होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका एकजना सुकुम्बासी झुन्डिएको अवस्थामा भेटिएका छन्।
कीर्तिपुरको राधा स्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि स्थानान्तरण गरी कृषि तालिम केन्द्रमा ल्याइएका बारा सुवर्ण गाउँपालिका–२ निवासी ५७ वर्षीय हिरालाल पासवान झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
पासवान कृषि तालिम केन्द्रको तीनतले पक्की भवनको दोस्रो तलास्थित कोठा नम्बर २०७ मा भित्र मृत भेटिएका हुन्। उनी उक्त कोठामा चुकुल लगाएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी कोठाभित्र फ्यान राख्न प्रयोग गरिएको फलामको हुकमा सलको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।



