ताम्सुका पहिरो पिडितको सडकको बास

बाजुरा- बिहीबार मध्ये राति आएको पहिरोका कारण विस्थापित भएका त्रिवेणी नगरपालिकाका–९ ताम्सुका स्थानीयहरुको सडकमा त्रिपाल टाँसेर बास बस्न बाध्य भएका छन् ।
पालिकाले निर्माण गरेको रिङतोला–ताम्सु, वडा कार्यालय हुँदै नगरपालिका जोड्ने सडकमा ४३ परिवारले त्रिपाल टाँसेर बस्नु परेको वडा अध्यक्ष नन्द बहादुर थापाले कान्तिपुरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार अविरल वर्षासंगै बिहीबार मध्येराति घर पछाडीबाट आएको पहिराले धर्म थापा र कर्ण थापाको घर पूर्ण रुपमा क्षति बनाएको बताए ।
अविरल वर्षापछि ताम्सु गाउँमा कसैको घरमुनि र कसैको घर माथिबाट पहिरो आएपछि उच्च जोखिममा रहेको बस्तीका दुई सय ३५ जना मानिस सडक, सहकारी भवन र विद्यालयको आडमा त्रिपाल टाँसेर बसेको वडा अध्यक्ष थापाले बताएका छन् ।
पहिरोबाट प्रभावित बनेका ५८ परिवारहरुको अन्नपात र लत्ता कपडा भएपनि पहिरोले पुरै घर क्षति बनाएको थापाको घर परिवारलाई भने नगरपालिकाले राहत सामग्री खाद्यान्न,भाँडाकुँडा, र ओछ्यान दिएको वडा अध्यक्ष थापाको भनाई रहेको छ ।
पहिरोबाट प्रभावित र पिडित दुई परिवारलाई अलग अलग ठाउँमा राखिएका छन् । गाउँमा रहेको सहकारीको भवनमा दुई परिवार र १५ परिवार महालक्ष्मी आधारभूत विद्यालयमा र ४३ परिवार पालिकाले निर्माण गरेको रिङतोला, ताम्सु –वडा कार्यालय हुँदै नगरपालिका जोड्ने ताम्सुको सडकमा त्रिपाल टाँगेर बसाइएको वडा अध्यक्ष थापाले बताए ।
जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले ६१ त्रिपाल र खानेपानीका सम्पर्क कार्यालय मार्तडीले पाइप सहयोग गरेर उनीहरुलाई बस्न र खानेपानीको व्यवस्थापन गरिएको छ ।
ताम्सु बस्ती माथि र तलबाट वर्षाका कारण पहिरो गएपछि उनीहरु त्रसित बनेका छन् ।
पहिरोका कारण खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ । उनीहरुले लगाएको धानबालीमा समेत क्षति भएको हो । खेतीयोग्य जमिनमा नै पहिरो गएपछि लगाएको धानबाली पूर्ण रुपमा नष्ट भएको छ ।
नगरपालिकाको राहत
पहिरोबाट पिडित बनेका थापाको परिवार पूर्ण रुपमा विस्थापित भएकाले उनीहरुलाई नगरपालिकाले सहयोग गरेको छ । भने मृतक प्रतिक्षा थापाको परिवारलाई दुई लाख राहत दिने शनिबार त्रिवेणी नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले निर्णय समेत गरेको नगर प्रमुख कर्ण बहादुर थापाले बताएका छन् ।
विपदमा परेर घरबार विहिन बनेका थापा परिवारलाइ सहयोग गर्ने र पिडितको सहयोगका लागि विभिन्न संघसंस्थालाई समेत आग्रह गर्ने निर्णय गरेको नगर प्रमुख थापाले बताएका छन् ।
लगातार अविरल वर्षा भइरहेकाले ताम्सु गाउँमा पहिरो बग्ने कार्य नरोकिएकाले उनीहरुलाई सुरक्षित ठाउँमा स्थान्तरण गर्नुपर्ने अवस्था आएको छ । ताम्सुको पुरै गाउँको विभिन्न भुभागमा पहिरो गएकाले असुरक्षित भएका छन् ।



