साँफे–मार्तडी राजमार्ग अवरुद्ध, विद्युत सेवा पनि अवरुद्ध

बाजुरा- लगातारको अविरल वर्षासंगै आएको पहिरोका कारण मुख्य राजमार्गका रुपमा रहेको साँफे–मार्तडी राजमार्ग सडक शनिबार मध्यरातिबाट अवरुद्ध भएको छ ।
सदरमुकाम जोड्ने मुख्य राजमागको ठाउँ ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार साँफे मार्तडी राजमार्गको जडाङ्गा,रापक, सुवाकाँध, सेलाघाट, मार्तडी कारागार नजिकै लगायतका ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको बताए ।
लगातारको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोका कारण अवरुद्ध हुन पुगेको हो । पहिरोले सडक अवरुद्ध पारेपछि सडकm डिभिजन साँफेबगरको जेसिबी प्रयोग गरी बाटो खुलाउन पहल भइरहेको प्रहरी निरिक्षक तथा प्रवक्त भाटले बताएका छन् ।
ठाउँ ठाउँमा सडक अवरुद्ध भएका कारण सडक खुलाउन गरी जेसिबी प्रयोग भएपनि दिनभर सडक खुल्न ढिलाइ हुने भएको छ । जडाङ्गादेखि मार्तडीको विभिन्न ठाउँमा पहिरो गएकाले सडक समयमै खुल्न सक्ने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
विद्युत सेवा अवरुद्ध
शनिबार अपरान्हदेखि आएको अविरल वर्षाका कारण विद्युत सेवा अवरुद्ध भएको छ ।
मध्यराति १२ बजेबाट विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुरा शाखाले जनाएको छ ।
लगातार वर्षासंगै विभिन्न ठाउँमा पहिरो आएका कारण विद्युतका पोलहरु ढलेका कारण विद्युत सेवा अवरुद्ध भएको हो ।


