यौनजन्य हिंसा विरुद्ध विद्यालय पोष्टर अभियान सुरु

बाजुरा- जिल्लामा यौनजन्य हिंसालाई न्युनिकरण तथा रोकथाम, सचेतना र जागरणका लागि जिल्ला प्रहरी कार्यालय बाजुराले विद्यालयस्तरमा पोष्टर अभियान संचालनमा ल्याएको छ ।
जिल्लामा घटेका यौनजन्य हिंसाका घटनाको अध्ययन र विश्लेषण गर्दै समस्या–समाधानमुखी प्रहरी सेवा अन्तर्गत अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यौनजन्य हिंसा जिल्लामा बढ्दै गएपछि स्थानीय तहका विद्यालयस्तरमा यसको विरुद्ध जागरण अभियान र सचेतना अभियान संचालन गर्दै हिंसा न्युनिकरण गर्ने उद्देश्य सहित पालिकाका विद्यालयहरुमा उत्तः अभियान संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहराले बताएकी छन् ।
पछिल्लो पाँच वर्ष यता जिल्लामा यौनजन्य घटना बढ्दै गएकोले उक्त घटनालाई न्युनिकरण गर्नका लागि स्थानीय तहका पालिकाहरुमा सचेतना फैलाउदै हिंसा न्युनिकरणमा जोड दिइने बताइन् ।
बुधबार खप्तड छेडेदह गाउँपालिकाका सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापकहरुलाई यौनजन्य हिंसा न्युनिकरणको पोष्टर अभियानको पोष्टर हस्तान्तरण गरिएको प्रहरी प्रमुख बोहराले बताइन् । अपराध तथा सामाजिक समस्याका प्रकृति बहुआयामिक बन्दै गएको र यस्ता घटनाको पछाडि सामाजिक, पारिवारिक तथा वातावरणीय कारणसमेत जोडिने भएकाले प्रहरीको मात्रै प्रयासबाट समस्याको दिगो समाधान सम्भव नहुने निष्कर्षसहित अभियान सञ्चालन गरेको प्रहरीको भनाइ छ ।
प्रमुख प्रहरी नायव उपरीक्षक बोहराले यहाँ दर्ता भएका अपराधहरुमध्ये सबैभन्दा बढी अपराध यौनजन्य अपराध रहेको जानकारी दिइन् ।
उनका अनुुसार विगत पाँच वर्षको अपराध तथ्याङक हेर्दा ६४ वटा यौनजन्य घटना घटेका छन् जसमा पीडित ६४ र अभियुक्त ७२ रहेका छन् ।
यौनजन्य हिंसाको जिल्लागत तथ्याङक विश्लेषण गर्दा सबैभन्दा बढी बुढीनन्दा, बुढीगंगा र बडीमालिकामा देखिन्छ भने सबैभन्दा कम स्वामीकार्तिक खापर, त्रिवेणी र गौमुलमा छ ।
यस्तै, पीडितको उमेरगत विश्लेषण गर्दा सबैभन्दा बढी बालिकाहरु (१०–१८ बर्ष) ६०.९%, महिला (१९–५९ वर्ष) ३७.५% र जेष्ठ नागरिक ( ६० वर्ष भन्दा माथि) १.६ % पीडित भएको प्रहरीले जनाएको छ । यहाँ विशेषगरी मादक पदार्थ सेवन, अधिकांश घटनामा चिनजानका व्यक्तिको संलग्नता, विपन्न परिवारका किशोरी पीडित, आर्थिक प्रलोभन, डर, त्रास, घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिँदा उजुरीमा ढिलाई, ग्रामिण क्षेत्रमा १८ वर्ष मुनिका बालिकाहरु जवरजस्ती करणीको सिकार हुने गरेको जनाएको छ ।
प्रहरी प्रमुख बोहराले यौनजन्य घटनामा विद्यालय तहका बालिकाहरु नै बढी पीडित भइरहेको भन्दै पोस्टर अभियान सञ्चालन गरिएको बताइन् । नौवटै पालिकाका विद्यालयका प्रधानाध्यापकहरुलाई सचेतनामूलक पोस्टर हस्तान्तरण गरेर प्रत्येक विद्यालयमा यौनजन्य हिंसाविरुद्धका सन्देश प्रवाह गर्दै हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कार निर्माण गर्ने, पीडितलाई न्यायको पहुँचमा पु¥याउने र हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्ने अभियानको लक्ष्य रहेको प्रहरी प्रमुख बोहराले बताएकी छन् ।
उक्त पोस्टरमार्फत यौनजन्य हिंसा के हो, यसको जोखिमबाट कसरी बच्ने, घटना भएमा कहाँ र कसरी सूचना दिने, पीडितलाई कसरी सहयोग गर्ने तथा दोषीलाई कानुनी दायरामा ल्याउन नागरिकको भूमिका के हुन सक्छ भन्ने विषयमा विद्यालयदेखि समुदायस्तरसम्म सचेतना पु¥याइने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले समाजमा अझै पनि धेरै घटना बाहिर आउन नसकेको बताउँदै त्यस्ता घटना प्रहरीमार्फत औपचारिकता रुपमा उजागर हुनुपर्नेमा जोड दिए ।
पोस्टर हस्तान्तरण कार्यक्रममा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले यो अभियान प्रहरीको मात्रै नभई सबैको दायित्व भएको बताएका छन् । उनले यस अभियानमार्फत विद्यालयसँगै प्रत्येक वडा तथा समुदायसम्म सचेतना फैलाउन आवश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालयले लैङ्गिक एवं यौनजन्य हिंसा नियन्त्रणका लागि घटना भएपछि मात्रै कानुनी कारबाही गर्नेभन्दा पनि जोखिम पहिचान, पूर्वसचेतना, सूचना प्रवाह र समुदायको सक्रिय सहभागितामार्फत रोकथाम गर्न सचेतनामूलक कार्यक्रमलाई जोड दिदैँ आएको छ ।
खप्तड छेडेदह गाउँपालिकाको कार्यालयमा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा सञ्चालन भएको पोस्टर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलबहादुर रावत रहेका थिए ।
यस्तै, कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिसुदेवी नाथ, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर मौनी, प्रहरी प्रमुख शैलेश्वरी बोहरा, नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौले लगायत शाखा प्रमुख, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्याक, पत्रकारसहित सहभागीता रहेका थिए ।



