देउवाको स्वदेश फिर्तीसँगै देखिने सम्भावित परिदृश्य

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो विदेश बसाइपछि स्वदेश फर्किएका छन् । गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर उडेका देउवा बिहीबार फर्किएका हुन् ।
गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको पद खोसिएको थियो । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । देउवा फर्किएपछि कांग्रेसभित्रको चर्किएको शक्ति संघर्ष ‘क्लाइमेक्स’ मा पुग्ने देखिएको छ । विशेष महाधिवेशनपछि पार्टी सत्ताबाट बाहिरिएको देउवा र नेता डा. शेखर कोइराला समूहले शुक्रबारबाट काठमाडौँमा २ दिनका लागि राष्ट्रिय भेला आयोजना गरेको छ ।
संस्थापन भने साउन १४ गतेबाट केन्द्रीय समिति बैठकमा व्यस्त हुँदा बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाको स्वागतका लागि उनका समर्थकहरूको ठुलो भिड थियो । पञ्चेबाजा, सांस्कृतिक झाँकी र चर्को नाराबाजीबिच उत्रिएका देउवालाई प्रहरीको कडा सुरक्षा घेरामा विमानस्थलबाट चुनदेवीस्थित इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि भन्दै खोलेको सम्पर्क कार्यालयमा पुर्याइयो ।बाहिरबाट हेर्दा यो एक शक्तिशाली नेताको भव्य स्वागतजस्तो देखियो । यसको पृष्ठभूमिमा ‘सम्पत्ति शुद्धीकरण’को गम्भीर अनुसन्धान पनि लुकेको छ ।
२०८२ भदौ २४ को जेनजी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा जलेका नोटका टुक्रा फेला परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । काठमाडौँ जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो ।तर, सम्पत्ति शुद्धीकरणको मुद्दा हेर्नका लागि ‘डेडिकेटेट’ अलालत विशेष अदालत रहेको भन्दै सर्वोच्च अदालतले देउवाका नाममा जारी भएको पक्राउ पूर्जी खारेज गरेको थियो । सरकारले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्ने प्रयास गरे पनि आधार नपुगेको भन्दै इन्टरपोलले अस्वीकार गरेको थियो । देउवा नेपाल फर्किएसँगै यो कानुनी प्रक्रियाले कुन मोड लिन्छ, सबैको चासोको विषय बनेको छ ।
गगनको ‘स्वागत’ र देउवाको ‘अपील’
देउवा स्वदेश फर्किएकै दिन सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी थियो । विशेष महाधिवेशनमार्फत नेतृत्व सम्हालिरहेका सभापति थापाले बैठकको सुरुवातमै देउवालाई ‘स्वास्थ्य लाभको कामनासहित स्वदेशमा स्वागत’ भन्दै बैठकको सुरुवात गरे । यो स्वागत जति औपचारिक देखिन्थ्यो, त्यसभित्रको राजनीतिक अर्थ त्यति नै गहिरो छ ।
थापा नेतृत्व विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिको ‘आधिकारिकता’ माथि देउवा पक्षले प्रश्न उठाइरहेको छ र त्यही केन्द्रीय कार्यसमितिलाई ट्रयाकल दिन भन्दै साउन २९ (भोलि)देखि राष्ट्रिय भेलाको आयोजना गरेको छ । त्यही पूर्वसन्ध्यामा देउवाको आगमनले कांग्रेसभित्रको आन्तरिक विवादलाई थप पेचिलो बनाएको छ ।
देउवाले स्वदेश फर्किएलगत्तै अपील जारी गर्दै आफूलाई ‘शक्ति नचाहिएको’ तर ‘पार्टीभित्रको निराशा चिर्न’ आफू सक्रिय हुने उल्लेख गरेका छन् । उनले २०३३ सालमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको प्रसङ्ग जोड्दै आफूलाई एकताको सुत्रधारका रूपमा प्रस्तुत गर्न खोजेका छन् । इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले सांकेतिक रूपमा भने, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरू सक्ला यहाँ ? यो देशको मालिक जनता हुन् ।’ उनले आफूविरुद्ध लागेका मुद्दाहरूलाई ५० वर्षको राजनीतिक निष्ठामाथिको प्रहार भन्दै अदालतको कठघरामा उभिन तयार रहेको चुनौतीसमेत दिए ।
अब के होला कांग्रेसमा ?
देउवाको स्वदेश फिर्तीले अहिलेको अवस्थामा कांग्रेसमा तीन मुख्य बदलाव आउने देखिन्छ ।
१. विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वको कार्यसमितिलाई चुनौती दिँदै इतर (देउवा र डा.कोइराला)समूहले अब आफ्नो पकड मजबुत बनाउने प्रयास गर्नेछ । साउन २९ को भेला त्यसको पहिलो खुड्किलो हुनेछ । सर्वोच्च अलालतले दिएको पुनरवलोकन अनुमतिलाई पनि भरपुर उपयोग गर्ने देखिन्छ ।
२. जेनजी आन्दोलन र युवा पुस्ताको असन्तोषलाई सम्बोधन गर्ने नाममा देउवाले थापाको ‘पपुलिस्ट’ राजनीतिलाई काउन्टर दिने रणनीति अख्तियार गर्ने देखिन्छ । त्यसको केही संकेत उनले आफ्नो अपिलमा पनि गरेका छन् । देउवाले अपिलमा बदलिँदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने र नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई कदर गर्ने बताउँदै विगतको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्, ‘बदलिँदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने र नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई कदर गर्नुपर्छ । तर, विगतका त्याग र बलिदानलाई नजरअन्दाज गरिनुहुन्न । नयाँ र पुराना पुस्ताबिचको सहकार्यमा अगाडि बढ्नुपर्छ ।’
३.सम्पत्ति शुद्धीकरणको अनुसन्धान र पक्राउ पुर्जीको कार्यान्वयनलाई देउवाले ‘राजनीतिक प्रतिशोध’को रूपमा व्याख्या गरिसकेका छन् । उनी नेपाल फर्किएपछि सडक र सदन दुवैतिर दबाब सिर्जना गर्ने सम्भावना पनि देखिन्छ ।



