धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा सरसरफाई अभियान संचालन

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा साउन शुक्ल पक्षको दिन लागेको बडीमालिका मेलामा आएका भक्तजनहरुले फोहर गरेपछि उक्त फोहर व्यवस्थापनका लागि बाजुराका युवाहरुले सरसफाई अभियान चलाएका छन् ।
बडीमालिकालाई स्वच्छ,सुन्दर र हराबरा बडीमालिका बनाउने र पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउने लक्ष्य तथा फोहोर सही रुपमा धार्मिक क्षेत्रका देखिएपछि जिल्लाका युवाहरुले सरसफाई अभियान संचालन गरेको नेपाल पत्रकार महासंघ बाजुराका पुर्व सचिव कृष्ण ओलीले बार्जु खबरलाइ जानकारी दिएका छन् ।
उनका अनुसार बडीमालिकाजस्तो पत्रिव क्षेत्र र आस्थाको धरोहर पर्यटकीय क्षेत्रमा साउन शुक्ल पक्षमा लागेको बडीमालिका मेलापछि फोहोर व्यवस्थापन नहुँदा अभियान नै चलाएर सरसफाई गर्न लागिएको बताए ।
बडीमालिका नेचर प्रा.लि.को संयोजनमा सरसफाई अभियान संचालन भएको बताएका छन् । जथाभावी रुपमा फालिएको फोहार संकलन गरी कुनै निश्चित ठाउँमा आगोल लगाईएको छ ।
मंगलबार बडीमालिका क्षेत्रमा सरसफाई सकिएको भएपनि बुधबार अर्थात असोज २१ गते त्रिवेणी पाटन सहितका क्षेत्रमा फोहोर संकलन गरी जलाउने कार्य गरिने नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् ।
बडीमालिका क्षेत्रमा ठुलो मात्रामा फोहोर फालिएको र त्रिवेणी क्षेत्रमा पनि फोहोर जथाभावी फालिएकाले केही दिन लाग्न सक्ने अध्यक्ष सिंहले बताए ।
२२ पाटन सहित त्रिवेणी धाम,खेतीबेती, बासुधारा र बडीमालिका मन्दिर क्षेत्रमा साउन शुक्ल पक्ष पूर्णिमाको अघिल्लो दिन लाग्ने बडीमालिका मेलामा आएका तीर्थयात्री र होटल व्यापारीहरुले जथाभावी रुपमा प्लाष्टिक सहितको फोहोर गरेपछि उक्त फोहोर व्यवस्थापन गर्ने गरी १६ जनाको टोली बडीमालिका पुगेर सरसफाई गर्न थालेको नेपाल स्काटउ सुदूरपश्चिम प्रदेशका प्रमुख आयुक्त नरेन्द्र थापाले बताएका छन् ।
बडीमालिकाको दर्शनका लागि आएका तीर्थयात्री र पाटनमा चरीचरन गराउन आएका भेडा पालक व्यवसायीहरुले पर्यटकीय क्षेत्रमा जथाभावी रुपमा प्लाष्टिक सहितका फोहोर फालेकाले स्वच्छ हराबरा बनाउन र बडीमालिका चिनाउने गरी अभियान संचालन गरिएको बताए ।
धार्मिक रुपमा पहिचान र अथाहा सम्भावना रहेको बडीमालिकालाई संरक्षित क्षेत्रका रुपमा राज्यले घोषण गर्न आवश्यक रहेको छ ।
धार्मिक शक्तिका रुपमा रहेको बडीमालिकामा पुगेर दर्शन गर्ने दर्शनार्थीहरुलाई मनोकाँक्षा पुरा हुने जनविश्वास रही आएको छ ।
हरियाली ठुला फाँटहरु र त्रिवेणीको तीन क्षेत्रबाट बगेको नदी सहित खेतीबेती र २२ पाटनको अवलोकन गर्ने तीर्थस्थल तथा पर्यटकीय क्षेत्रका रुपमा पहिचान बढ्दै गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताएका छन् ।
पछिल्लो समयमा बडीमालिकामा देशका विभिन्न ठाउँबाट आन्तरिक रुपमा दैनिक २० देखि ३० जना पर्यटकहरु बडीमालिका घुम्न आउने गरेका छन् । बडीमालिकाको महिमा र यसको पहिचान बढाउने र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याएर रोजगारीको सिर्जन गर्न सकेमा बडीमालिकाको थप सम्भावना बढ्ने देखिएको छ ।
बडीमालिका समुन्द्री सतहबाट ४ हजार २ सय मिटरको उचाईमा रहेको छ । सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल यात्रामा बडीमालिकाको जाने क्रममा घोडा पाटन, त्रिवेणी पाटन, खेतीबेती, र बडीमालिका मन्दिरबाट देखिने प्राकृतिक हरियाली सुन्दर फाँटको मनोरम दृश्यको देखिने गरेका छन् ।
बडीमालिका मन्दिरबाट २२ वटा पाटकको मनोरम दृश्यहरु देखिन्छन् । बडीमालिका अभुत शक्ति भएकाले हरेक वर्ष शुक्ल पुर्णिमाको अघिल्लो दिन पुजा लाग्ने गर्छ । बडीमालिका पुजाका लागि डोटी, अछाम, जुम्ला र कालिकोट र बाजुराबाट सरकारी पुजा लाग्ने गर्छ ।
बडीमालिकामा राज्यको व्यवास्ता
धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको बडीमालिकामा राज्यको कुनै लगानी नहुँदा ओझेलमा परेको छ । प्राकृतिक रुपमा भरिपूर्ण बडीमालिकालाई सरकारले लगानी नगर्दा यसको संरक्षण र प्रवद्र्धनमा समस्या भएको छ ।
धार्मिक शक्ति पीठमा रुपमा रहेको बडीमालिकामा अन्य समयमा पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी सरकारले लगानी गर्नुपर्नेमा यहाँका जनप्रतिनिधीहरुले आग्रह गरेका छन् ।
बडीमालिका क्षेत्र राज्यले नै उपेक्षा गरेका कारण स्थानीय पालिकाहरुबाट यसको प्रर्वद्धन तथा प्रचार प्रसार गरेको भएपनि प्रदेश र संघ सरकारले लगानी नगरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।
प्रदेश र संघ सरकारलाई बडीमालिका क्षेत्र लगानी बढाएर यसको प्रचारमा जोड दिनुपर्ने नगर प्रमुख खड्काले बताए ।
संघ सरकारको पर्यटन मन्त्रालय मार्फत ५ करोड र सडक विभाग मार्फत सडक निर्माणका लागि ४ लेनको लागि ४ करोड बजेट विनियोजन गरेको भएपछि यसलाई संरक्षण, प्रवद्धर्छन गर्नका लागि बडीमालिका पर्टयन विकास समिति बनाउनुपर्नेे बताए ।
सुदूरपश्च्चिम प्रदेश सरकराले बडीमालिका रामारोशन संरक्षण क्षेत्र घोषणा गरेको भइपनि सरकार नै अन्योलमा हुँदा बजेट व्यवस्थापन हुन नसकेको नगर प्रमुख खड्काको भनाई रहेको छ ।
संघ सरकारले स्थानीय तह र प्रदेश सरकारसंग समन्वय र सहकार्य गर्दै बडीमालिका पर्यटन समिति बनाउनुपर्ने खड्का बताउँछन् ।
हरेक वर्ष बडीमालिकामा लाग्ने पुजा तथा मेला व्यवस्थापन र आन्तरिक बाह्य पर्यटकहरुको तथ्यांक सहित सरकारी व्यवस्था हुन सकेको छैन । प्रदेश र संघ सरकारले सदाबहार बडीमालिकाको यात्रा तय गर्न योजना सहितको बजेट व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको छ । प्रकृतिको संरक्षण र यसको सही सदुपयोगका लागि राज्यले लगानी गर्नुपर्ने आवश्यक रहेको छ ।
बडीमालिका धार्मिक क्षेत्र मात्र नभएर पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेकोले प्रदेश र संघ सरकारले लगानीको वातावतरणमा ध्यान दिनुपर्नेमा यहाँका जनप्रतिनिधीहरुको माग रहेको छ ।
बडीमालिका सरसफाई अभियानमा १६ जना युवाहरु सहभागी भएका छन् । उनीहरुले बडीमालिका क्षेत्रको फोहोरका कारण नकारात्मक प्रभाव पर्ने हुँदा अभियान संचालन गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button