बाजुरा अस्पतालमा अग्नी सुरक्षा सम्बन्धी सचेतनामूलक तथा व्यवहारिक अभ्यास संचालन

सावित्री रोकाया
बाजुरा – जिल्ला अस्पताल बाजुरामा अग्नी सुरक्षा सम्बन्धी सचेतनामूलक तथा व्यावहारिक अभ्यास कार्यक्रम संचालन गरिएको छ । अस्पतालमा आगलागी जस्तो आकस्मिक घटना हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै कर्मचारीहरूलाई आवश्यक ज्ञान, सीप र तयारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी तथा अन्य सम्बन्धित व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो । प्रशिक्षणका क्रममा आगलागी हुन सक्ने कारण, त्यसबाट बच्ने उपाय, आगो लागेको अवस्थामा अपनाउनुपर्ने सावधानी तथा सुरक्षित रूपमा उद्धार गर्ने विषयमा जानकारी प्रदान गरिएको थियो ।
त्यसैगरी, आगो निभाउने यन्त्र (फायर एक्सटिङ्गुइशर) को सही प्रयोगबारे व्यवहारिक प्रदर्शन गरिएको थियो । सहभागीहरूले आफैंले आगो निभाउने अभ्यास गर्दै आपत्कालीन अवस्थामा कसरी सुरक्षित रूपमा प्रतिक्रिया जनाउने भन्ने बारे अभ्यास गरेका थिए। ।
अस्पताल जस्तो संवेदनशील स्थानमा आगलागी भएमा बिरामी, स्वास्थ्यकर्मी र सेवाग्राहीको सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले यस्ता अभ्यास अत्यन्त आवश्यक हुने प्रशिक्षकहरूले बताएका थिए ।
नियमित रूपमा यस्ता अभ्यास सञ्चालन गरिएमा आकस्मिक घटनाको जोखिम न्यूनीकरण गर्न र क्षति कम गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमका सहभागीहरूले यस्तो व्यवहारिक प्रशिक्षणले आफूहरूमा आत्मविश्वास बढाएको र आपत्कालिन अवस्थामा सही निर्णय लिन सहज हुने जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर हरिश बहादुर मल्लले बताएका छन् ।
जिल्ला अस्पताल बाजुराले आगामी दिनमा पनि विपद् व्यवस्थापन, अग्नि सुरक्षा तथा अन्य आपत्कालीन तयारी सम्बन्धी यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

