ताम्सु गाउँ पहिरोको उच्च जोखिममा, विस्थापितको त्रिपालको बास

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ ।
बिहीबार राति आएको अविरल वर्षासंगै घर माथिबाट आएको पहिरोमा परी दुई जना घाइते र भए जनाको मृत्यु भएको थियो । अविरल वर्षाले गाउँमा विभिन्न ठाउँहरुमा पहिरो गएपछि गाउँ नै उच्च जोखिममा परेको हो ।
गाउँ भन्दा माथिबाट पहिरो आएपछि ६० परिवार नै जोमिखमा परेको वडा नम्बर ९ का वडा अध्यक्ष नन्द बहादुर थापाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार वर्षाका कारण मध्येराति पहिरो आएपछि भएको घटनापछि गाउँका स्थानीयहरु त्रसित भएर गाउँ माथि रहेको तोलेनी भन्ने ठाउँमा त्रिपाल टाँगेर बस्न बाध्य भएको बताएका छन् ।
पहिरोमा दुई घर पूर्ण रूपमा क्षति भएका छन् । गाउँको बीच भागमा पहिरो जानुका साथै ठाउँ–ठाउँमा जमिन चिराचिरा परेपछि गाउँमा रहेका परिवार उच्च जोखिममा रहेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।
ताम्सु गाउँमा ६० परिवार बसोबास गर्दै आएका थिए । पहिरोले दुई घर बगाएपछि अन्य ५८ घर पनि निकै जोखिममा रहेको वडा अध्यक्ष थापाले बताए । विस्थापित परिवारमध्ये केही सहकारीको भवनमा, केही महालक्ष्मी आधारभूत विद्यालयमा बसेका छन् भने केही परिवार पाल टाँगेर बस्न बाध्य भएका छन् ।
बिहीबार राति आएको पहिरोमा परी कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापाको मृत्यु भएको थियो । ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका थिए । धर्मको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने धौलीदेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ ।
बाढीपहिरोले ताम्सु गाउँमा करिब ६० रोपनी खेतीयोग्य जमिनमा समेत क्षति पु¥याएको छ । लगाएको अन्नबाली पूर्ण रूपमा नष्ट भएको छ । विद्युत् सेवा पूर्ण रूपमा बन्द भएको छ। भने खानेपानीका पाइपमा समेत क्षति पुगेको वडा अध्यक्ष थापाको भनाई रहेको छ । खानेपानीको व्यवस्था अवरुद्ध भएपछि स्थानीयवासी खोलाको पानी पिउन बाध्य भएका छन् ।
लगातारको वर्षाका कारण सडक तथा बाटोसमेत भत्किएका छन् । जिल्लाका धेरै परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । यसअघि साउन ४ गते आएको बाढीले बडिमालिका नगरपालिका–६ कोर्धका ६ परिवार विस्थापित भएका थिए ।
त्यस्तै, सोही पालिकाको वडा नम्बर ९ सेलाघाटमा बाढी आउँदा एक जना घाइते भएका थिए । भने तीन परिवार पूर्ण रूपमा विस्थापित भएका थिए । बाढीले खेतबारीमा लगाएको अन्नबाली बगाएर बगरमा परिणत गरेको थियो ।
यहाँका नौवटै स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका एक सय ३४ बस्तीहरु उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
प्रशासनले प्रकाशित गरेको जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजनामा एक सय २४ बस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।
भिरालो भू–भाग, कमजोर भू–बनावट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण समग्र जिल्ला नै विपद्को उच्च जोखिममा रहेको प्रशासनले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौवटै स्थानीय तह उच्च जोखिममा रहेका छन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जिल्लाका यी बस्तीहरू बाढीपहिरोको उच्च जोखिममा छन् ।
ताम्सुका पहिरो पिडितलाई त्रिपाल र खानेपानीको पाइप व्यवस्थापन
अविरल वर्षाका कारण गएराति आएको पहिरोबाट विस्थापित भएको त्रिवेणी नगरपालिका–९ ताम्सुका पिडितलाई प्रशासन मार्फत नेपाल रेडक्रस सोसाइटी बाजुराले त्रिपाल हस्तान्तरण गरेको छ ।
विस्थापित भएका सिंगो गाउँ नै सुरक्षित ठाउँमा बसाउनका लागि जिल्ला विपद व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले विस्थापित परिवारका लागि नगर प्रमुख कर्ण बहादुर थापालाई त्रिपाल बुझाएका हुन् ।
पहिरोबाट विस्थापित र पिडित परिवारलाई गाउँ माथि रहेको तोलेनी भन्ने ठाउँमा राख्ने भएकाले उनीहरुलाई त्रिपाल प्रभावित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनका अनुसार रेडक्रस बाजुरालाई त्रिपाल सहयोग र खानेपानी डिभिजन सम्पर्क कार्यालय बाजुरा मार्फत दुई क्वाइल खानेपानीको पाइपको व्यवस्था गरेको बताए ।
पहिरोबाट घाइते भएकाको उपचार र मृतकका परिवारलाई स्थानीय तह मार्फत आफन्तलाई जिल्ला विपद व्यवस्थापन समितिबाट दुई लाख रुपैयाँ राहत दिने पनि प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
विपद व्यवस्थापन कार्य विधी २०८१ अनुसार स्थानीय तहले पिडितलाई राहत दिने र प्रशासनमा आवश्यक कागजात पेश भए अनुसारको रकम जिल्ला विपद व्यउवस्थापन समितिले नगरपालिकाको खातामा रकम पठाउने उल्लेख भएको प्रजिअ निरौलाको भनाई रहेको छ ।
गएराति आएको अविरल वर्षाका कारण ४० वर्षीय धर्म थापा,४० वर्षीया धौली रावल घाइते भएका छन् । भने २० वर्षीया प्रतिक्षा थापाको पहिरोमा परी मृत्यु भएको छ ।
पहिरो आएर दुई घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पहिरोका कारण गाउँ नै जोखिममा परेको छ ।



