भदौ यता स्याउ नटिप्न कृषकलाई गाउँपालिकाको आग्रह

बाजुरा- स्याउ पकेट क्षेत्रका रुपमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकाले भदौ यता स्याउ नटिप्न कृषकहरुलाई आग्रह गरेको छ ।
गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचना मार्फत अहिले नै स्याउ टिप्ने समय नभएको भदौ १५ गतेपछि मात्र स्याउहरु टिपेर बजारमा विक्री गर्न उल्लेख गरिएको छ ।
गाउँपालिमा रहेका स्याउ कृषकहरुले नपाकेको काँचा स्याउ टिपी विक्री वितरण गरेको हुँदा स्याउको स्वाद, गुणस्तर तथा पौष्टिकतामा कमी आउने र दिर्घकालिन रुपमा बजारमा समेत नकारात्मक असर पर्ने भएकाले भदौ १५ गते अघि स्याउको बगैंचाबाट स्याउ नटिप्न आग्रह गरिएको कृषि शाखा प्रमुख विनोद शाहीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार गाउँपालिकाको प्राविधिक टोलीले स्याउ गुणस्तर परिक्षण गर्दा अधिकांश स्याउहरुको मिठास तथा गुणस्तर पूर्ण रुपमा विकास नभएकाले फलमा अपेक्षित स्वाद नभएकोले अहिले हतारमा स्याउ नटिप्प सार्वजनिक रुपमा सूचना प्रकाशित गरिएको शाहीले बताए ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर बहादुर शाही र कृषि शाखा प्रमुख विनोद शाहीद्धारा हस्ताक्षरित सार्वजनिक सूचनामा तोकिएको समयावधी अघि स्याउ टिपेर विक्री वितरण गरेको पाइएमा प्रचलित नियम र गाउँपालिकाबाट दिइने सेवा सुविधामा रोक लगाउने उल्लेख छ ।
यस्तै बुढीनन्दा नगरपालिकाले पनि सोमबार सार्वजनिक रुपमा सूचना जारी गर्दै भदौ १५ गते यता स्याउ नटिप्न कृषकहरुलाई आग्रह गरिएको छ ।
नगरपालिकाले पाकेको स्याउ बजारीकरण गर्न र त्यसको भण्डारका लागि सहयोग गर्ने भएकाले साउन महिनामा नै स्याउहरु टिपेर बजारमा नलिन कृषकहरुलाई सार्वजनिक सूचना मार्फत अनुरोध गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार पौडेलद्धारा हस्ताक्षरित सूचनामा स्याउको बजारीकरण र त्यसलाई प्याकिङ गर्दा पालिकाले बनाएको कार्टुन मार्फत गर्न आग्रह गरिएको छ ।
स्याउ पकेट क्षेत्रका रुपमास्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिका रहेका छन् । स्याउको उत्पादन र बजारीकरणमा स्थानीय तहले ध्यान दिन आवश्यक रहेको छ ।



