दिगो विकासका लागि दिर्घकालिन योजना बनाउन सुझाव

बाजुरा- जिल्लाको बृहत्तर दिगो विकासका लागि दिर्घकालिन योजना बनाउन सुझाव दिइएको छ । अल्पकालिन र मध्येकालिन योजनाले मात्र जिल्लाको पुर्वाधार विकास नहुने भएकाले दिर्घकालिन रुपमा विकासलाई आत्मसाथ गर्दै सोही योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
जिल्ला समन्वय समिति बाजुराले सोमबार आयोजना गरेको जिल्लास्तरिय वार्षिक समिक्षा कार्यक्रममा सहभागीहरुले जिल्लाको विकास र कृषि क्षेत्र र पशुपालनलाई पहिलो प्राथमिकतामा राख्दै दिर्घकालिन रुपमा अर्थात १० वर्ष रणनितीक कार्य योजना बनाएर बजेट माग गर्नुपर्नेमा धारणा व्यक्त गरिएको छ ।
जिल्लामा सडक स्वास्थ्य,शिक्षा, खानेपानी र कृषि क्षेत्रको विकास र आधुनिक तथा परम्परागत व्यवसायलाई सवलीकरण गर्र्दै तीन वर्ष मध्यकालिन र १० वर्ष दिर्घकालिन योजनामा बनाउन विकासे सरकारी तथा गैर सरकारी कार्यालयलाई सुझाव दिइएको हो ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले जिल्लाको विकासका लागि सबैले सहकार्य र एकता गरेर अघि बढ्न आग्रह गरेका छन् । उनले विकासमा हातेमालो गर्दै सहकार्य भएमा लिएको लक्ष्यमा पुग्ने सकिने धारणा व्यक्त गरेका छन् ।
बडीमालिका नगरपालिकाकी नगर उप प्रमुख नन्दा थापाले जिल्लामा आएको बजेटलाई सही रुपमा कार्यान्वय गर्न सुझा दिएकी छन् । नातागोता भन्दा पनि विकासका क्षेत्रमा ध्यान दिदै व्यवसायिक र उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको थापाले बताइन् ।
जिल्लाका सरकारी कार्यालयमा आएको बजेटलाई सही रुपमा प्रयोग गरी लाभान्वित समुदायका व्यक्तिहरुलाई व्यवसायिक र उनीरुलाई आत्मनिर्भर बनाउने गरी कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल लगायतका क्षेत्रका कार्यालयहरुले दीर्घकालिन योजना बनाउन आवश्यक रहेको नेपाली काँग्रेस बाजुराका उप सभापति पदम बडुवालले आग्रह गरेका छन् ।
उनले कृषि प्रधान देश भएकाले कृषिलाई प्राथमिकता राख्दै व्यवसायिक रुपमा कृषकलाई प्रोत्साहन गर्दै उत्पादनमुखी बनाएर जिल्लामा उत्पादन भएको वस्तु निर्यातमा जोड दिनुपर्ने बताए ।
कृषकहरुले उत्पादन गरेको चीजवस्तुलाई बजारीकरण गर्न पनि आवश्यक रहेको उप सभापति बडुवालको भनाई रहेको छ । जिल्लाको शिक्षा, स्वास्थ्य, सडक लगायतका विकास निर्माणका कार्यमा राजनितिक दल एक ठाउँमा उभिने जिकिर गरेका छन् ।
नेकपा एमालेका जिल्ला कमिटी सचिव काँशी बहादुर वि.क.ले विकासी कार्यालयहरुले लक्ष्य,उद्देश्य र उपलव्धीहरुको आत्मसमीक्षा गर्दै अपेक्षित तर वास्तविक परिणामलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।
उनले सामाजिक न्यायमा आधारमा बजेट सन्तुलित रुपमा वितरण गरिनुपर्नेमा जोड दिएका छन् ।
यहाँ ८५ प्रतिशत कृषीमा आत्मनिर्भर रहेकाले कृषि प्रणाली सुधारमा गर्दै लैजाने गरी योजना तयार गर्नुपर्नेमा सचिव वि.क.ले धारणा व्यक्त गरेका छन् ।
कृषि क्षेत्रमा परम्परागत खेती प्रणाली अपनाइरहेकाले त्यसलाई आधुनिक कृषि प्रणालीमा लैजाने लक्ष्य सहित रणनितीक योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको वि.क.को भनाई रहेको छ ।
जिल्लास्तरिय समीक्षा कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले आर्थिक वर्ष २०८२÷०८३ को प्रगति विवरण सार्वजनिक गरेका हुन् । कार्यालयहरुले गरेका कार्य प्रगतिको समीक्षा गरिएको आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा समन्वय उप प्रमुख लाछु सार्की, बडीमालिका नगरपालिकाकी उप प्रमुख नन्दा कुमारी थापा, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला अतिथी रहेका थिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराका प्रतिनिधी टेक बहादुर बडुवाल, नेपाली काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल, नेकपा एमाले बाजुराका सचिव काँशी वि.क. अतिथी रहेका थिए । कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, पत्रकार लगायत सहभागी थिए ।
जिल्ला समन्वय समिति बाजुराका नायव सुब्बा दिपेन्द्र पाण्डेले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य निमित्त समन्वय अधिकारी संजय चौधरीले गरेका थिए ।



