प्रविधीमैत्री बन्दै बडीमालिका, सामुदायिक विद्यालयलाई ल्यापटप हस्तान्तरण


बाजुरा- जिल्लाको बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालय प्रविधीमैत्री बनाउन थालिएको छ ।
नगरपालिकाका २४ वटा सामुदायिक विद्यालयमा अध्यापन गराउनका लागि सूचना प्रविधीमैत्री प्रवद्र्धन गर्ने प्रविधी सामग्री हस्तान्तरण गरिएको नगर उप प्रमुख नन्दा थापाले बार्जु खबरलाई जानकारी दिएकी छन् ।
उनले दिएको जानकारी अनुसार नगरभित्रका सामुदायिक विद्यालयहरूलाई प्रविधी मार्फत पठन पाठन गराउने र सूचना तथा सञ्चारसंग जोड्नका लागि उक्त प्रविधि (आईसीटी) सामग्री वितरण गरेको बताएकी छन् । नगरपालिकाले नगरभित्र रहेका २४ वटै सामुदायिक विद्यालयलाई एक÷एक वटा ल्यापटप वितरण हो ।
यहाँका मालिका माध्यमिक विद्यालय र सत्यवादी माध्यमिक विद्यालय बाहेकका लक्ष्मी माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, कैलाशेश्वरी माध्यमिक विद्यालय, कैलाश माध्यमिक विद्यालय, चायोकाट माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तथा जाल्पा माध्यमिक विद्यालयलाई दुई÷दुई वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको नगरपालिका शिक्षा अधिकृत राम बहादुर कटुवालले बताएका छन् ।
यसैगरी नगरपालिकाभित्रका सबै आधारभूत विद्यालय कक्षा ५ सम्मका १० बिध्यालयललाइ एक÷एक वटा प्रिन्टर पनि वितरण गरिएको बताए ।
नगर प्रमुख खड्काले साम्रगी हस्तान्तरण गर्ने कार्यक्रमका सन्दर्भमा शिक्षामा प्रविधिको प्रयोग आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यालयलाई आधुनिक प्रविधिसँग जोड्ने अभियानलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।
“गुणस्तरीय शिक्षा प्रवाह गर्न विद्यालयमा डिजिटल पूर्वाधार अपरिहार्य छ। विद्यार्थीलाई समयअनुकूल ज्ञान, सीप र प्रविधिसँग जोड्न नगरपालिकाले आवश्यक लगानी गरिरहेको छ,” उनले भने । आगामी दिनमा पनि विद्यालयहरूको भौतिक तथा प्राविधिक पूर्वाधार सुदृढ गर्दै शिक्षाको गुणस्तर सुधारमा निरन्तर काम गरिने उनको भनाइ छ ।
त्यसै गरी नगर उपप्रमुख नन्दा थापाले प्रविधिमैत्री शिक्षण सिकाइ प्रणालीले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
“स्मार्ट बोर्ड, ल्यापटप र प्रिन्टरजस्ता सामग्रीको प्रभावकारी उपयोगबाट कक्षाकोठा अझ आकर्षक र सिकाइ अझ उपलब्धिमूलक बन्ने विश्वास लिएका छौं,” उनले भनिन् ।
उनले विद्यालयलाई प्राप्त सामग्रीको संरक्षण गर्दै नियमित प्रयोग गर्न शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई आग्रहसमेत गरिन् ।
नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउन विविध कार्यक्रम ल्याउदै विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्दै शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी र गुणस्तरीय बनाउन सूचना प्रविधि सामग्री वितरण गरिएको जनाएको छ ।
नगरपालिका शिक्षा क्षेत्रको समता सूचकमा बाजुरा जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको थियो । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको पछिल्लो तथ्याङ्कअनुसार नगरपालिकाले जिल्लाभरका नौ स्थानिय तह मध्य प्रथम स्थान हासिल गर्नुका साथै सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट ९ स्थानीय तहभित्र र देशभर उत्कृष्ट २१२औँ स्थानमा आफ्नो स्थान सुरक्षित गरेको पाइएको छ ।
शिक्षामा पहुँच, समावेशिता, समान अवसर तथा शैक्षिक गुणस्तरलाई आधार मानेर तयार गरिने उक्त सूचकमा प्राप्त सफलता नगरपालिकाको शिक्षा सुधार अभियानको महत्वपूर्ण उपलब्धीका रूपमा हेरिएको छ । नगरपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा विशेष प्राथमिकताका आधारमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको उत्कृष्ट नतिजा आएको बताइएको छ ।

विद्यालयमा ल्यापटप, स्मार्ट बोर्ड र प्रिन्टरको प्रयोगले शिक्षकको शिक्षण विधिलाई थप सहज बनाउनुका साथै विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाले आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर सुधार, डिजिटल शिक्षाको विस्तार तथा प्रविधिमैत्री शिक्षण वातावरण निर्माणका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button