प्रहरीको ७१ औं दिवस : सामुदायिक अध्यक्षदेखि पुर्व प्रहरी, अमर प्रहरी आफन्त र उत्कृष्ट प्रहरी कर्मचारी सम्मानित

बाजुरा- नेपाल प्रहरीले आफ्नो ७१औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ । दिवसका अवसरमा प्रहरी सेवामा समर्पित प्रहरी कर्मचारी, पूर्व प्रहरी, अमर प्रहरीका आफन्त तथा सामाजिक शान्ति र सुरक्षामा योगदान पु¥याउने सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष काल्चे दमाईलाई सम्मान गरिएको छ ।
प्रहरी सेवाप्रतिको समर्पण, इमानदार छवि र सामाजिक सद्भाव कायम गर्न पु¥याएको योगदानको कदर गर्दै दमाईलाई सम्मान गरिएको हो। प्रहरी प्रशासन र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउन सामुदायिक तहबाट उनले निर्वाह गरेको भूमिकालाई सम्मानले थप प्रोत्साहन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालको प्रमुख आतिथ्यतामा तथा जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेश शाहीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो। स्थापना दिवसका अवसरमा शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गरी देश र नागरिकको सुरक्षाका लागि जीवन समर्पण गर्ने वीर शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रहरी सेवामा कार्यरत सात जना प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएको थियो। सम्मानित हुनेमा प्रहरी सहायक निरीक्षक रामबहादुर चन्द, प्रहरी सहायक हवल्दार सुरेन्द्र विक, अर्जुनकुमार खाती र अभिसरा विष्टलगायत रहेका छन् । प्रहरी सेवामा योगदान पु¥याएका पूर्व प्रहरी तथा अमर प्रहरीका आफन्तलाई सम्मान गरेर उनीहरूको योगदानको स्मरण र कदर गरिएको थियो ।
सम्मान ग्रहणपछि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष काल्चे दमाईले खुसी व्यक्त गरे। इमानदार छवि र सेवाभावको सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै उनले प्रहरी प्रशासनप्रति नागरिकको विश्वास बलियो भए मात्रै देश र समाज बलियो बन्ने धारणा राखे। शान्तिसुरक्षा कायम गर्न प्रहरी र नागरिकबीच आपसी विश्वास, सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले प्रहरी कर्मचारीलाई सेवाप्रति समर्पित र प्रतिबद्ध भएर काम गर्न आग्रह गरे। जनतालाई शिरमा राखेर जनसेवालाई प्रमुख कर्तव्य ठान्नुपर्नेमा जोड दिँदै उनले नागरिकको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गर्न सुझाव दिए। प्रहरीको व्यावसायिकता, इमानदारी र सेवाभावले नै शान्तिसुरक्षा प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम सिंहले सूचना र सुरक्षाको सम्बन्धलाई जोड दिँदै प्रहरी तथा पत्रकारबीचको समन्वय र सहकार्य निरन्तर रहनुपर्ने बताए ।
शान्तिसुरक्षा, सही सूचना प्रवाह र सामाजिक सचेतना अभिवृद्धिका लागि दुवै पक्षबीचको सहकार्य महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्थापना दिवसका अवसरमा पठाएको सन्देश प्रहरी कर्मचारी विक्रम शाहले वाचन गरेका थिए । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रतिनिधि, पूर्व प्रहरी, अमर प्रहरीका आफन्त, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
प्रहरी दिवस केवल स्थापना र औपचारिक कार्यक्रमको अवसर मात्रै नभई नागरिकको सुरक्षा, सामाजिक शान्ति र जनविश्वासका लागि समर्पित प्रहरी सेवाको योगदान स्मरण गर्ने अवसरका रूपमा मनाइएको थियो । प्रहरी कर्मचारीदेखि सामुदायिक शान्तिका लागि भूमिका निर्वाह गर्ने नागरिकसम्मलाई सम्मान गर्नुले सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्रै नभई समाजका सबै पक्षको साझा दायित्व भएको सन्देश दिएको छ ।
कार्यक्रमको सञ्चालन अशोक सिंह धामीले गरेका थिए ।



