सुदुरपस्चिम प्रदेशको बजेट ३७ अर्ब ७० करोडको बजेट प्रदेशसभामा पेस

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चक्रबहादुर मल्लले उक्त बजेट प्रस्तुत गरेेका छु ।
यसअघि गत असार १ गते पनि प्रदेश सरकारले सोही रकम बराबरको बजेट प्रदेशसभामा पेस गरेको थियो। तर, बजेटप्रति असन्तुष्टि जनाउँदै तत्कालीन सत्तारूढ दल नेकपा एमालेले खर्च कटौतीको प्रस्ताव पेस गरेपछि सत्तारूढ दलहरूबीच विवाद चुलिएको थियो। त्यसपछि एमालेले समर्थन फिर्ता लिएसँगै कांग्रेस नेतृत्वको सरकार ढलेको थियो।
अहिले नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेको संयुक्त सरकारले पुनः सोही बजेट प्रदेशसभामा पेस गरेको हो।
बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ। विकास निर्माण, कृषि र स्वास्थ्य क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिएको छ।सत्तारूढ दलहरूबीच बजेट बाँडफाँटमा कुरा नमिल्दा बजेट प्रस्तुत गर्न ढिलाइ भएको थियो। बजेट प्रस्तुत हुन नसक्दा प्रदेशका कर्मचारीले अहिलेसम्म तलब पाउन सकेका छैनन्। यस्तै, औषधि खरिद हुन नसक्दा प्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधिको अभावसमेत हुन थालेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री चक्रबहादुर मल्लले बजेटमाथिको छलफल छिटोभन्दा छिटो सम्पन्न गरी कानुनी प्रक्रियाबाट पारित गरिने बताए।



