काठमाडौंः संघर्ष, सफलता र रहरहरुको शहर (संस्मरण)

गोविन्द्रराज तिमिल्सेना

जिन्दगी आफैमा एउटा यात्रा हो–‘यो यात्रामा कहिले उकाली त कहिले ओराली,विभिन्न उतारचढाव र संघर्ष।रहरका पखेटा फिँजाएर सुनौलो आकाश छुने इच्छा,कुनै सहर नक्सामा भेटिन्छन्,कुनै शहर आँखामा बस्छन्; काठमाडौं एउटा त्यस्तो सहर हो–जहाँ हजारौं मानिसका सपना,संघर्ष र आशाहरु एउटै सहरको सडकसँगै हिडिरहेका हुन्छन् ।’

करिब तीन साताअघि असोजको पहिलो हप्ता साहित्यिक भेटघाट,आत्मियता र मनमा उत्सुकता बोकेर काठमाडौं पुगेको थिएँ । एउटै उद्देश्य थियो– ‘जिन्दगीको यात्रा’ पुस्तक लोकार्पण समारोहमा सहभागी हुनु । आफ्नै कृति,त्यसैमा उत्साह,सुदूरको विकट बाजुराबाट संघीय राजधानी काठमाडौं पुग्न त्यति सहज भने थिएन ।
बाजुराबाट काठमाडौंसम्म बसको यात्रा । मनमा अनेकौं रहर अनि उत्साह । पुस्तक लोकार्पण हुने कार्यक्रम केवल बाहिर हेर्दा सामान्य कार्यक्रम थियो होला,तर मेरा लागि त्यो शब्दसंग साक्षात्कार गर्ने, विचारसंग नजिकिने र जीवनका अनुभूतिलाई साहित्यको ऐनामा नियाल्ने विशेष अवसर समेत थियो ।
काठमाडौं मेरो यात्राको एउटा गन्तव्य मात्रै थिएन, यो त, एउटा रहर, साहित्यिक पहिचान, भेटघाट, संवाद र सम्झनाको एउटा आत्मीय सेतु थियो । यहीँ यात्राका अनेक मोडमध्ये काठमाडौंको यात्रा मेरा लागि केवल भूगोल परिवर्तनको प्रसङ्ग मात्रै बनेन, अनुभूति, साहित्य र स्मृतिको सङ्गम बनेर मनको गहिराइमा बसी रह्यो ।

काठमाडौं पुगेको त्यो पहिलो विहानः जहाँ म नउठ्दै काठमाडौं निद्राबाट व्युउँझि सकेको थियो । घामका किरण धर्तीमा पर्न नपाउँदै जाग्छन्, अनेकौं रहरहरु । सडकमा मानिस र गाडीहरुको भीड संगै समय एकआपसमा दौडिन्छन् । व्यस्त मानिसहरु आ–आफ्नो गन्तव्यतर्फ लम्किरहेका देखिन्छन् । कसैले सफलता खोजिरहेका छन्, त कसैले पहिचान र सम्मान ।

कसैको आँखामा भविष्यको सपना, कसैको काँधमा जिम्मेवारीको भारी । कसैको मनमा समयमै पूरा गर्नुपर्ने रहरहरु । भीडको यो महासागरमा उभिएर टोलाईरहेको म,मनमनै सोच्छु–मानिसका यी कयौं अनगिन्ती रहरहरु साँच्चिकै पूरा होलान् । कयौँ समस्या र बाध्यताहरु पार लाग्लान् । मानिस सहरमा मात्रै होईन्,आफ्नै भाग्यको खोजीमा पनि यात्रा गरिरहेका छन् ।

विस्तारै सुर्य उदय भएर घामका किरणहरु धर्तीमा देखा पर्छन् । सडकमा मानिस र गाडीहरुको चाप पहिलेको भन्दा झन बढ्दै जान्छ । सडक,चोक र गल्लीगल्लीमा जताततै कोलाहल सुनिन्छ । लाग्छः ‘यो सहर केवल इँटा,ढुङ्गा र कङ्क्रिटले बनेको संरचना होईन, यो अनगिन्ती आकांक्षाहरुको आश्रयस्थल,अथक संघर्षहरुको साक्षी,सपनाहरुको संरक्षक र सम्भावनाको मुल हो ।’यहाँका प्रत्येक गल्लीले कुनै कथा बोकेको अनुभूति हुन्छ । प्रत्येक मोडले कुनै यात्राको संकेत गर्छ र प्रत्येक अनुहार भित्र जीवनका अनगिन्ती अध्यायहरु लुकेका हुन्छन् । गाउँको शान्त वातावरणमा जन्मिएर त्यहाँकै माटोमा लडिबुडी खेलेको मान्छेलाई काठमाडौं छुट्टै आकर्षक थियो । अग्ला भवन, फराकिला सडक, झिलिमिली बत्ती र आधुनिक जीवनशैलीका मानिस ।

यहाँको रहर,संघर्ष र सम्भावनाको कथा सुन्दा कुनै सपनाको शहर जस्तैःलाथ्यो । काठमाडौं केवल सहर मात्र नभई यहाँ अनेकौं सम्भावना,संघर्ष र सफलता लुकेको छ । हरेक मानिस आ–आफ्नो लक्ष्य लिएर यहाँ आएका छन् । त्यसैमा काठमाडौं नेपालको संघीय राजधानी समेत हो । काठमाडौंका विहानहरु आफ्नै किसिमको हतारो बोकेर उदाउँछन् । घामका किरण धर्तीमा झर्न नपाउँदै सडकमा पाइलाको भीड ओर्लिसकेको हुन्छ ।

आँखामा भविष्यको उज्यालो, मनमा परिवारको अनुहार र कसैको हृदयमा आफूले देखेको सपना पूरा गर्ने अदम्य अभिलाषा । सहरका सडकमा मानिसहरु मात्र हिँडिरहेका हुदैनन्, उनीहरुसँगै हिँडिहरेका हुन्छन्, आशा,अभाव, विवशता र सम्भावनाका असंख्य यात्राहरु । जुन यात्रा निरन्तर चलिरहन्छ । मानिस थाक्दैनन्,र थाक्न छुट समेत छैन् ।

दिउँसोको करिब तीन बजेको थियो । कामको सिलसिलामा सडकमा हिड्दै थिए । पेटले नास्ता मागिरहेको थियो । नजिकैको एउटा होटलमा छिरे । होटलमा साउजी समोसा पकाउँदै हुनुहुन्थ्यो । मैले भनेँ “अंकल खाजा के छ ।” उहाँले तुरुन्तै जवाफ दिनुभयो,“चाउमिन,समोसा,मःम यस्तै छ, के खानुहुन्छ ।”
मैले भनेँ,“तिन वटा जति समोसा राख्दिनुस् ।” मेरो आग्रह पछि उहाँले एउटा प्लेटमा चटनी सहित तिनवटा समोसा राख्दिनु भयो । मैले समोसा खादै गर्दा साउजीले सोध्नुभयो ।
“कहाँबाट के–कति कामले पाल्नु भएको होनी । घर कहाँ हो,हजुरको ?” मैले मुस्कुराउँदै जवाफ दिए,“घर बाजुरा हो । पुस्तक लोकार्पणको लागि आएको हुँ ।”

अलि खुसी हुदैँ उहाँले भन्नुभयो,“शुभकामना छ,बाबू । रहर,संघर्ष र सफलताको सहरमा यहाँलाई हार्दिक स्वागत सहित बधाई छ ।” उहाँको यो तीन कुरा रहर,संघर्ष र सफलताले मेरो ध्यान तान्यो । साँच्चिकै भनौँ–काठमाडौँ, केवल एउटा सहर मात्र नभई, यो रहर, संघर्ष र सफलताको संगम रहेछ ।
हामीले काठमाडौंलाई केवल सहरको रुपमा मात्रै लिने कि ? सपना, संघर्ष, रहर र सफलता दिलाउने गन्तव्यको रुपमा लिने भन्ने प्रश्न महत्वपूर्ण बन्यो ।
साउजीको त्यो कुरालाई मनन गर्दै मैले काठमाडौंका सडक, यहाँको चहलपहल र जीवनको तिब्र गतिलाई नियाल्दा मनमा अनेकौं विचार र तरङ्गहरु उठे । सहर जति विशाल देखिन्छ, मानिसका सपना उत्तिकै विशाल । तर ती सपनाको भार बोक्ने काँधहरु कति थाकेका छन्, भन्ने कुरा भीडले देखाउँदैन् । चम्किला भवनहरुको छायामुनी कति संघर्षहरु मौन छन् । सबैको उज्ज्वल भविष्य यहीँ सहरसंग जोडिएको छ ।
मैले सोचे साँच्चिकै अघि साहुजीले भनेको कुरा शत प्रतिशत सही छ ।

काठमाडौँ घरैघरको विशाल सहर मात्र होईन, यहाँ अनगिन्ती नागरिकका सपना,उज्ज्वल भविष्य, निर्माण, सम्भावनाको ढोका, रहर र संघर्षको चौतारी जस्तैः रहेछ । जुन चौतारीले चर्काे गर्मीमा समेत सितलता प्रदान गर्छ । काठमाडौं बस्ने हरेक व्यक्ति केही न केही उद्देश्य लिएर बसेका हुन्छन् । कतिपयले संघर्ष गर्दै आफ्नो उज्जवल भविष्य बनाएर सफलता प्राप्त गर्छन्।भने कतिपयले संघर्ष गर्दागर्दै पनि सफलता प्राप्त गर्न सक्दैनन् ।
सफलताका चम्किला दृश्य पछाडी असफलताले आफूलाई सम्हालिरहेका हुन्छन्, यी सबै कुरा अनुभूत गर्न दरिलो मन चाहिँने रहेछ । असफलता हुनुमा काठमाडौँको दोष छैन् । दोष त केवल आफ्नो संघर्ष र मेहेनतमा छ । सायद यहीँ कारणले काठमाडौं मलाई केवल राजधानी लागेन, यो त जीवनको खुला पुस्तकजस्तो लाग्यो, जहाँ प्रत्येक पृष्ठमा नयाँ कथा भेटिन्छ । यहीँ विशाल सहरको समयले मानिसलाई छिटो हिड्न सिकाउँछ ।
दुःख र संघर्ष गर्न सिकाउँछ । बाध्यता, समस्या र परिस्थितिले दृढ बनाउन सिकाउँछ । र हरेक रहर र अनुभवले जीवनको गहिराई बुझ्न प्रेरित गर्छ । यहीँ सहरले कसैलाई अवसर र सम्भावनाका ढोका खोलिदिन्छ, कसैलाई चुनौती, कसैलाई नयाँ परिचय दिन्छ, त कसैलाई आफ्ने अस्तित्वसंग प्रश्न गर्न बाध्य बनाउँछ । तर अन्ततः प्रत्येक मानिसले आफ्नो बाटो आफैँ पहिल्याउनुपर्ने सत्य भने सबैका लागी समान गरिदिन्छ ।

मेरो काठमाडौंको बसाइँ भने लामो थिएन । छोटो बसाइँ पनि सिंगो काठमाडौँ नियाल्दा लाग्यो, ‘यो रहरहरुको सहर त पक्कै हो । तर ती रहरहरु भित्र कयौं संघर्ष र सपना लुकेका छन् । संघर्ष गर्दै ती सपना पूरा गर्नु हाम्रो कर्तव्य हो।’ छोटो समयमा त्यहीँ सहरले मलाई एउटा साहित्यिक क्षेत्रमा परिचय स्थापित गर्न सिकायो।बरिष्ठ साहित्यकारहरु संग भेटघाट गर्ने अवसर जुरायो । त्यति मात्र होईन्,त्यो अन्जान सहरले मलाई संघर्षको पाठ सिकायो ।
जीवनका केही क्षणहरु भए पनि दिर्घकालसम्म स्मृतीमा बाँच्छन् । तिनलाई सम्झँदा समय फेरि पछाडी फर्के जस्तो लाग्छ, दृश्यहरु आँखाअघि उभिन्छन् । मन फेरि त्यहि परिवेशमा घुमिरहन्छ । काठमाडौंसँग जोडिएको यो साहित्यिक यात्रा पनि मेरा लागि त्यस्तै स्मरणीय अनुभूति बन्यो । फेसबुकबाट चिनचाज भएका व्यक्तिहरुको अपार माया, साथ, सहयोग, प्रेरणा र हौसला नै मेरा लागि अविस्मरणीय बने ।
ती क्षण सम्झिँदा काठमाडौंले केवल संघर्ष र सफलताको पाठ मात्र सिकाउँदैन्,यसले आपसी सद्भाव, माया र अपनत्वको भावना ग्रहण गर्न सिकाउँछ । मानिसले जीवनमा धेरै कुरा प्राप्त गर्छ, धेरै कुरा गुमाउँछ, धेरै ठाउँ पुग्छ र अनेक मानिससंग परिचित गर्छ । तर ती सबैमध्ये केही अनुभवले मात्र आत्माको ढोकामा छुने गर्छ । पुस्तक विमोचनको अवसर र काठमाडौंको परिवेशले मेरो जीवनयात्रामा यस्तै एउटा अर्थपूर्ण अध्याय थप्यो ।
‘एउटा नाम अनेकौं कथा । एउटा भूगोल,अनगिन्ती अनुभूति । कसैका लागि सपनाको पहिलो खुड्किलो,कसैका लागि बाध्यताको लामो बाटो, कसैका लागि सम्भावनाको खुला आकाश त कसैका लागि आफ्नै रहरहरुसँग सम्झौता गर्नु परेको एउटा मौन अध्याय ।’ त्यसैले यो सहर केवल भवनहरुको संग्रह होईन्, यो त मानिसका अधुरा चाहना, सपना, पीडा, सम्भावना र नथाक्ने आशाहरुले निर्मित जीवन्त आख्यान हो ।

अपरिचित भीडमा मिसिनु केवल ठाउँ परिवर्तन गर्नु होईन, यो आफ्नै जीवनको एउटा परिचित अध्याय बन्द गरेर अनिश्चित भविष्यको नयाँ पाना पल्टाउनु हो । अपरिचित सहरमा आफ्नो परिचय आफैले बनाउनुपर्छ । आफ्नो अस्तित्व आफैले जोगाउनुपर्छ, र सपनाहरुलाई वास्तविकताको कठोर धरातलमा उभ्याउन संङर्घ गर्नुपर्छ । काठमाडौंले रहर देखाउँछ,तर रहरको मूल्य पनि माग्छ ।
संघर्षका पहाडहरु खडा गर्छ,ती पहाड फोर्न कठिन हुन्छ । काठमाडौंँले समस्या मात्र होईन,थुप्रै अवसर देखाउँछ । जुन अवसर प्राप्त गर्न आफूलाई अवसर लायक बनाउनुपर्छ ।

सपनाका आकाश फराकिला छन्,तर आकाशमा पुग्ने भ¥याङ सहज हुदैन । बाहिर हेर्दा सामान्य देखिने जीवनमा भित्रभित्रै आँधी चलिरहेको हुन्छ । फेरि त्यो आँधीको आवाज मनबाहेक कसैले सुन्दैन । त्यसैले काठमाडौंलाई,‘रहर, संघर्ष, अवसर र सफलताको सहर भनिएको हो।जहाँ रहर पनि छ।अवसर पनि छ । संघर्ष सँगै सफलता पनि छ ।’

काठमाडौंको सबैभन्दा ठुलो पाठ यहीँ हो, ‘जीवनमा सपना देख्नु जति सहज छ,सपनाको भार बोकेर बाँच्नु त्यति नै कठिन।यहाँ मानिसले सफलताको चमक मात्रै देख्दैनन् । त्यसका लागि तिर्नुपरेको मूल्य समेत बुझ्न थाल्छ । घरहरु नजिक छन्।तर मनहरु धेरै टाढा।समयको महत्व, सम्बन्धको आत्मियता, अभावको पीडा र आत्मसम्मानको वास्तविक अर्थ यहिँ सहरका गल्लीहरुमा हिड्दै सिकिन्छ ।’
त्यतिवेला लाग्छ, काठमाडौँका प्रत्येक झ्यालभित्र एउटा कथा छ, प्रत्येक सडकमा एउटा यात्रा र प्रत्येक अपरिचित अनुहार भित्र छुट्टै संसार । जसलाई बाहिरबाट हेर्दा मात्र बुझ्न सकिँदैन । एउटै सहरमा कोही हाँसिरहेका छन् । कोही रोईरहेका छन् । कोही आफ्नो सफलतामा उत्सव मनाईरहेका छन् । भने कोही असफलतासँग सम्झौता गर्न सिकिरहेका छन् । जीवनमा यति कुराहरुलाई एउटै आकाशमुनी अँगालेर बाँच्नु नै सायद काठमाडौंको नियति हो ।

मैले अन्तमा मनन गरे,“काठमाडौं केवल पुगिने ठाउँ होईन्, अनुभूत गरिने जीवन हो । यहाँ रहरहरुले मानिसलाई तान्छन्, संर्घषले उसलाई परिपक्क बनाउँछ । सम्झनाले उसको यात्रालाई अर्थ दिन्छ । भने सफलताले उसले आफ्नो छुट्टै पहिचान र परिचय बनाउँछ । यहाँ सबैका सपना पूरा नहोलान्, संघर्षले चाहेजस्तो परिणाम नदेला । तर हरेक अनुभवले मानिसको भित्रि संसारमा केही न केही लेखेर जान्छ ।”
साहस, धैर्य, संघर्ष, आत्मवोध र जीवनप्रतिको नयाँ दृष्टि नै सफलताको सारथी बन्छन् । यो सहरले हरेका सबै सपना पूरा गरिदिएन, होला । तर सपना देखिरहने र तिनका लागि संघर्ष गरिरहने साहस भने अवश्य दियो ।

मेरो अनुभूतिमा काठमाडौं,“एउटा विशाल सहर मात्र होईन्,संघर्ष,सफलता र रहरहरुको सहर हो । मानिसलाई आफ्नै मनभित्रका कथा खोज्न प्रेरित गर्ने माध्यम हो । त्यति मात्रै होईन, समयसँग दौड्न, परिस्थितिसँग जुध्न र असफलता भित्र सफलता खोज्न सिकाउने रङ्गिन जीवनको एउटा अविस्मरणीय अध्याय समेत हो ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button