बाढीले विरेखोला र सेलाघाटमा खेतीयोग्य जमिनमा क्षति, बस्ती नै विस्थापित

बाजुरा- बिहीबार राति आएको अविरल वर्षासंगै बडीमालिका नगरपालिका–६ विरेखोला र ९ सेलाघाटमा आएको बाढीले लगाएको धानखेतीमा क्षति पुर्याएको छ ।
लगातार वर्षा भएपछि मध्ये राति आएको बाढीका कारण कृषकले लगाएको धान खेती र सेलाघाटका स्थानीय विस्थापित भएका छन् । तीन वर्ष पहिले सेलाघाटमा आएको बाढीका कारण राहत नपाएका पिडितहरु माथि बाढी आएर झन पिडा थपिएको छ ।
बाढीका कारण सेलाघाटको बस्ती नै जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सेलाघाटमा आएको बाढीका कारण बस्तीका स्थानीयहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सेलाघाटका १६ घरमा बाढी पसेपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा र सशस्त्र प्रहरी बलको टोलीले बाढीका प्रभावित भएकाहरुको उद्धार गरी उनीहरुलाई सुरक्षित ठाउँ लगेको बताए ।
१६ परिवारको घरभित्र बाढी पसेपछि उनीहरुका घरमा रहेका अन्तपात,लत्ताकपडा,भाँडाबर्तन लगायतका अन्य सरसामानहरु सुरक्षित स्थानमा सारिएको प्रहरी निरिक्षक तथा प्रवक्ता शाहीले बताएका छन् ।
उक्त प्रभावित क्षेत्रका तीन घर उच्च जोखिममा रहेको र अन्य १३ घरधुरी जोखिममा रहेको प्रवक्ता शाहीको भनाइ रहेको छ । सोही घरकी प्रेम थापाकी श्रीमती बर्ष ३० की बेहोस भएकोमा उपचारको लागी जिल्ला अस्पताल बाजुरा उद्धार गरी उपचार भइरहेको प्रहरी निरिक्षक तथा प्रवक्ता शाहीको बताए ।
उच्च जोखिम रहेका ३ घरधुरीमा (परिवार संख्या २२ जना) बसोबास गर्न नमिल्ने,१३ घरधुरीका (८३ जना परिवारका सदस्यहरु) रहेको छ । साथै पहिरोको सोही नगरपालिका- ८ राप्का स्थित रहेको टोट्के सिंचाई नहरको २३० मीटर प्लाष्टिक पाईप र २५ मीटर पक्की नहर समेत बगाई क्षती भएको प्रहरीले जनाएको छ ।



