समन्वय, छलफल र सहकार्यको परिणामस्वरूप धुलाचौरमा प्रसूति गृह तथा ल्याबसहितको सेवा सञ्चालन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । नयाँ सेवा सञ्चालनसँगै वडा नं. ६ र ७ का नागरिकलाई विशेषगरी प्रसूति सेवा तथा स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
हिमाली गाउँपालिकाले आफ्नै स्रोतबाट गाउँ–गाउँमा स्वास्थ्य संस्था सञ्चालन गर्दै आएको छ भने स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि विभिन्न साझेदार संस्थासँग सहकार्य गर्दै आएको छ ।
यसअघि पनि सुर्खेत आँखा अस्पताल, च्यारेटी फाउन्डेसन र हिमाली गाउँपालिकाको साझेदारीमा धुलाचौर आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको थियो। करिब दुई महिनाअघि उद्घाटन भएको उक्त केन्द्रबाट स्थानीय नागरिकले आँखा उपचार सेवा प्राप्त गरिरहेका छन् ।
स्वास्थ्य सेवा विस्तारसँगै गाउँपालिकाले कुवाडीमा निर्माणाधीन १० शैप्याको अस्पताल निर्माण कार्य सम्पन्न गरी सेवा सञ्चालन गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।
धुलाचौरलाई मुख्य स्वास्थ्य केन्द्रका रूपमा विकास गर्दै वडा नं. ६ र ७ का अन्य स्वास्थ्य संस्थासँग समन्वय र सहकार्य गरी स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने लक्ष्य गाउँपालिकाको रहेको छ ।
भौगोलिक विकटतालाई चुनौतीका रूपमा स्वीकार गर्दै स्थानीय तह, स्वास्थ्य संस्था र साझेदार संस्थाबीचको सहकार्यबाट नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने अभियानलाई निरन्तरता दिइने जनाइएको छ ।



