पहिरोमा परेर घाइतेको निःशुल्क उपचार गर्न सरकारसंग सासंद गिरीको माग

बाजुरा- प्रतिनिधिसभा सदस्य जनकराज गिरीले जिल्लाका बाढीपहिरो पीडितलाई राहत र पुनःस्थापनाको माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले गरेको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसमा घाइते भएका व्यक्तिहरुलाई निःशुल्क उपचारको माग गरेका छन् ।
यस्तै गिरीले सोही दिन गौमुल गाउँपालिका ३ दल्लेरी गाउँमा आएको बाढीले स्थानीय अङ्गबिरे बोहरा, जसे बोहरा, कुसु बोहरा, गुलाब बोहरा लगायत ९ जनाको पूर्ण रूपमा क्षति भएको बताए ।
उनले भने “ति क्षति भएका परिवारहरु अहिले पाल हालेर डाँडामा बसेका छन्, त्यसका निम्ति सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
गत बिहीबार राति आएको पहिरोमा परी ताम्सु गाउँमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । पहिरोमा दुई घर पूर्ण रूपमा क्षति भएका छन् । गाउँको बीच भागमा पहिरो जानुका साथै ठाउँ–ठाउँमा जमिन चिराचिरा परेपछि गाउँमा रहेका ५८ परिवार उच्च जोखिममा रहेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।
ताम्सु गाउँमा ६० परिवार बसोबास गर्दै आएका छन् । पहिरोले दुई घर बगाएपछि बाँकी ५८ घर पनि निकै जोखिममा रहेको वडा अध्यक्ष नन्द थापाले बताए ।
उनका अनुसार विस्थापित परिवारमध्ये केही सहकारीको भवनमा, केही महालक्ष्मी आधारभूत विद्यालयमा बसेका छन् भने केही परिवार पाल टाँगेर बस्न बाध्य भएका छन् ।
उक्त पहिरोमा परी ताम्सुका स्थानीय कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापाको मृत्यु भएको थियो । भने ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका थिए । धर्मको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भने धौलीदेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ ।
पहिरोबाट विस्थापित परिवारलाई हाल तत्कालका लागि नगरपालिकासहित विभिन्न संघ संस्थाहरुको सहयोगमा सुरक्षित स्थानमा त्रिपाल हालेर व्यवस्थापन गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button