सिरहामा गोली हानेर लागुऔषधसहित समातिएका नसिर व्यक्ति हत्याका दोषी

काठमाडौं- सिरहामा गोली हानेर लागुऔषधसहित पक्राउ गरिएका ६ जना मध्ये एक जना व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बिहीबार सिरहाको लहान नगरपालिका–३ हस्पिटल चोकमा लागुऔषध कारोबार गरेको आरोपमा गोली प्रहार गरी ६ जनालाई पक्राउ गरेको थियो ।

जसमा भारतीय नागरिक २२ वर्षीय विद्यानन्द यादव, सप्तरीको रुपनी गाउँपालिका–१ का ४० वर्षीय मो. नसिर, सप्तरी कै बादेबरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भुप्रसाद यादव, सप्तरीको डाक्नेश्वरी गाउँपालिका–२ का २८ वर्षीय मो. जमाहिर आलम, सोही ठाउँका ३२ वर्षीय मो. इमामुदिन र बादेबरसाइन नगरपालिका–२ का २४ वर्षीय वैधनाथप्रसाद यादवलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि सुरुमा ५ राउन्ड हवाई फायर गरिएको थियो ।

त्यति हुँदा पनि अटेर गरेपछि गोली चलाउन परेको ब्युरोले बताएको छ । मो. नासिरको बायाँ र भारतीय नागरिक विद्यानन्दको दायाँ खुट्टामा एक/एक राउन्ड गोली लागेको बताइएको छ । उनीहरूबाट २४३ ग्राम लागुऔषध खैरोहेरोइन बरामद पनि भएको छ ।

गोली हानेर समातिएका मध्ये मो. नसिर भने व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले बताए । उनका अनुसार सप्तरीकै एक व्यक्ति हत्यामा उनलाई २५ वर्ष कैदको फैसला भएको थियो ।

उनी सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गर्दै थिए । सोही क्रममा उनी जेनजी आन्दोलनको बेला कारागारबाट भागेको पाइएको प्रहरीले बताएको छ । कारागारबाट फरार भएपछि उनी लागुऔषधको कारोबारमा जोडिएको प्रहरीको दाबी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button