ग्यासबाट आगलागी हुँदा एक महिला घाइते, लाखौको क्षति

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा सोमबार आगलागी हुँदा एक महिला जलेर घाइते भएकी छन् ।
घाइते हुनेमा सोही गाउँपालिका–५ की ५० वर्षीया काली शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिएका छन् ।
ग्यासबाट खाना पकाउने बेला सिलिण्डरको पाइपबाट ग्यासको हावा निस्किएपछि आगलागी भएको प्रहरी निरिक्षक तथा प्रवक्ता शाहीले बताए । ग्यासको आगलागीबाट घाइते भएकी शाहीको शरिर जलेका कारण स्थानीय खोदाईमाण्डौं स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पठाइएको प्रहरी निरिक्षक शाहीले बताएका छन् ।
आगलागीबाट शाहीको हात,खुट्टा,शरिर, अनुहारर टाउको जलेको छ । उनको अवस्था भने मध्यम रहेको प्रहरी निरिक्षक तथा प्रवक्ता शाही बताउँछन् ।
ग्यासको सिलिण्डरबाट आगलागी हुँदा घरमा राखिएको अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट एक लाखको क्षति भएको प्रहरी निरिक्षक तथा प्रवक्ता शाहीको भनाई रहेको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



