ताम्सुका पहिरोपीडितको त्रिपालमा बास, रातभर पहिरोको त्रास

बाजुरा- गएको बिहीबार मध्यराति पहिरोले विस्थापित भएका त्रिवेणी नगरपालिका–९ ताम्सुका बासिन्दा नजिकैको सडकमा टाँगिएका त्रिपालमा डरैडरमा रात बिताइरहेका छन् । दिउँसो घाम लागे पनि रातभर दैनिक पानी पर्दा फेरि पहिरो आउन सक्ने चिन्ताले उनीहरू जाग्राम बस्ने गरेका छन् ।
पहिरोपीडित लक्ष्मी थापाले सडकमा त्रिपाल टाँगेर बसे पनि पूरै गाउँ चिराचिरा परेकाले फेरि पहिरो आउने चिन्ताले त्रिपालको बास निकै सकसपूर्ण भएको बताइन् । ‘पहिरो परी भाग्यले बाँचेकी हुँ । अहिले पानी परेपछि त्रासैत्रासमा त्रिपालको बास बस्नु परेको छ । हामीलाई अब खानाको भन्दा पनि सुरक्षित बासको चिन्ता छ,’ उनले भनिन् । उनको घर पूर्णरूपमा क्षति भएको छ । नगरपालिकाले तत्काल खाद्यान्न, भाँडाकुँडा र सुत्ने कपडा दिए पनि सुरक्षित बासको भने टुंगो नलागेको उनले बताइन् ।
पहिरोबाट प्रभावित ताम्सुको गाउँ नै उच्च जोखिममा छ । ताम्सुका ६० परिवारमध्ये दुई परिवार पूर्णरूपमा विस्थापित भएका छन् भने अन्य ५८ परिवार जोखिममा छन् । पहिरोपछि सडक, विद्यालय र सहकारी भवनमा बसेका स्थानीयलाई अहिले सुरक्षित बासको चिन्ता थपिएको हो ।
पहिरोबाट उठीबास भएका ताम्सुका स्थानीयले सुरक्षित ठाउँमा टहरा निर्माण गरी बासको व्यवस्था गर्न स्थानीय सरकारसँग आग्रह गरेका छन् । पहिरोपीडित कर्ण थापाले त्रिपालको बास सहज नभएकाले तत्काल टहरा निर्माणका लागि पालिकाले पहल गर्नुपर्ने बताए । अहिले त्रिपालमा बस्दा फेरि पहिरो आएर बगाउने हो कि भन्ने चिन्ता हुने गरेको उनले बताए ।
पहिरोपीडितलाई नगरपालिकाले तत्काल खाद्यान्नसहित भाँडाकुँडा दिएर त्रिपालमा बसाएको भए पनि आफूहरू असुरक्षित महसुस गरिरहेको थापाको भनाइ छ । पहिरोमा परी मृत्यु भएका परिवारले पाउने राहत बापतको दुई लाख रुपैयाँसमेत नपाएको उनले गुनासो गरे । सरकारले पहिरोमा परी मृत्यु भएकालाई दुई लाख रुपैयाँ दिने भने पनि आफूले नपाएको उनले बताए ।
लगातारको अविरल वर्षाका कारण ताम्सुको पूरै बस्ती चिराचिरा परेको छ । त्रिपालमा बस्दा प्रयोग गर्ने शौचालय नहुँदा महामारीजन्य रोगको संक्रमण फैलिने जोखिमसमेत बढेको छ । पहिरोका कारण शौचालय भासिएकाले प्रयोग गर्न नमिल्ने र खुला ठाउँमा शौच गर्दा रोगको संक्रमण फैलिन सक्ने स्थानीयको चिन्ता छ ।
वडा नम्बर ९ का वडाध्यक्ष नन्दबहादुर थापाले पालिकाले विस्थापित दुई परिवारलाई तत्काल खाद्यान्नसहित राहत वितरण गरेको बताए । पहिरोबाट विस्थापित परिवारका लागि राहत संकलनमा सहयोग गर्न संघ र प्रदेश सरकारसँग आग्रह गरिएको उनले बताए ।
नगरपालिका र जिल्ला प्रशासन कार्यालय बाजुराबाट सहयोग भइरहेको र थप सहयोगका लागि संघसंस्थालाई अपिल गरिएको वडाध्यक्ष थापाले बताए । प्रशासनमार्फत पहिरोबाट विस्थापित धर्म थापा र कर्ण थापाका परिवारका लागि टहरा निर्माण गर्ने पहल भइरहेको उनले जानकारी दिए ।
पहिरोमा परी ४० वर्षीया धौली रावल र ४० वर्षीय धर्म थापा घाइते भएका थिए । पहिरोले कर्ण थापाकी २० वर्षीया छोरी प्रतिक्षा थापाको मृत्यु भएको थियो । घाइते थापाको जिल्ला अस्पताल बाजुरामा उपचारपछि घर फर्काइएको छ भने रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नाक भाँचिएकी रावलको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । उपचारमा ठूलो रकम खर्च हुने भएपछि आर्थिक सहयोग संकलन भइरहेको छ । पहिरोको त्रासमा रहेका ताम्सुका बस्तीको भूगोल अध्ययन गरी उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने देखिएको वडाध्यक्ष थापाले बताए ।



