ज्यान जोखिममा रहेकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा- सुत्केरी भएर उच्च रक्तश्रावका कारण ज्यान नै जोखिममा भएकी एक महिलाको मंगलबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
गौमुल गाउँपालिका-५ कोटकी २६ वर्षीया मनिषा रोकायाको मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आएकी सुत्केरी महिलाको रक्तश्राव उच्च रहेको र शरिरमा ६ प्वाइन्ट रगत भएको र अन्य रोगले समेत आक्रमण गरेर जटिल अवस्था भएको पत्रानुसार महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको बताए ।
गौमुल गाउँपालिका-५ मा रहेको आधारभूत सामुदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएपनि रगत बग्न नरोकिएपछि आफन्तले धामी,झाँक्री देखाउने र देउता लागेको भन्दै ९ दिनसम्म घरमै राखेको अवस्थापछि थप जटिल बनेपछि आफन्तले उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्याएका थिए ।
अस्पतालमा उपचारका लागि सोमबार इर्मेजेन्सीमा आएपछि रक्तश्राव उच्च रहेको र अवूथा जटिल भएपछि चिकित्सकले सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार सुत्केरी महिलाको ज्यान नै जाने अवस्था देखिएपछि चिकित्सको सल्लाहपछि थप उपचारका लागि रिफर गरिएको बताए ।
जटिल अवस्थामा रहेकी सुत्केरी आमा रोकायाको सेनाको हेलिकप्टर मार्फत उद्धार भएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हरेक वर्ष ७ जना बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार हुने गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
उक्त कार्यक्रमले दुर्गमका गर्भवती तथा सुत्केरी र भीरबाट लडेर घाइते भएकाहरुका लागि प्रभावकारी रुपमा कार्यान्वय हुँदै आएको छ ।



