छेडेदहमा डुबेर एक महिलाको मृत्यु

बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालमा डुवेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–७ कठायतबाडाकी ६२ वर्षीया धरुदेवी कठायत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार साउन १७ गते आइतबार दिउँसो घरबाट कसैलाई खबर नगरी बेपत्ता भएको खबरपछि खोजतलास गर्दा छेडेदह तालमा डुबेर मृत अवस्थामा फेला पारेको बताएका छन् ।
बेपत्ता भएकी कठायतको खोजीका लागि प्रहरी चौकी डोगडीबाट खटिएको पाँच जनाको टोलीले तालमा डुबेर मृत अवस्थामा भेटाएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गगनसिंह भाट सहितको ७ जनाको टोली घटनास्थलमा गएको प्रहरी निरिक्षक तथा प्रवक्ता शाहीको भनाई रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


