बाजुराका स्थानीय तहले ल्याए बजेट, शिक्षा,कृषि र सुशासनमा जोड

बाजुरा- यहाँका स्थानीय तहले बुधबार आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । चार नगरपालिका र पाँच गाउँपालिका रहेको यहाँका स्थानीय तहले शिक्षा, कृषि, स्वास्थ्य र पुर्वाधार विकास जोड दिदै बजेट नगर तथा गाउँ सभामा प्रस्तुत गरेका छन् ।
सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका सहितका पालिकाले बजेट प्रस्तुत गर्दै विकास निर्माण र जनजीविकाको क्षेत्रमा बजेटलाई प्राथमिकता दिएका छन् । नगरपालिका उप प्रमुख र गाउँपालिका उपाध्यक्षहरुले बजेट सभामा प्रस्तुत गरेका छन् ।
जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि नगर उप प्रमुख नन्दा कुमारी थापाल ५१ करोड ६९ लाख १९ हजार बजेट सभामा प्रस्तुत गरेकी छन् । उनले नगरपालिकाको चालुतर्फ र पुँजीगत तर्फको उक्त बजेट सभालाई पेश गरिन् ।
यस्तै बुढीगंगा नगरपालिकाकी उप प्रमुख माया खड्का(कुँवर)ले आर्थिक वर्ष ०८३÷०८४ का लागि ५६ करोड ५७ लाख १४ हजार बजेट सभामा प्रस्तुत गर्नु भएको छ । उहाँले प्रस्तुत गरेको चालु र पुँजीगत बजेट एकमुष्ट रुपमा प्रस्तुत गरेकी छन् ।
त्रिवेणी नगरपालिकाले ५४ करोड ९५ लाख ७२ हजार अनुमानित बजेट सभामा पेश गरिएको छ । सभामा नगर उपप्रमुख कमला कुमारी जैशी(न्यौपाने)ले चालुतर्फ ३५ करोड १८ लाख ४४ हजार र पुँजीगत तर्फ १९ करोड ७७ लाख २८ हजार बजेट सभामा प्रस्तुत गरिन् । बुढीनन्दा नगरपालिकाले पनि ५७ करोड ६ लाख ९६ हजार बजेट सभामा पेश गरेको छ ।
नगर उप प्रमुख रामबहादुर बोहराले नगरपालिकाका शिक्षा,स्वास्थ्य,कृषि र पुर्वाधार विकासलाई प्राथमिकता दिदै उक्त बजेट सभामा पेश गरेको बताउनु भएको छ । उहाँले चालुतर्फ ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगत तर्फ १९ करोड,८ लाख ४८ हजार विनियोजन गरेको उप प्रमुख बोहराले बताए ।
यसैगरी हिमाली गाउँपालिकाले ४३ करोड ६८ लाख ३९ हजार बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीले आर्थिक वर्ष ०८३÷०८४ का लागि गाउँ सभामा बजेट पेश गर्नु भएको हो ।
उहाँले गाउँपालिकामा हुने पुँजीगत तर्फ खर्च १८ करोड १ हजार रुपैयाँ र चालु तर्फ खर्च २५ करोड ६८ लाख २१ हजुर रुपैयाँ प्रस्तुत गरिन् । त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाले ४४ करोड १६ लाख २ हजार बजेट गाउँ सभामा प्रस्तुत गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी भण्डारी(बुढा)ले चालु र पुँजीगतको कुल बजेट सभामा पेश गरिन् । जगन्नाथ गाउँपालिकामा ३८ करोड ६३ लाखको बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिकाको सभामा पेश गरिएको चालुतर्फ रु २३ करोड ६८ लाख १० हजार ५ सय र पुँजीगततर्फ रु १४ करोड ९४ लाख ९० हजार ५ सय विनियोजन गरिएको छ ।
यसैगरी खप्तड छेडेदह गाउँपालिकाले पनि आर्थिक वर्ष ०८३÷०८४ का लागि बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथले सभामा ५३ करोड १५ लाख ६९ हजार रुपैयाँ पेश गर्नु भएको हो ।
सभामा पेश गरिएको कुल बजेट चालु र पुँजीगत रहेको गाउँपालिका सामाजिक विकास समितिका संयोजक भीम बहादुर नेपालीले बताए ।
गौमुल गाउँपालिकाले ४० करोड ३१ लाख २९ हजार बजेट गाउँ सभामा प्रस्तुत गरिएको छ । गाउँपालिका उपाध्यक्ष सिता थापाले गाउँ सभामा चालुतर्फ २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ ११ करोड ७१ लाख दुई हजार रुपैयाँ बजेट पेश गरिन् । पेश गरिएको उक्त बजेट पारित गरिएको छ ।
यहाँका स्थानीय तहले ल्याएको अधिकाँश बजेट शिक्षा, स्वास्थ्य,कृषि, पुर्वाधार विकास, पर्यटन लगायतमा जोड दिइएको छ ।
नगरपालिकाको पुर्वाधार विकासका लागि बडीमालिका नगरपालिकाले नगर क्षेत्रमा रहेका सडकहरुलाई नगर गौरवको सडकका रुपमा विकास गर्ने गरी बजेट व्यवस्थापन गरिएको नगर प्रमुख अमर खड्काले बताए ।
शिक्षा,स्वास्थ्य, कृषि र पुर्वाधार विकास र सुशासनलाई अहिले गाउँपालिका तथा नगरपालिकाले विशेष जोड दिएको नगर प्रमुख खड्काले बताएका छन् ।



