प्रतिनिधिसभाको बैठक बस्दै

 काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा पाँचवटा विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ बैठकमा पेस गर्ने छन्।

त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा पेस गर्ने छन्।

यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button