प्रशासनका सेवा अनलाइन मार्फत संचालन गरिने

बाजुरा- जिल्ला प्रशासन कार्यालय बाजुराबाट प्रदान गरिने नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बाहेकका अन्य सेवा अनलाइन मार्फत दिइने भएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बुधबारबाट व्यत्तिगत सिफारिसका कार्य स्थानीय तहका वडाबाट नै पाउने गरी अनलाइन मार्फत सेवा सुचारु गर्न लागेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका छन् ।
दुर्गम तथा भौगोलिक विकटतालाई मध्येनजर गर्दै व्यक्तिगत रुपमा हुने सामान्य सिफारिसहरु जिल्लामा नै धाउनुपर्ने हुँदा प्रत्येक वडा कार्यालयबाट निवेदन आएमा अनलाइन प्रक्रियाबाट सिफारिसको कार्य गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् ।
दुर्गम तथा पिछिडिएको, दलित, विपन्न, लगातका सिफारिसहरु प्रशासनले बुधबारबाट अनलाइन प्रक्रिया मार्फत प्रदान गर्ने पत्रकार भेटघाटमा प्रजिअ रिजालले जानकारी गराएका हुन् ।
भौगोलिक विकटतासंगै समयको बचत र पैसाको खर्च घटाउने गरी प्रशासनबाट लिने सिफारिसका सेवाहरु अनलाइनबाट दिने व्यवस्था मिलाइएको रिजालले भने ।
हालै सरुवा भएर बाजुरा आइपुगेका आएका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले मंगलबार सञ्चारकर्मीसँगको परिचयात्मक तथा छलफल कार्यक्रममा असोज २८ गतेदेखि लागु हुने गरि अनलाइन सिफारिस सेवा सञ्चालनमा ल्याउने बताए ।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। वडा कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी निवेदन तथा सिफारिस इमेलमार्फत जिल्ला प्रशासन कार्यालयमा पठाउने छ । त्यसपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक जाँचबुझ गरी सिफारिस तयार गरेर सम्बन्धित वडा कार्यालयमा पठाउने व्यवस्था मिलाइने छ । सेवाग्राहीले प्रशासन कार्यालयबाट सिफारिस लिन सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै वडाबाटै सेवा प्राप्त गर्न सक्नेछन् ।
यो व्यवस्था विशेषगरी भौगोलिक रूपमा टाढा रहेका बस्तीका नागरिकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। सामान्य सिफारिस लिनकै लागि लामो दूरी पार गर्नुपर्ने, यातायातमा खर्च गर्नुपर्ने र कामकै कारण दिनभर समय छुट्याउनुपर्ने बाध्यता यसबाट कम हुने विश्वास गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले सरकारी सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री, सहज र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
“सरकारी कार्यालयहरूले सेवाग्राहीसँग राम्रोसँग सञ्चार गर्दै सम्मानपूर्वक सहज र सरल रूपमा सेवा प्रवाह गर्नुपर्छ,” उनले भने, “अहिले इन्टरनेटको क्रान्तिको समयमा परम्परागत प्रक्रियामा मात्र सीमित नरही उपलब्ध भएसम्म सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ।” उनले लोक सेवा आयोगको प्रवेशपत्र अनलाइनबाट प्राप्त गर्दा मान्यता हुने अवस्थामा सरकारी निकायबाट जारी गरिने सिफारिसलाई पनि प्रविधिमार्फत उपलब्ध गराउन सकिने बताए। नागरिकलाई सेवा लिनकै लागि अनावश्यक समय र खर्च बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न यस्तो पहल गरिएको उनको भनाइ छ ।
वडा कार्यालयमार्फत अनलाइन निवेदन पठाउने व्यवस्थाअन्तर्गत पिछडीएको क्षेत्र, आदिबासी, खस आर्य, दलित, लगायतका सिफारिसहरु अव अनलाइनबाटै सेवा लिन सकिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । बाजुराका दुर्गम बस्तीबाट सदरमुकाम मार्तडी पुग्न लामो समय लाग्ने भएकाले प्रशासनिक सेवामा सहज पहुँच कायम गर्नु चुनौतीपूर्ण रहँदै आएको छ ।
अनलाइन सिफारिस सेवा प्रभावकारी रूपमा कार्यान्वयन भएमा नागरिकको समय र खर्च बचत हुनुका साथै सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाको समग्र विकास निर्माण, नागरिकका समस्या, सम्भावना तथा सार्वजनिक सेवा प्रवाहका विषयमा प्रमुख जिल्ला अधिकारी रिजाललाई जानकारी गराएका थिए ।
सहभागीहरूले जिल्लाको विकास, सुशासन र नागरिकका समस्या समाधानका लागि प्रशासन तथा सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
परिचयात्मक तथा भेटघाट कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रिजाल सहित सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, राष्ट्रिय अनुसन्धानका प्रमुख भरत बहादुर चन्द लगायत सहभागी थिए ।



