प्रतिबन्धको बाबजुद अमेरिकाले किन माग्यो रुससँग डिजेल?

इन्धनको बढ्दो मूल्य र नजिकिँदै गरेको अमेरिकी मध्यावधि चुनावको बिचमा राष्ट्रपति डोनाल्ड ट्रम्पको यो घोषणा आएको हो।
नोभेम्बरको मध्यावधि चुनावअघि अमेरिकामा इन्धनको उच्च मूल्य घटाउने प्रयासस्वरूप रुसबाट डिजेल इन्धनको भण्डार ल्याउने सम्झौतामा सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
यद्यपि, विश्लेषकहरूले अल जजिरालाई बताएअनुसार यस सम्झौताले विश्वव्यापी ऊर्जा संकट कम गर्न खासै प्रभाव पार्ने छैन, साथै युरोपेली देशहरूले रुसबाट इन्धन किन्न पूर्ण रूपमा अस्वीकार गर्न सक्छन्।
युक्रेनमाथिको युद्धलाई लिएर रुसमाथि लगाइएको वर्षौँको प्रतिबन्धका बाबजुद यो सम्झौता भएको हो। गत महिना मात्रै अमेरिकाले रुसी तेलका खरिदकर्ताहरूलाई लक्षित गर्दै पछिल्लो प्रतिबन्धको घोषणा गरेको थियो।
ट्रम्पले पुटिनसँग के सहमति गरेका छन्?
शुक्रबार राति ट्रम्पले सामाजिक सञ्जालमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘अत्यन्तै सफल छलफल’ भएको र रुसले ‘तत्काल’ अमेरिका तथा विश्व बजारमा ३ लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने सहमति भएको घोषणा गरे।
नोभेम्बरमा थप ५ लाख टन र त्यसपछि कुनै समय थप १० लाख टन डिजेल उपलब्ध गराइने ट्रम्पले बताए। आफ्नो डिजेल प्रशोधन केन्द्रको वर्तमान अवस्थाको आधारमा रुसले त्यसपछि थप ३० लाख टन डिजेल डेलिभर गर्ने पनि उनले थपे।
होर्मुज जलमार्गमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ सँगसँगै यस कदमले अमेरिका र बाँकी विश्वमा डिजेलको मूल्य घटाउने दाबी ट्रम्पले गरेका छन्।
आफ्नो ट्रुथ सोसल प्लेटफर्मको एक पोस्टमा उनले लेखेका छन्, ‘अमेरिकीहरू, विशेषगरी हाम्रा महान् किसानहरू, पशुपालकहरू र ट्रक चालकहरूका लागि कम मूल्य कायम गर्नु मेरो सबैभन्दा ठुलो प्राथमिकता हो।’
त्यसपछि ट्रम्पले सम्झौताका लागि पुटिनलाई धन्यवाद दिँदै शुक्रबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग भने, ‘साँचो कुरा भन्नुपर्दा, हाम्रो देशमा ठुलो मात्रामा तेल भित्रिइरहेको छ, र हामीलाई चाहिएको कुरा नै डिजेल हो।’
शुक्रबार एक विज्ञप्ति जारी गर्दै पुटिनले रुस ‘अमेरिकी बजार र समग्र विश्व बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्ने आफ्नो इच्छा पुष्टि गर्दछ’ भनेका छन्।
- विश्वव्यापी डिजेल संकट किन छ?
इरानमाथिको अमेरिका-इजरायल युद्ध र युक्रेनमाथिको रुसको युद्ध दुवैको परिणाम स्वरूप विश्वव्यापी इन्धनको मूल्य ह्वात्तै बढेको छ। फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि पहिलो पटक आक्रमण गरेयता तेहरानले होर्मुज जलमार्गलाई धेरै हदसम्म बन्द गरेको छ, जहाँबाट शान्तिकालमा विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गर्दथ्यो।
खाडीबाट तेल निर्यातको अर्को प्रमुख मार्ग साउदी अरेबियाको इस्ट-वेस्ट पाइपलाइनमा भएको पछिल्लो आक्रमणका साथै लाल सागर र बाब अल-मन्डेब जलमार्ग वरपर यमनका हुथीहरूले गरेका आक्रमणहरूले आपूर्तिमा थप अवरोध पुर्याएका छन्।
यसैबिच, रुस र युक्रेन दुवै देशका तेल प्रशोधन केन्द्रहरू, ऊर्जा र बन्दरगाह सुविधाहरूमा भारी आक्रमण भएका छन्।
विश्वव्यापी इन्धन भण्डारमा भारी गिरावट आएको छ, र सेप्टेम्बरमा अमेरिका र युरोप दुवैतिर डिजेलको मूल्य कीर्तिमानी उचाइमा पुगेको थियो।
युरोपेली संघमाथि अमेरिकी दबाब अभियानपछि गत साता जी-सेभेन देशहरू १० करोड ब्यारेल आपत्कालीन डिजेल र कच्चा तेलको भण्डार बजारमा ल्याउन सहमत भएका थिए। उक्त अभियानमा ट्रम्प प्रशासनले अमेरिकाबाट हुने डिजेल निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिएको थियो।
क्यापिटल इकोनोमिक्सका जलवायु र वस्तु अर्थशास्त्री हमाद हुसेनले गत साता अल जजिरालाई जी-सेभेनको यस कदमको प्रभाव ‘अल्पकालीन हुनेछ किनभने यो आपूर्ति अभावको लागि एउटा अस्थायी समाधान मात्र हो’ भनी बताएका थिए।
- डिजेल संकटले अमेरिकालाई कसरी असर गरेको छ?
अमेरिकामा डिजेलको मूल्य बढ्दा सेप्टेम्बरमा राष्ट्रिय औसत कीर्तिमानी ६.५२ डलर प्रति ग्यालन (३.७९ लिटर) पुगेको थियो, जुन एक वर्षअघिको मूल्यभन्दा दोब्बरभन्दा बढी हो। अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार हाल राष्ट्रिय औसत मूल्य ६.२० डलर रहेको छ।
अमेरिका विश्वको सबैभन्दा ठुलो डिजेल निर्यातक हो। इरान युद्ध सुरु भएदेखि यसको भण्डारमा भारी गिरावट आएको छ र प्रशोधनकर्ताहरूले उत्पादन बढाए पनि यो सामान्य स्तरभन्दा तल नै छ।
सेप्टेम्बरमा अमेरिकी सांसदहरू र ट्रम्पले उपभोक्ता लागत घटाउने प्रयासस्वरूप डिजेल निर्यातमा प्रतिबन्ध लगाउने प्रस्ताव राखेका थिए। युक्रेनले आफ्नो युद्ध प्रयासलाई आर्थिक सहयोग गर्न प्रयोग गर्ने रुसी ऊर्जा उद्योगलाई अवरोध गर्ने उद्देश्यले यस वर्ष रुसी तेल उद्योगमाथिको आक्रमण बढाएपछि अभाव सिर्जना गरेको आरोप लगाउँदै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई डिजेल इन्धन लक्षित आक्रमण रोक्न आह्वान पनि गरेका थिए। युक्रेनको ऊर्जा पूर्वाधारमाथिको आक्रमणलाई लिएर ट्रम्पले रुसलाई भने यस्तो कुनै चेतावनी दिएनन्।
अमेरिकी मध्यावधि चुनावअघि डिजेलको मूल्य घटाउने विषयमा ट्रम्प विशेष रूपमा चिन्तित छन्। इरान युद्ध पहिल्यै निकै अलोकप्रिय भइसकेको छ र उनको ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) समर्थक आधारका धेरै साना व्यवसायीहरू डिजेल सस्तो हुने कुरामा निर्भर छन्।
ट्रक चालकहरूले खाद्यान्न र उत्पादनहरू ढुवानी गर्न र किसानहरूले मेसिनरी सञ्चालन गर्न डिजेल प्रयोग गर्ने भएकाले मूल्य वृद्धिको असर उपभोक्ताले महसुस गरिरहेका छन्। पिउ रिसर्च सेन्टरको पछिल्लो सर्वेक्षणअनुसार ८४ प्रतिशत दर्ता भएका मतदाताहरूका लागि अर्थतन्त्र सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो।
ट्रम्पलाई भोट हालेका र सामान्यतया उनको रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई समर्थन गर्ने आयोवा र कान्सास जस्ता राज्यहरू अहिले नोभेम्बर ३ को चुनावमा कडा प्रतिस्पर्धा हुने क्षेत्रका रूपमा हेरिएका छन्, जसले गर्दा रिपब्लिकनको हार टार्न ट्रम्पमाथि दबाब बढेको छ।
- यसले रुसी तेलमाथिको अमेरिकी प्रतिबन्धलाई के अर्थ राख्छ?
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप बाइडेन प्रशासनको पालामा अमेरिकाले रुसी तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाएको थियो।
गत महिना कंग्रेसले पारित गरेको र ट्रम्पले हस्ताक्षर गरेको विस्तृत रुसी प्रतिबन्ध कानुनले रुसी तेल र ग्यास किन्ने देशहरूलाई पनि लक्षित गर्दछ। ‘लिन्डसे ओ ग्राहम स्याङ्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ ले विद्यमान प्रतिबन्धहरूलाई विस्तार गर्दै रुसी ऊर्जा व्यापारलाई सहज बनाउने अधिकारीहरू, बैंकहरू र छायाँ ट्यांकरहरूलाई लक्षित गरेर पुटिनलाई दबाब दिने उद्देश्य राखेको थियो।
यसले ट्रम्पलाई रुसी तेल र प्राकृतिक ग्यासका शीर्ष पाँच आयातकर्ताहरूमाथि १०० प्रतिशत भन्सार शुल्क लगाउने अधिकार पनि दिएको थियो।
शुक्रबार ट्रम्पको घोषणापछि अमेरिकी अर्थ मन्त्रालयले अफिस अफ फरेन एसेट्स कन्ट्रोलले ‘विश्व बजारमा रुसी डिजेल आपूर्ति गर्न अनुमति दिने गरी तत्काल एउटा अस्थायी सामान्य लाइसेन्स जारी गरिरहेको’ बताएको छ।
के रुसमा आफ्नै इन्धन संकट छैन र?
हो छ, जसले गर्दा ट्रम्पले वाचा गरे जति डिजेल रुसले उपलब्ध गराउन सक्ने कुरामा शंका गर्ने प्रशस्त आधार विश्लेषकहरूले पाएका छन्।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तेल उद्योग र बजार विभागका पूर्व प्रमुख निल एटकिन्सनले अल जजिरालाई रुसले यसो गर्न सक्छ भन्नेमा आफूलाई शंका रहेको बताए।
‘अति छोटो समयमा, आफ्नो घरेलु बजारलाई असर नपारी सम्झौतामा कुरा गरिएको परिमाणमा रुसले कसरी डेलिभरी गर्न सक्छ भनेर बुझ्न निकै गाह्रो छ,’ उनले भने।
यसअघि रुस अमेरिकापछिको विश्वकै दोस्रो ठुलो डिजेल निर्यातक थियो। तर, यस वर्षको पहिलो त्रैमासिकमा ८ लाख ५० हजार ब्यारेल र दोस्रो त्रैमासिकमा ६ लाख ९० हजार ब्यारेल प्रतिदिन रहेको रुसी डिजेल र ग्यासको निर्यात तेस्रो त्रैमासिकमा भने प्रतिदिन १ लाख ९० हजार ब्यारेलमा झरेको कमोडिटी ट्र्याकर भोर्टेक्साको तथ्यांक उद्धृत गर्दै सिपिङ एनालिटिक्स कम्पनी विन्डवार्डकी समुद्री जासुसी विश्लेषक मिसेल विस बोकम्यानले प्रष्ट पारिन्।
त्यसैले, रुसले आन्तरिक माग पूरा गर्ने प्रयासस्वरूप जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगायो र सेप्टेम्बरको अन्त्यमा उक्त प्रतिबन्धलाई अक्टोबरको अन्त्यसम्म लम्ब्यायो।
रुसी ऊर्जा संरचनामाथि युक्रेनको आक्रमणले पनि रुसको इन्धन संकटमा योगदान पुर्याएको छ। युक्रेनी आक्रमणबाट रुसको कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत हिस्सा प्रभावित भएको पुटिनले स्वीकारेका छन्।
युक्रेनको रक्षा मन्त्रालयले आफ्ना हवाई आक्रमणहरूले रुसको तेल प्रशोधन क्षमताको आधाभन्दा बढी नष्ट गरेको जनाएको छ। जुलाईमा युक्रेनले अजोभ सागर र कालो सागरमा रहेका सयौँ रुसी छाया फ्लीट ट्यांकरहरूमा पनि प्रहार गरेको थियो, जसले गर्दा सन् २०१४ मा रुसले गाभेको क्रिमियामा हुने ग्यास डेलिभरी प्रभावित भयो।
बोकम्यानले बताएअनुसार रुसको आन्तरिक अभाव ‘यति चरम थियो, तेस्रो त्रैमासिकमा हामीले पहिलो पटक रुसलाई ग्यासोलिन, डिजेल र ग्यास आयल आयात गरेको देख्यौं।’
उनले थपिन्, ‘भर्खरै यसै साता पनि डिजेल र ग्यास आयल बोकेको एउटा पानीजहाज भिसोतस्क बन्दरगाहमा आइपुगेको थियो।’
गत साता रुसले अधिक उत्पादन भएको खण्डमा डिजेल निर्यातमा लगाइएको प्रतिबन्ध आंशिक रूपमा फुकुवा गर्ने कुरामा विचार गर्ने बताएको थियो। उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाकले रुसी संसदलाई आन्तरिक बजार सन्तुलित रहेको र ‘यदि डिजेल उत्पादन आन्तरिक मागभन्दा बढी भएमा हामी निर्यात आंशिक रूपमा खुला गर्ने विचार गर्नेछौं’ भनी बताएका थिए।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार रुसले सामान्यतया आफ्नो घरेलु आवश्यकता पूरा गर्न चाहिने भन्दा दोब्बर डिजेल उत्पादन गर्छ। यससँग फरक-फरक तापक्रमका लागि उपयुक्त हुने विभिन्न मापदण्डका डिजेल छन्। आगामी महिनाहरूमा स्वदेशमै चाहिने विन्टर र आर्कटिक ग्रेडका लागि ठाउँ बनाउन ० डिग्री सेल्सियस (३२ डिग्री फारेनहाइट) भन्दा माथिको तापक्रमका लागि उपयुक्त हुने यसको समर-ग्रेड डिजेल बजारमा पठाइन सक्छ।
- युक्रेनले कस्तो प्रतिक्रिया दिएको छ?
ट्रम्पका छोरी-ज्वाइँ ज्यारेड कुश्नर र अमेरिकी दूत स्टिभ विटकोफले पाँचौँ वर्षमा प्रवेश गरेको रुस-युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न फ्लोरिडाको मियामीमा युक्रेनी अधिकारीहरू र युरोपेली वार्ताकारहरूसँग भेट गरिरहेकै बेला ट्रम्पको यो घोषणा आएको हो।
यस घोषणाप्रति प्रतिक्रिया जनाउँदै जेलेन्स्कीले यसलाई ‘बलिया साझेदारहरूको कमजोर निर्णय’ भनेका छन्।
उनले यो सम्झौता ‘रुसको पक्षमा जाने र यसले उसलाई अझ बढी मार्न तथा लामो समयसम्म युद्ध लड्न अनुमति दिने’ बताए।
- के रुसी डिजेलले विश्वव्यापी मूल्यको दबाब कम गर्न सक्छ?
शुक्रबार पुटिनले सम्झौताले सम्पूर्ण विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने कुरामा आफू विश्वस्त रहेको बताए।
रुसी राष्ट्रपतिले दुई देशका राष्ट्रपतिबिच व्यक्तिगत सम्पर्क कायम राख्ने र आ-आफ्ना प्रशासन, सुरक्षा निकाय र एजेन्सीहरूबिच सहयोग जारी राख्ने सम्झौतालाई पुनः पुष्टि गरिएको पनि उल्लेख गरे।
यद्यपि, विश्लेषकहरूले भने यो सम्झौताले विश्वव्यापी ऊर्जा संकट समाधान गर्न खासै प्रभाव नपार्ने बताएका छन्।
आइजी ग्रुपका प्रमुख बजार विश्लेषक क्रिस ब्युच्याम्पले अल जजिरालाई रुसी डिजेल बजारमा ल्याउने ट्रम्प-पुटिन सम्झौता एउटा अल्पकालीन समाधान र ‘अर्को क्लासिक ट्रम्प डिल’ भएको बताए।
‘कुनै पनि उद्देश्य हासिल हुने निश्चितता बिना नै आकर्षक अंकहरू देखाएर एक अप्रिय तानाशाहसँग सम्झौता घोषणा गरिएको छ,’ उनले भने । केही डिजेल रुसबाट बाहिर आइहाले पनि, यो केवल एउटा अल्पकालीन समाधान हो किनभने विश्वको दैनिक डिजेल खपत लगभग ३ करोड ब्यारेल छ, जुन ट्रम्पले घोषणा गरेको सम्झौताको खाकाअन्तर्गत उपलब्ध गराउन सकिने कुल परिमाणको हाराहारी हो।
रुसी डिजेल बजारमा पठाउँदा मूल्य र विश्वव्यापी अभाव कम गर्न कति प्रभाव पर्छ भन्ने कुरा स्पष्ट नरहेको कुरा बोकम्यानले पनि बताइन्।
‘अमेरिकाको आन्तरिक डिजेल मूल्यलाई प्रभाव पार्ने स्तरमा आयात गर्न अनुमति दिने यो सामान्य लाइसेन्स जारी गर्ने कुरा कत्तिको प्रभावकारी हुनेछ भन्नेमा म निश्चित छैन,’ उनले भनिन्।
अमेरिकाले दैनिक करिब ३७ लाख ब्यारेल डिजेल खपत गर्ने भएकाले ट्रम्पले घोषणा गरेको परिमाणले – यदि रुसले त्यो उपलब्ध गराउन सकेछ भने पनि – मूल्यमा ‘खासै ठुलो परिवर्तन ल्याउँदैन’ भनी एटकिन्सनले बताए।
युरोपेली देशहरूले रुसबाट डिजेल नकिन्ने संकेतहरू पनि देखिएका छन्।
‘जब पछिल्ला चार वर्षको मुख्य उद्देश्य नै युरोपले सम्भव भएसम्म चाँडो आफूलाई रुसी तेल र ग्यास आपूर्तिबाट मुक्त गर्ने प्रयास गर्नु हो भने, कुनै युरोपेली सरकारले नैतिक रूपमा कसरी रुसबाट तेल किन्न सक्छ भनेर बुझ्न निकै गाह्रो छ,’ एटकिन्सनले भने।



