भोटेकोशी बाढी : प्रभावितलाई सुरक्षित स्थानमा सार्न रास्वपाको आग्रह

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकार, स्थानीय प्रशासन र नागरिकलाई आग्रह गरेको छ। 

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि विशेष ध्यान दिन आग्रह गरेका हुन्। 

रास्वपाले बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने उसले जनाएको छ। 

विज्ञप्तिमा नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न अपिल गरिएको छ। अवस्था सामान्य नभएसम्म अत्यावश्यक अवस्थाबाहेक सम्बन्धित नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्न तथा यात्रुहरूलाई समेत नजान आग्रह गरिएको छ। 

रास्वपाले आपत्कालीन अवस्था सिर्जना भए तत्काल नेपाल प्रहरीको टोल(फ्री नम्बर १०० तथा आपत्कालीन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ। साथै जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिएको छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button