धार्मिक पर्यटकीय क्षेत्र बडीमालिकामा “ए मेरो हजुर ५” छायाङ्कन हुने

बाजुरा- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बडीमालिकामा “ए मेरो हजुर ५” चलचचित्रको छायाङ्कन हुने भएको छ । नायिका झरना थापाले आफ्नो सामाजिक संजाल मार्फत प्रधानमन्त्री बालेन सहितको तस्वीर राख्दै धार्मिक पर्यटकीय क्षेत्र बडीमालिकामा उक्त चलचित्र छायाङ्कन गर्न लागेको उल्लेख गरेकी छन् ।
नेपालका ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानलाई टेवा पु¥याउने उद्देश्यले बडिमालिकालाई पहिलो रोजाइमा राखिएको निर्देशक थापाले बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाह, कलाकार सुहाना थापा र अनमोल केसीको तस्वीर सार्वजनिक गर्दै चलचित्रले बडिमालिकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
निर्देशक थापाले लेखेकी छन्, “नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडिमालिकाबाट मेरो नयाँ सिनेमा ‘ए मेरो हजुर ५’ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ ।”
उनका अनुसार बडिमालिकाजस्तो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थलबाट चलचित्रको यात्रा सुरु गर्न पाउनु सम्पूर्ण निर्माण टिमका लागि गर्वको विषय हो । हिमशृङ्खला, हरियाली, मौलिक संस्कृति, सभ्यता र गहिरो धार्मिक आस्थाको अनुपम संगम रहेको बडिमालिका केवल तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा भएको उनले उल्लेख गरेकी छन् ।
चलचित्रको छायांकन प्रख्यात सिनेमाटोग्राफर सञ्जय लामाले गर्नेछन् भने मुख्य भूमिकामा अनमोल केसी र सुहाना थापा देखिनेछन्। यसअघि ‘ए मेरो हजुर’को तेस्रो र चौथो श्रृंखलामा दर्शकको मन जितेको यो जोडी पाँचौं श्रृंखलामा पनि पुनः एकसाथ देखिन लागेको हो। चलचित्र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदैछ। प्रधानमन्त्री बन्नुअघि सुदूरपश्चिम भ्रमणका क्रममा बालेन शाहले बडिमालिकालाई “स्विट्जरल्यान्डको पनि बाउ” भन्दै यसको प्राकृतिक सौन्दर्यको खुलेर प्रशंसा गरेका थिए। त्यसयता बडिमालिका पुग्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको चर्चा हुँदै आएको छ ।
लोकप्रिय चलचित्रको छायांकन पनि यहीँबाट सुरु हुने भएपछि बडिमालिकाको पर्यटन प्रवद्र्धनले थप गति लिने अपेक्षा गरिएको छ। धार्मिक आस्था, अद्वितीय प्राकृतिक सौन्दर्य र नेपाली चलचित्रको लोकप्रिय श्रृंखलाको संगमले ‘ए मेरो हजुर ५’ केवल एउटा चलचित्र मात्र नभई बडिमालिकालाई विश्वसामु चिनाउने सांस्कृतिक र पर्यटन अभियानको सशक्त माध्यम बन्ने विश्वास लिइएको छ ।



