प्रकृति संरक्षणको सन्देशसहित बाजुरामा ‘बडीमालिका कप’ आयोजना हुँदै, विजेतालाई एक लाख ५५ हजार पुरस्कार राशी

बाजुरा- प्रकृति संरक्षण, पर्यटन प्रवद्र्धन र खेलकुद विकासलाई एकीकृत गर्दै बाजुरामा ‘बडीमालिका कप–२०८३’ खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । बडीमालिका नेचर प्रालिले आगामी कात्तिक ७ देखि १० गतेसम्म बडीमालिका नगरपालिका–८, मार्तडीस्थित खुला मञ्चमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको हो ।
प्रतियोगिताको घोषणा मार्तडीमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको प्रालिका अध्यक्ष कृष्ण ओलीले जानकारी दिए । उनका अनुसार खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी प्रकृति संरक्षण, वातावरणीय चेतना, पर्यटन प्रवद्र्धन तथा स्थानीय सम्भावनाको उजागर गर्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
‘प्रकृतिको सुरक्षा, मानव जीवनको रक्षा’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई प्रालिले दीर्घकालीन अभियानका रूपमा अगाडि बढाउने लक्ष्य लिएको छ। यसै अभियानअन्तर्गत बडीमालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
प्रालिका कार्यकारी निर्देशक गणेश थापाले खेलकुदको माध्यमबाट प्रकृति संरक्षणको सन्देश समाजका विभिन्न तहसम्म पु¥याउने उद्देश्य रहेको बताए। उनका अनुसार हिमाली तथा पर्वतीय क्षेत्रको पर्यावरणीय संवेदनशीलताबारे युवा पुस्तालाई सचेत गराउनुका साथै खेलकुद, पर्यटन र वातावरण संरक्षणलाई एउटै अभियानमा जोड्न प्रतियोगिताले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रालिका सदस्य पदमबहादुर सिंह, लक्ष्मण रोकाया, सञ्जय विक, विष्णु कार्की लगायतको सहभागिता थियो । आयोजकका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट दुई दर्जनभन्दा बढी टिम सहभागी गराउने लक्ष्य राखिएको छ । स्थानीय तथा प्रदेशस्तरका उत्कृष्ट खेलाडीका साथै राष्ट्रिय र उच्चस्तरीय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रतियोगिताले स्थानीय खेलाडीलाई अनुभवी तथा उच्चस्तरीय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको स्तर उकास्न सहयोग पु¥याउने विश्वास आयोजकको छ । व्यवस्थित खेलमैदान र प्राविधिक व्यवस्थापनसहित प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको प्रालिले जनाएको छ ।
आयोजकले प्रतियोगितामा २५० भन्दा बढी खेलाडीको प्रत्यक्ष सहभागिता रहने र करिब ५० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्ने अपेक्षा गरेको छ । उक्त संख्या आयोजकको अनुमानित लक्ष्य हो ।
प्रतियोगितालाई प्रतिस्पर्धात्मक र आकर्षक बनाउन आयोजकले प्रथम हुने टिमलाई एक लाख ५५ हजार ५५५ रुपैयाँ र द्वितीय हुने टिमलाई ९९ हजार ९९९ रुपैयाँ पुरस्कार प्रदान गर्ने प्रस्ताव गरेको छ। तृतीय पुरस्कार बारे आयोजकले पछि नै निर्णय लिने बताएको छ ।
यसका अतिरिक्त विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक ५ गते साँझ ५ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क आठ हजार रुपैयाँ तोकिएको छ । प्रत्येक टिममा १० जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरी १२ जना रहने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन क्लब वा अन्य कुनै आधिकारी समूह सञ्जाल हुनुपर्नेछ। त्यो नभएको अवस्थामा सम्बन्धित स्थानीय तहमा वडा वा पालिकाको लिखित सिफारिस पत्र पेश गर्नुपर्नेछ । उक्त पत्रमा सहभागी खेलाडीको नामसमेत उल्लेख भएको हुनुपर्नेछ। खेलाडीले आफ्नो परिचय खुल्ने आधिकारिक प्रमाण पनि बुझाउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विदेशी खेलाडीले समेत सहभागिता जनाउन पाउनेछन् । टिमको खाना तथा बसोबासको व्यवस्था सम्बन्धित क्लब वा टिम आफैँले गर्नुपर्नेछ । कात्तिक ७ गते बिहान ९ बजेसम्म खेल तालिका सार्वजनिक गर्ने र बिहान ११ बजे औपचारिक उद्घाटनसहित खेल सुरु गर्ने तयारी गरिएको छ ।
उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम, चर्चित कलाकारसहित खुला देउडा तथा मैत्रीपूर्ण खेल सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टिमले आफ्नो आधिकारीक जर्सीमा मदिरा तथा प्लास्टिकजन्य वस्तु वा पदार्थको प्रचारप्रसारमा पूर्ण रोक लगाइने पनि प्रालिले स्पष्ट पारेको छ ।
बडीमालिका धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन सम्भावनासँग जोडिएको महत्वपूर्ण पहिचान हो । यही पहिचानलाई खेलकुदसँग जोडेर राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले मार्तडीमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
प्रतियोगिताले खेलकुद गतिविधि विस्तार गर्नुका साथै स्थानीय व्यापार, होटल व्यवसाय, पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । खेलकुदमार्फत युवालाई अनुशासन, सहकार्य र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नु पनि प्रतियोगिताको उद्देश्य रहेको छ ।
आयोजकले प्रतियोगितालाई केवल चार दिनको खेल गतिविधिका रूपमा नभई प्रकृति संरक्षण र सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियानका रूपमा विकास गर्न खोजेको जनाएको छ । खेलाडी, दर्शक तथा अतिथिमाझ वातावरण संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्ने र वातावरणीय चेतनामूलक गतिविधि सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।
बडीमालिका कपलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रालिले विभिन्न सरकारी तथा गैरसरकारी निकाय, वित्तीय संस्था, उद्योगी, व्यवसायी र अन्य संघसंस्थालाई सहकार्यका लागि आह्वान गरेको छ ।
आयोजकले मुख्य र सहायक गरी दुई प्रकारका प्रायोजन प्रस्ताव गरेको छ । मुख्य प्रायोजकका लागि दुई लाख रुपैयाँ र सहायक प्रायोजकका लागि एक लाख रुपैयाँ सहकार्य राशि प्रस्ताव गरिएको छ ।
प्रायोजक संस्थाले प्रतियोगिताको नामसँग ब्रान्ड जोड्ने, खेलाडीको जर्सी तथा खेल पोशाकमा लोगो प्रदर्शन गर्ने, खेलमैदान, मुख्य ब्यानर र स्टेजमा ब्रान्डिङ गर्ने तथा उद्घाटन र समापन समारोहमा संस्थागत उपस्थिति जनाउने अवसर प्राप्त गर्न सक्नेछन् । यसबाट संस्थाको सामाजिक उत्तरदायित्व र स्थानीय तथा प्रदेशस्तरको पहिचान विस्तारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
प्रतियोगिताको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल, डिजिटल पोस्टर, भिडियो, खेलको प्रत्यक्ष प्रसारण तथा स्थानीय र राष्ट्रिय सञ्चारमाध्यमको उपयोग गरिने जनाइएको छ ।
बडीमालिका नेचर प्रालिको टिमसँग यसअघि खेडेदह गोल्डकप लगायत विभिन्न प्रतियोगिता आयोजना गरेको अनुभव रहेको जनाइएको छ । उक्त अनुभवलाई उपयोग गर्दै बडीमालिका कपलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र दीर्घकालीन रूपमा स्थापित गर्ने लक्ष्य आयोजकले लिएको छ ।
बडीमालिका कपलाई हरेक वर्ष निरन्तरता दिँदै खेलकुद, प्रकृति संरक्षण र पर्यटन प्रवद्र्धनलाई जोड्ने प्रतिष्ठित अभियानका रूपमा विकास गर्ने प्रालिको योजना छ । स्थानीय प्रतिभाको पहिचान, वातावरणीय चेतनाको विस्तार र बाजुराको पर्यटन सम्भावनाको प्रचारमा प्रतियोगिताले योगदान पु¥याउने अपेक्षा गरिएको छ ।



