बडीमालिका मेला विशेष : मदिरा,लागु पदार्थ र मासु विक्री वितरणमा कडाई,भदाै १ गतेबाट बडीमालिकाकाे दर्शन गर्न पाइने

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा भदौं ११ गते चतुर्दशीका दिन लाग्ने मेलालाई व्यवस्थित बनाइने भएको छ ।
पर्यटकीय क्षेत्र रहेको बडीमालिकामा लाग्ने मेला व्यवस्थापन तथा उक्त मेला अवधीभर हुने मदिरा, लागु पदार्थ र मासुजन्य विक्री वितरणमा रोक लगाइने भएको छ ।
गएको शुक्रबार बसेको बडीमालिका र बुढीनन्दा मेला व्यवस्थापनको सर्वपक्षीय बैठकले बडीमालिकामा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेपछि मेला थप व्यवस्थित बनाईने भएको छ ।
भदौं ११ गते चतुर्दशीका दिन मात्र लाग्ने उक्त मेलामा पुजा हुँदा भीडभाड हुने भएको पुजारी सहित बडीमालिकामा भदौं १ गतेबाट दर्शन गर्न पाउने गरी व्यवस्था गरिएको छ ।
भक्तालुहरुलाई सहजताका लागि र उनीहरुले समयमै बडीमालिकाको पुजा गर्ने वातावरण हुने गरी भदौं १ गतेबाट दर्शन गर्न पाउने भएपनि मुल पुजा भने भदौ ११ गते नै लाग्ने बडीमालिकाका पुजारी नेत्र पाध्यायले बताएका छन् ।
गएको शुक्रबार बसेको बैठकले बडीमालिका मेलाका बेला मदिरा, लागु पदार्थ र मासु विक्री वितरण गरेको पाइएमा कानुनी कारबाही गरिने भएको छ ।
उक्त विक्री वितरणमा सुरक्षाकर्मी र स्वयम सेवक परिचालन गरी विशेष निगरानी गरिने निर्णय गरिएको जिल्ला समन्वय समिति बाजुराका निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार मेला व्यवस्थापन त्रिवेणी र बडीमालिका नगरपालिकाले गर्नुपर्नै निर्णय भएको बताए ।
बैठकले बडीमालिका र बुढीनन्दा लगायतका सबै शक्तिपीठहरूमा जनैपूर्णिमाको अवसरमा लाग्ने पूजामा जिल्ला प्रशासन कार्यालय, बाजुरा, जिल्लास्थित विभिन्न स्थानीय तह र सुरक्षा निकायबाट आउने टोलीहरूबाट एकल सरकारी टोलीको रूपमा सीमित आधिकारिक व्यक्तिले संयुक्त प्रतिनिधित्व गर्ने, बडीमालिका तथा बुढीनन्दा दर्शन प्रयोजनार्थ आउने दर्शनार्थीलाई स्वागतका लागि सम्बन्धित स्थानीय तहले उपयुक्त स्थानमा गेट निर्माण गर्ने साथै यात्रीको सहजताको लागि विभिन्न रुटमा संकेत चिन्ह, साइनबोर्ड वा सूचना पार्टीको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने, त्रिवेणी पाटन क्षेत्रको फोहोर व्यवस्थापनका लागि बडीमालिका नगरपालिका, कालिकोट जिल्ला र बडीमालिका मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनका लागि त्रिवेणी नगरपालिकालाई अनुरोध गर्ने । साथै बासस्थानको प्रबन्ध गर्ने होटल व्यवसायबाट सृजित फोहोर सम्बन्धित व्यवसायी स्वयंले व्यवस्थापन गर्ने, दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै बडीमालिका भगवतीको पूजा २०८३ भाद्र १ गतेदेखि प्रारम्भ गरी हरेक दिन भक्तजनहरूले दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्ने, होटल, पसल, आवासीय टेन्ट र शौचालयका लागि बुढी माईको थान वा त्रिवेणी पाटन हुँदै जाने रुटको लागि चाँदनी शंकरसम्म र मना, कोर्ध वा नाटेश्वरी मन्दिर हुँदै जाने रुटको लागि विष्णुपानीसम्म क्षेत्र निर्धारण गर्ने र सोको परिपालना गराउने जिम्मेवारी स्थानीय सरकार र सुरक्षा निकायको हुने । साथै खानेपानी तथा थप शौचालयको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने, बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको समन्वयमा बडीमालिका क्षेत्रमा बासस्थान र उपभोग्य वस्तुहरूको न्यायोचित मूल्य निर्धारण गरी व्यवसायीले अनिवार्य रुपमा मूल्यसूचि राख्नुपर्ने व्यवस्था गर्ने र मूल्य सूचि, निषेधित वस्तुको विक्रि वितरण लगायत होटल व्यवसायको अनुगमन कार्यको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने, मेला तथा पूजा क्षेत्रमा हुन सक्ने झैझगडा तथा हुलहुज्जतको नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने र लेक लाग्ने वा अन्य कुनै पनि कारणले श्रद्धालु भक्तजनलाई आपतकालीन उद्धार गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय सरकार लगायतले तत्काल परिणाममुखी पहल गर्ने र श्रद्धालु भक्तजनहरूको आकस्मिक प्राथमिक उपचारका लागि स्थानीय तहहरुले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयसँग समन्वय गरेर संयुक्त स्वास्थ्य उपचार टोलीको व्यवस्था गरी खटाउने र उक्त टोली व्यवस्थापनको नेतृत्व जिल्लास्थित नेपाली सेनाले गर्ने निर्णय गरिएको छ ।
यस्तै बडीमालिका भगवतीको पूजा तथा दर्शनको लागि आउने दर्शनार्थीहरूको बासस्थानको लागि मार्तडीमा रहेका कभर्ड हल, खुला मञ्च, विद्यालय लगायतका खुला स्थलहरूको प्रयोग गर्ने,नागरिक सहायता सेवा (डिजिटल समेत), धर्मशालाको सरसफाई, पैदल बाटो मर्मत सुधार, तथ्याङ्क व्यवस्थापन, दर्शनार्थीको लाइन व्यवस्थापनका लागि स्काउट परिचालन लगायतका विभिन्न व्यवस्थापकीय कार्यहरु बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाले आपसी समन्वयमा गर्ने, बुढीनन्दा तथा नाटेश्वरीमा सरकारी पूजाको व्यवस्थापन गर्ने । साथै पूजा व्यवस्थापनको कार्य बुढीनन्दामा बुढीनन्दा नगरपालिका र नाटेश्वरी मन्दिरमा त्रिवेणी नगरपालिकाले गर्ने, बडीमालिका र बुढीनन्दाको दीर्घकालीन विकास तथा व्यवस्थापनको लागि सुदूरपश्चिम प्रदेश सरकार तथा नेपाल सरकारलाई अनुरोध गर्ने उक्त निर्णय कार्यान्वयनका लागि जिल्ला समन्वय समिति, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिका लगायतका स्थानीय तहहरू, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरू र सबै सरोकारवालाहरूले जिम्मेवारी लिने र बढि भक्तजनहरू आउने कालिकोट, डोटी, अछाम लगायतका जिल्लासँग पनि जिल्ला समन्वय समिति, बाजुरा र जिल्ला प्रशासन कार्यालय, बाजुराले आवश्यक समन्वय गर्ने निर्णय भएको निमित्त समन्वय अधिकारी पाण्डेको भनाई रहेको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका र बुढीनन्दालाई प्रचारको माध्यमबाट राज्यलाई थप टेवा पुग्ने विश्वास गरिएको छ । बडीमालिकामा हिउँदका दुई महिना बाहेक दश महिना बडीमालिका जानेको लर्काे लाग्ने गरेको छ ।



