कोल्टी इलाकाबाट तीन महिनामा सत्र सयले नागरिकता पाए
बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका-२ कोल्टीमा बैशाख १ गतेबाट संचालनमा आएको इलाका प्रशासन कार्यालयबाट यहाँका चार पालिकाका नागरिकलाई सेवा प्रवाहले सहज भएको छ ।
इलाका प्रशासन कार्यालय स्थापनापछि चार पालिकाका नागरिकलाई सदरमुकाम आउने बाध्यता हटेको छ । इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह हुन थालेपछि स्थानीयहरु खुसी भएका छन् ।
सोही कार्यालयले तीन महिनाको अवधीमा एक हजार सात सय ८६ जना नागरिकलाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बार्जु खबरलाई जानकारी दिएका छन् ।
बैशाख १ गते कार्यालय उद्घाटन गरिएको भएपनि बैशाख ८ गतेबाट नागरिकताको सेवा प्रवाह हुन थालेको हो । नागरिकताको सेवा प्रवाहपछि एक नगरपालिका र तीन गाउँपालिकाका उक्त नागरिकहरुले सेवा पाएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
उनका अनुसार कोल्टी इलाका प्रशासनबाट एक हजार एक सय २२ जनालाई नयाँ र ६ सय ६४ जनालाई प्रतिलिपी नागरिकता दिइएको बताए । छोटो अवधीमा इलाका प्रशासनले नागरिकलाई सहज र छिटो छरितो सेवा प्रवाह गर्दै आएको प्रजिअ निरौलाले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराले आयोजना गरेको सेवा, प्रवाह, सहजीकरण र समन्वयको सार्वजनिक सुनुवाई कार्यक्रममा कोल्टी इलाका प्रशासनबाट उक्त नागरिकले नागरिकता पाएको जानकारी गराइएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रशासनबाट तीन हजार एक सय ३७ नयाँ र एक हजार सात सय ५५ प्रतिलिपी गरी चार हजार आठ सय ९२ जनालाई नागरिकता सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी लक्ष्मण पुडासैनीले बताए ।
यस्तै प्रशासनबाट प्रवाह गरिने सेवामध्ये दश हजार चार सय २७ राष्ट्रिय परिचय पत्र संकलन,एक हजार ६२ वितरण गरिएको छ । यस्तै राहदानी ७६२ संकलन र ५९१ वितरण गरिएको प्रशासनले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म ४४ लाख १३ हजार ४५० रुपैया राजस्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताएका छन् ।
नागरिकमैत्री प्रशासन बनाउने गरी सेवा प्रवाह भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउदै नागरिकलाई सहजीकरण गर्दै आएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निरौलाले धारणा व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सडक डिभिजन कार्यालय साँफेबगर, पुर्वाधार विकास कार्यालय अछाम, सिचाई सव डिभिजन कार्यालय,डिजिन वन कार्यालय,भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र भूमि समस्या समाधान समिति बाजुराको एक वर्षमा गरेको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

