तीन वर्ष यता प्रहरीमा उजुरी घट्दै, सडक सुरक्षा भने चुनौती

बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुरामा तीन वर्ष यता दर्ता हुने मुद्धा तथा उजुरीको संख्या घट्दै गएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ११८, २०८१÷८२ मा ११७ र २०८२÷८३ मा जम्मा ७१ वटा मात्रै मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीको दाबी अनुसार समुदायस्तरमा सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रम, नागरिक शिक्षा, मदिरा व्यवस्थापन, प्रहरी–नागरिक सहकार्य र सूचना प्रवाहमा आएको सहज पहुँचका कारण अपराध तथा उजुरी दर्ता दरमा कमी आएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराले शुक्रबार आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्ला तीन वर्षको तुलनात्मक तथ्यांक प्रस्तुत गर्दै मुद्दा दर्ता दर निरन्तर घट्दो क्रममा रहेको जानकारी दिइन्। उनका अनुसार प्रहरीको सक्रियता मात्र नभई समुदायमा बढ्दो कानुनी सचेतनाले पनि अपराध न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको छ।
यद्यपी प्रतिवेदनले जिल्लामा भवितव्य, आत्महत्या, यौनजन्य हिंसा र सवारी दुर्घटना अझै गम्भीर चुनौतीका रूपमा रहेको देखाएको छ। तीन वर्षको अवधिमा भवितव्यका घटनाबाट ५६ जनाले ज्यान गुमाएका छन् भने ४२ जनाले आत्महत्या गरेका छन्। भवितव्यका घटनामध्ये मात्रै रुखबाट लडेर २७ जनाको मृत्यु भएको तथ्यांक छ ।
आत्महत्या गर्ने ४२ जनामध्ये १४ महिला, १० पुरुष, ८ बालक र १० बालिका रहेका छन् । यही अवधिमा १८ वटा बहुविवाहसम्बन्धी मुद्दा पनि दर्ता भएका छन् ।
गत आर्थिक वर्षमा मात्रै जिल्लाभर ७० वटा विपद्जन्य घटना भएको प्रहरीले जनाएको छ। ती घटनामा १८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये १२ जना भीरबाट लडेका थिए। सोही अवधिमा सर्पदंशका १३ घटना भएका छन् भने जिल्लाभर १४८ वटा पशुचौपाया मरेको अभिलेख छ। एक वर्षमा प्रहरीले २९ हजार १७७ पटक सुरक्षा ड्युटी सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सवारी दुर्घटनाको अवस्था पनि चिन्ताजनक देखिएको छ। तीन वर्षमा जिल्लामा ८५ वटा सवारी दुर्घटना भएका छन्, जसमध्ये गत वर्ष मात्रै ३६ वटा दुर्घटना भएका हुन् । दुर्घटनामा सबैभन्दा बढी जीप र मोटरसाइकल परेका छन् ।
तीन वर्षमा २८ वटा जीप र २४ वटा मोटरसाइकल दुर्घटनामा परेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ। दुर्घटना गराउने चालकमध्ये २० देखि २५ वर्ष उमेर समूहका चालक सबैभन्दा बढी रहेको र ४५ वर्षभन्दा माथिका चालकबाट हुने दुर्घटना तुलनात्मक रूपमा कम रहेको प्रतिवेदनमा उल्लेख छ। तीन वर्षमा भएका दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने १८९ जना घाइते भएका छन् । ट्राफिक कारबाहीबाट करिब ३० लाख रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।
प्रहरीले एक वर्षको अवधिमा अदालतबाट फैसला भई फरार रहेका ५९ जनालाई पक्राउ गरेको जनाएको छ । लागुऔषध, अवैध मदिरा र अवैध हतियारसँग सम्बन्धित घटनामा संलग्न व्यक्तिमाथि पनि कानुनी कारबाही अघि बढाइएको जानकारी दिइएको छ ।
प्रतिवेदनले यौनजन्य हिंसाका घटनामा विद्यालय उमेर समूह सबैभन्दा बढी प्रभावित रहेको देखाएको छ। एक वर्षमा यौनजन्य घटनाका ६२ जना पीडित र ५९ जना पीडक रहेको तथ्यांक छ । पीडितमध्ये ४० जना तथा पीडकमध्ये ३७ जना विद्यालय उमेर समूहका रहेका छन् ।
अधिकांश घटना पारिवारिक नाता, चिनजानका व्यक्ति वा साथीभाइसँग सम्बन्धित भए पनि अपरिचित व्यक्तिबाट हुने घटनाको संख्या पनि उल्लेखनीय रहेको प्रहरीले जनाएको छ ।
स्थानीय तहका आधारमा हेर्दा यौनजन्य हिंसाका घटना सबैभन्दा बढी बुढीनन्दा नगरपालिकामा भएका छन्। त्यसपछि बुढीगंगा र बडीमालिका नगरपालिका रहेका छन् भने स्वामिकार्तिक खापर गाउँपालिकामा सबैभन्दा कम घटना दर्ता भएका छन् । यस्ता घटनामा ६४ वटा मुद्दा दर्ता हुँदा ७२ जना अभियुक्त पक्राउ परेका थिए ।
पाँच वर्षअघिको तुलनामा भने यौनजन्य मुद्दामा कमी आएको प्रहरीको दाबी छ। पाँच वर्षअघि ५१ वटा मुद्दा दर्ता भएकोमा गत वर्ष १३ वटा मात्रै मुद्दा दर्ता भएको तथ्यांक सार्वजनिक गरिएको छ । उमेर समूहका आधारमा १० देखि ३५ वर्षका व्यक्तिमा यस्ता घटना बढी देखिएका छन् ।
प्रहरीका अनुसार जिल्लामा सबैभन्दा बढी घरेलु हिंसा, यौनजन्य हिंसा, मदिरासम्बन्धी विवाद, हत्या तथा चोरी–लुटपाटका उजुरी आउने गरेका छन् ।
समीक्षा कार्यक्रममा प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश शाहीले सूचना प्रवाहमा प्रहरी र सञ्चारमाध्यमबीचको सहकार्यको महत्वबारे धारणा राखेका थिए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले समयमै आधिकारिक सूचना उपलब्ध गराउन, प्रहरीको आधिकारिक सामाजिक सञ्जालमार्फत तथ्यपरक सूचना सार्वजनिक गर्न तथा विपद्सम्बन्धी अद्यावधिक विवरण नियमित रूपमा सार्वजनिक गर्न सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक मोहन धामीले गरेका थिए ।


