ताम्सुका पहिरो पिडितलाई त्रिपाल र खानेपानीको पाइप व्यवस्थापन

बाजुरा- अविरल वर्षाका कारण गएराति आएको पहिरोबाट विस्थापित भएको त्रिवेणी नगरपालिका–९ ताम्सुका पिडितलाई प्रशासन मार्फत नेपाल रेडक्रस सोसाइटी बाजुराले त्रिपाल हस्तान्तरण गरेको छ ।
विस्थापित भएका सिंगो गाउँ नै सुरक्षित ठाउँमा बसाउनका लागि जिल्ला विपद व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले विस्थापित परिवारका लागि नगर प्रमुख कर्ण बहादुर थापालाई त्रिपाल बुझाउएका हुन् ।
पहिरोबाट विस्थापित र पिडित परिवारलाई गाउँ माथि रहेको तोलेनी भन्ने ठाउँमा राख्ने भएकाले उनीहरुलाई त्रिपाल प्रभावित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनका अनुसार रेडक्रस बाजुरालाई त्रिपाल सहयोग र खानेपानी डिभिजन सम्पर्क कार्यालय बाजुरा मार्फत दुई क्वाइल खानेपानीको पाइपको व्यवस्था गरेको बताए ।
पहिरोबाट घाइते भएकाको उपचार र मृतकका परिवारलाई स्थानीय तह मार्फत आफन्तलाई जिल्ला विपद व्यवस्थापन समितिबाट दुई लाख रुपैयाँ राहत दिने पनि प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
विपद व्यवस्थापन कार्य विधी २०८१ अनुसार स्थानीय तहले पिडितलाई राहत दिने र प्रशासनमा आवश्यक कागजात पेश भए अनुसारको रकम जिल्ला विपद व्यउवस्थापन समितिले नगरपालिकाको खातामा रकम पठाउने उल्लेख भएको प्रजिअ निरौलाको भनाई रहेको छ ।
गएराति आएको अविरल वर्षाका कारण ४० वर्षीय धर्म थापा,४० वर्षीया धौली रावल घाइते भएका छन् । भने २० वर्षीया प्रतिक्षा थापाको पहिरोमा परी मृत्यु भएको छ ।
पहिरो आएर दुई घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पहिरोका कारण गाउँ नै जोखिममा परेको छ ।


