पार्टी पंक्तिका नेता-कार्यकर्तालाई बाढी प्रभावितको उद्धारमा खट्न थापाको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा आएको बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन् ।

सभापति थापाले विपद्को समयमा सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्दै सबै तहका सरकारसँग समन्वय गरेर उद्धार र राहतमा केन्द्रित हुन अनुरोध गरेका छन् ।

‘रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ । यस विपद्को अवस्थामा भोटेकोशी, त्रिशूली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु,’ उनले भनेका छन् ।

थापाले विपद् व्यवस्थापनमा सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेसमेत बताएका छन् ।

उनले कांग्रेसका सम्पूर्ण समितिहरू तथा विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नेतृत्व तथा सदस्यहरूलाई उद्धार र राहत कार्यमा तत्काल जुट्न अपिल गरेका छन् ।

‘तटीय क्षेत्रमा बसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपील गर्दछु,’ सभापति थापाले भनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button