बडीमालिका र बुढीनन्दा मेला व्यववस्थापन प्रभावकारी कार्यान्वयन गर्न सुझाव

बाजुरा- धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका यहाँको बडीमालिका र बुढीनन्दामा लाग्ने जनैपूर्णिमाको अघिल्लो दिन चतुर्दशी अर्थात भदौं ११ गतेको मेलाको व्यवस्थापनमा विशेष ख्याल गर्न सुझाव दिएका छन् ।
शुक्रबार जिल्ला समन्वय समिति बाजुराले आयोजना गरेको उक्त क्षेत्रको मेला व्यवस्थापनको सर्वपक्षीय बैठकमा बडीमालिका र बुढीनन्दा मेलामा हुने गतिविधी र मेलामा आएका तीर्थयात्रीहरुले भोग्दै आएका समस्याहरुलाई पालिकास्तरबाट समन्वय र सहकार्य गर्दै समस्या समाधान गर्न सुझाव दिइएको हो ।
नेपाल स्काउट सुदूरुपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापाले बडीमालिका क्षेत्रमा हुने अपवित्र कार्य रोक्दै बडीमालिकाका माताको. दर्शनका लागि गएका भक्तालुहरुलाई खान बस्न, शौचालय र नागरिक सहायता आवश्यक रहेकाले त्यसको व्यवस्थापन बडीमालिका र त्रिवेणी नगरपालिकाले गर्नुपर्नेमा जोड दिएका छन् ।
बडीमालिका क्षेत्रभित्र तीर्थयात्रुहरुले त्रिपाल टाँसेर बस्ने गरेकाले लौरी विनायक र विष्णुपानी भन्दा माथि त्रिपाल र होटेल संचालन नगर्न दिने हो भने बडीमालिका मन्दिर क्षेत्रमा कुनै भीडभाड नहुने थापाले बताए ।
बडीमालिका मन्दिर परिसरमा त्रिपाल हालेर बस्ने र होटल संचालन गर्ने हुदा उक्त क्षेत्र फोहोर हुने हुँदा एक पटक गएको तिर्थयात्री अर्काे पटक जान नसक्ने वातावरण हुने भएकाले यसलाई रोक्न पालिका र स्थानीय प्रशासनले ध्यान दिनुपर्ने बताएका छन् ।
सर्वपक्षीय बैठकमा त्रिवेणी र बडीमालिकामा गएका तीर्थयात्रीहरुका लागि आवश्यक शौचालय निर्माण गरी जथाभावी रुपमा हुने दिसापिसाव रोक्ने गरी कार्य गर्नुपर्ने बैठकमा छलफल भएको छ । बडीमालिका शक्तिको पीठ भएकाले पवित्र क्षेत्रमा हुने मदिरा विक्री वितरण लगायतका गलत कार्यको स्थानीय प्रशासनले सुरक्षा निकाय परिचालन गरी कानुनी कारबाही गर्नुपर्नेमा सहभागीले आग्रह गरेका छन् ।
बडीमालिकामा भदौ १ गतेबाट नै पुजा हुने भएकोले तीर्थयात्रीहरुलाई कुनै समस्या नहुने पुजारी नेत्र प्रसाद पाध्यायले बैठकमा जानकारी गराएका छन् । पवित्र ठाउँमा पुण्य कमाउन जानेहरुका लागि गलत कार्य गर्ने भेटिएमा प्रशासन र पालिकाहरुले कारबाही गर्न पनि पुजारी पाध्यायले बैठकमा आग्रह गरेका छन् ।
उनले विभिन्न मिडियामा बडीमालिकाको मेलाका बेला उठ्ने पैसा तथा अन्य गरगहना लगायतको पुजारीले लिने गरेको भन्ने गलत भएको बताए । बडीमालिकाको पुजाबाट संकलन भएको चार पटक पुग.जा लाग्ने बेला खर्च हुने गरेकाले संकलित रकम आफुहरुले कुनै दुरुपयोग नगरेको स्पष्ट पारेका छन् ।
बैठकमा बडीमालिका र त्रिवेणी नगरपालिकाका नगर प्रमुखद्धय अमर खड्का र कर्ण बहादुर थापाले मेला व्यवस्थापन र धर्मशाला शौचालय लगायतको व्यवस्थापनका लागि दुई वटै पालिकाले सहकार्य र समन्वय गरेर अघि बढ्ने बताएका छन् ।
यस्तै पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा पर्ने बुढीनन्दाको मेला व्यवस्थापनका लागि नगरपालिकाले गर्ने गरी छलफल भएको छ । मेला व्यवस्थापनमा आएका समस्याहरुलाई स्थानीय प्रशासन र नगरपालिकाबीच समन्वय र सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा बसेको बैठकमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला लगायत राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सुरक्षाकर्मी, वडाअध्यक्ष र पत्रकारहरु सहभागी थिए । बैठकको संचालन जिल्ला समन्वय समिति बाजुराका निमित्त समन्वय अधिकारी दीपेन्द्र पाण्डेले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button