पूर्णबहादुरले भने: देउवा पूर्ण स्वास्थ्यलाभ गरी आउनु भएको छ, अब पार्टीमा निर्णायक भूमिका खेल्नुहुन्छ

काठमाडाैं- स्वास्थ्योपचारका लागि विदेश गएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीभित्रको एकताको विषय अगाडी आएको छ।  

देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका कांग्रेस नेता पूर्णबहादुर खड्काले पार्टीलाई पूर्ण रूपमा एकताबद्ध बनाउन देउवाको भूमिका निर्णायक हुने बताएका छन्।  

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी गम्भीर घाइते भएपछि देउवा थप स्वास्थ्योपचारका लागि विदेश गएका थिए। स्वास्थ्यलाभपछि बिहीबार नेपाल फर्किएका देउवालाई स्वागत गर्दै खड्काले उनी पूर्ण रूपमा स्वस्थ भएर फर्किएकोमा खुशी व्यक्त गरे।

खड्काले देउवालाई कांग्रेसको अभिभावकका रूपमा चित्रण गर्दै अब पार्टीको सम्पूर्ण एकताका लागि उनको नेतृत्वदायी भूमिका आवश्यक रहेको संकेत गरे।

‘हाम्रो अभिभावक तथा पार्टी सभापति शेरबहादुर देउवा भदौ २४ गतेको घटनामा धेरै ठूलो आक्रमणमा परेर गम्भीर घाइते हुनुभएको सबैलाई थाहा छ,’ खड्काले भने, ‘आज उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर आउनुभएको हामीले पायौं। यसबाट हामी सबै खुशी र उत्साहित भएका छौं।’

उनका अनुसार देउवाको स्वदेश फिर्तीले कांग्रेसभित्रको एकता प्रक्रियालाई अघि बढाउन थप आधार तयार भएको छ। ‘अब पार्टीको सम्पूर्ण एकता गर्ने सन्दर्भमा उहाँले निर्णायक भूमिका खेल्नुहुन्छ भन्ने मलाई विश्वास छ,’ खड्काले भने।

देउवाको स्वास्थ्य अवस्था सुधार भएर स्वदेश फर्किएसँगै कांग्रेसभित्र उनको आगामी राजनीतिक सक्रियता र पार्टी एकताको प्रक्रियामा खेल्ने भूमिकालाई लिएर चासो बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button