पहिरोले अवरुद्ध साँफे–मार्तडी राजमार्ग सडक तीनदिनपछि खुल्यो

बाजुरा- गएको शनिबार आएको अविरल वर्षापछिको पहिरोले अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग सडक तीनदिनपछि खुलेको छ ।
राजमार्ग सडक माथिबाट आएको ठाउँ ठाउँको पहिरो र खोलाको बाढीले अवरुद्ध बनाएको सडकको पहिरो पन्छ्याएपछि सुचारु भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार भदौ २० गते राति आएको वर्षाका कारण राजमार्गका विभिन्न ठाउँमा पहिरो आएर अवरुद्ध बनेको सडकको पहिरो पन्छ्याएपछि सवारी साधन संचालनमा सहज भएको बताएका छन् ।
राजमार्ग सडक माथिबाट आएको पहिरो र केही ठाउँको खोलामा आएको बाढीले माटो र ढुंगा सहितको अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय साँफेबगरको जेसिबी प्रयोग गरेर तीनदिनपछि सडक सुचारु गरिएको बताए ।
राजमार्गको बडीमालिका नगरपालिका ६,८ र ९ वडाका विभिन्न ठाउँमा आएको पहिराका कारण सडक अवरुद्ध भएको थियो । अवरुद्ध भएको तीनदिनपछि मात्र संचालनमा आएको हो ।
राजमार्ग सडकको जडांगा, पानीनाउला, नेनुपानी, रापक,सुवाकाँध, सेलाघाट र कारागार करालामा सडक माथिबाट पहिरो आएर अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउँछन् ।
वर्षापछि आएको पहिरो पन्छ्याउन सोमबार विहान ७ बजेबाट सुरु गरिएको हो । काम थालेको २४ घण्टापछि सडकको पहिरो पन्छ्याएर सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई रहेको छ ।
सडक अवरुद्धका कारण लामो तथा छोटो दुरिमा संचालन हुने यातायातका साधनहरु मार्तडीमा ठप्प भएका थिए । सवारी साधन संचालन नहुँदा गन्तव्मा जाने यात्रुहरुले भने सास्ती भाग्नु परेको थियो ।
राजमार्ग सडक एकतर्फी संचालनमा आएपछि लामो तथा छोटो दुरिका सवारी साधन संचालनमा सहज भएको छ । सडकमा आएको पहिरो पन्छ्याउन कार्यमा प्रमुख जिल्ला अधिकारी पहिरो गएको क्षेत्रमा दिनभर खटिएका थिए । सडकको पहिरो पन्छ्याउने कार्यमा स्थानीय तह र राजनितिक दलहरुको ध्यान गएको छैन ।
स्थानीय तहरुले राजमार्ग सडक खुलाउन समेत समन्वय गर्न नसकेपछि प्रमुख जिल्ला अधिकारी नै अग्रसर भएपछि राजमार्ग सडक तीनदिनपछि संचालनमा आएको हो ।



