सरकारका केही गतिविधि र अभिव्यक्तिले स्वेच्छाचारितातिर जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको: दाहाल

काठमाडौँ- नेकपा संयोजक पुष्पकमल दाहालले लोकतन्त्र खतरामा रहेको बताएका छन्। उनले देश र लोकतन्त्र अप्ठ्यारोमा रहेको बताउँदै भने, ‘संविधान पनि अप्ठ्यारोमै छ। समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्र बनाएका थियौँ। संविधान पनि अप्ठ्यारोमा छ।’
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारका केही गतिविधि र अभिव्यक्तिले स्वेच्छाचारितातिर जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको पनि बताएका छन्। उनले शान्ति प्रक्रियाका केही विषय टुंग्याउन बाँकी रहेको पनि बताए।
दाहालले गगन थापाले नेपाली कांग्रेसलाई नयाँ बनाउने जमर्को गरेको बताएका छन्। उनले बुढापाका भनिनेहरूलाई अपमान गर्ने प्रवृत्ति केही नयाँमा देखिएको भन्दै भने, ‘हामीले त्यस्तो गर्नु हुँदैन। समाज युवा, ज्येष्ठ सबै नागरिक मिलेर बनेको हुन्छ।’



