बाजुरामा एकसय ३४ वस्ती पहिरोको उच्च जोखिममा

बाजुरा- जिल्लाका अधिकांश वस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । बाढी र पहिरोको उच्च जोखिममा रहेका यहाँका एक सय ३४ बस्तीहरु असुरक्षित रहेको जिल्ला विपद व्यवस्थापन समिति बाजुराले जनाएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार भिरालो जमिन र चट्टान सहित मलिलो माटो भएकाले जिल्लाका ९ वटै स्थानीय तहका एक सय ३४ वस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको बताए ।
बाढी र पहिरोको उच्च जोखिममा रहेका वस्तीहरुका स्थानीयहरुलाई सुरक्षित बस्न जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी लक्ष्मण पुडासैनीले बार्जु खबरलाई जानकारी दिए । हिरोको उच्च जोखिममा रहेका बुढीगंगा नगरपालिकाको वडा नम्बर १ को अम्कोट, २ को बजेडी,३ को गडतोला,बसाली, वडा नम्बर ४ को साहुबाडा,देनसायल, वडा नम्बर ५ को निमनी पहिरोको उच्च जोखिममा रहेका छन् ।
यस्तै खप्तड छेडेदह गाउँपालिकाको गुम्लागाउँ, गुइवन, नाइना, धनाल्त, बडीमालिकाको पाटा, जिल्ली, रिला, त्रिवेणी नगरपालिकाको पैमा,छताराका वस्तीहरु पहिरोको उच्च जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पुडासैनीले बताउनु भएको छ ।
सहायक प्रजिअ पुडासैनीका अनुसार हिमाली गाउँपालिकाको रुगिन,विच्छ्याँ, बाँधु, स्वामीकार्तिक खापर गाउँपालिकाको साप्पाटा, जगन्नाथ गाउँपालिकाको गोत्री, महती, बुढीनन्दा नगरपालिकाको कोल्टी, नुरी, भुलेना लगायतका वस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएका छन् ।
बाढीको त्रासमा रहेका वस्ती र पहिरोको उच्च जोखिममा रहेका वस्तीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
विपद जोखिममा रहेका वस्तीहरुको पहिचान गरी उक्त वस्तीमा बासोबास गर्ने नागरिकलाई सचेत र सुरक्षित रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीको भनाई रहेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले जिल्लाको भौगोलिक अवस्था र विपदको बढी जोखिममा रहेका वस्तीहरुको पहिचान र विपद आएका उनीहरुलाई राहत तथा उद्धारका कार्यको पुर्व तयारी कार्य भइसकेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
लगातार अविरल वर्षा भइरहेको विपदका घटना हुन सक्ने भएकाले नदी तथा खोला किनार छेउछाउमा नजान र विपदका घटना भए प्रहरी र प्रशासनमा खबर गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताए ।
विपदको जिल्लाको अवस्था र आगामी वर्षमा विपद हुँदा गर्ने कामको विपद तयारीको पुस्तक नै प्रकाशन गरी सोही अनुसार काम गर्ने गरी तयारी अवस्थामा स्थानीय तहसंग समन्वय र सहकार्य भइरहेको जिल्ला विपद व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी निरौलाका दाबी रहेको छ ।
विपदमा स्थानीय तहलाई बढी सक्रिय बनाउने र विपदमा सहयोगी निकायहरुसंग पनि साझेदारी र सहकार्य गर्दै विपद प्रतिकार्यमा जुट्न सुरक्षाकर्मीलाई परिचालन गर्ने गरी तयारी भइरहेको विपद व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी निरौलाले जिकिर गरेका छन् ।



