रसुवा भन्सार विपत्ति : अर्बौंको सामान बगायो, चालक र व्यवसायीको अवस्था अज्ञात

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको विनाशकारी बाढीले रसुवागढी भन्सार क्षेत्र (टिमुरे) मा अहिलेसम्मकै ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
नजिकिँदै गरेका ठूला चाडपर्व तिज, दसैं, तिहार र छठ लक्षित गरी चीनबाट आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान, सयौँ मालवाहक कन्टेनर र त्यहाँ कार्यरत व्यवसायी, भन्सार एजेन्ट तथा यातायात मजदुर बाढीको चपेटामा परेका छन् ।
बाढीले रसुवाको टिमुरेस्थित भन्सार यार्डलाई पूर्णरूपमा तहसनहस बनाएको छ भने यसको प्रभाव रसुवाका तल्लो तटीय क्षेत्रसहित नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत जिल्लामा समेत परेको छ ।
भन्सार कार्यालय सहित त्यस आसपास दर्जनौं बस्ती बाढीका कारण पूर्णरूपमा प्रभावित भएका छन् । सञ्चारका पूर्वाधार (टावर) हरूमा बाढीले क्षति पुर्याएपछि त्यस क्षेत्रको टेलिफोन र इन्टरनेट नेटवर्क पूर्णरूपमा विच्छेद भएको छ, जसका कारण यकिन मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको छ ।
नेपाली बजारमा चाडपर्वका बेला खपत हुने अधिकांश लत्ताकपडा र विद्युतीय सामग्री चीनबाटै आउने गर्छन् । व्यवसायीका अनुसार भदौदेखि सुरु हुने चाडपर्वका लागि व्यवसायीले असार र साउनमै चीन पुगेर सामानको अर्डर गरेका थिए ।
गत साउनदेखि चीनसँगको अर्को प्रमुख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी पूर्णरूपमा बन्द भएपछि व्यवसायीले चीनबाट आयात हुने सम्पूर्ण सामान रसुवागढी नाकातर्फ मोडेका थिए ।
चीनतर्फबाट सामान धमाधम नेपाल भित्रिँदै गरे पनि वर्षायामका कारण नेपालतर्फको सडक भने ठाउँ–ठाउँमा बिग्रिएको थियो । सडक बिग्रिएका कारण काठमाडौंतर्फ सामान ढुवानी गर्न नसकिने अवस्था सिर्जना भयो, जसको परिणाम स्वरूप भन्सार यार्डमा ठूलो परिमाणमा मालसामान र कन्टेनर रोकिएर बसेका थिए ।
सडक मर्मतपछि खुल्नेबित्तिकै ती सामान क्रमश: भन्सार यार्डमा आउने र पास भएर काठमाडौं आउने क्रममा थिए ।
व्यवसायीका अनुसार यो सिजनमा विशेष गरेर खाद्यान्न, जुत्ताचप्पल, रेडिमेड कपडा, ब्याग, इलेक्ट्रिक (विद्युतीय) लगायत सामान ठूलो परिमाणमा आयात हुन्छन् ।
चाडपर्व लक्षित गरेर मगाइएका कुल सामानमध्ये आधाभन्दा बढी सामान आज बिहानको समयमा भन्सार क्षेत्रमै रहेको अनुमान गरिएको छ ।
भन्सार यार्डमा रहेका रेडिमेड सामानसँगै ठूलो संख्यामा आयात गरिएका महँगा विद्युतीय सवारीसाधन (ईभी) समेत बाढीले बगाएको छ । व्यवसायीका अनुसार ५–७ सय संख्यामा सवारी बाढीले बगाएको छ ।
केही दिनदेखि बन्द सडक र भन्सार प्रक्रिया आजैदेखि पुन: सुरु हुने सूचना पाएपछि सामान छुटाउन काठमाडौंबाट ठूलै संख्यामा व्यवसायी र चालक टिमुरे पुगेका थिए ।
रसुवागढी नाकामा भएको घटनालाई लिएर राजधानी काठमाडौंमा रहेका व्यवसायी अत्यन्तै त्रसित र चिन्तित अवस्थामा छन् । नेटवर्क नभएका कारण त्यहाँ रहेका आफ्ना कामदार र प्रतिनिधिसँग सम्पर्क हुन नसक्दा उनीहरू थप आत्तिएको बताएका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य संघ अध्यक्ष रामहरि कार्कीका अनुसार रसुवागढी नाकामा सामान ढुवानीका लागि पुगेका २ सयभन्दा धेरै ट्रक बाढीले बगाएको अनुमान छ ।
सञ्चार सम्पर्क नभए पनि विभिन्न माध्यमबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार भन्सार यार्ड पूर्णरूपमा रित्तिएको उनको भनाइ छ ।
‘२ सयभन्दा बढी मालवाहक गाडी बगायो भन्ने खबर हामीलाई आएको छ, यार्डमा भएको गाडी एउटा पनि बाँकी छैन भन्ने सुनिन्छ,’ अध्यक्ष कार्कीले भने, ‘हाम्रा धेरै मान्छेहरू, चालक र कामदारहरू सम्पर्कविहीन छन्, कैयौँ कामदारहरूको अवस्था के छ भन्ने हामीलाई केही जानकारी छैन ।’
नेपाल ट्रक यातायात व्यवसायी महासंघले पनि टिमुरेमा चीनको तिब्बती भूभागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ ।
महासंघ महासचिव बद्रीप्रसाद चौलागाईंले बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको र बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।
मानवीय उद्धार पहिलो प्राथमिकता : राष्ट्रिय व्यवसायी महासंघ
नेपाल राष्ट्रिय व्यवसायी महासंघले भने अर्बौंको सामान डुबे पनि यतिबेला आफूहरूको ध्यान क्षतिको विवरण संकलन गर्नेतर्फ नभई बेपत्ता भएका मानिस खोजी गर्नेतर्फ केन्द्रित रहेको जनाएको छ ।
महासंघ अध्यक्ष मनोजबाबु श्रेष्ठले घटनालाई गम्भीर मानवीय विपत्तिका रूपमा लिँदै आफ्ना साथीभाइ र कामदारको अवस्था बुझ्नु नै प्रमुख काम भएको बताएका छन् ।
‘हामीले हाम्रा व्यवसायीहरूसँग क्षतिको लागत संकलन गर्न सकेका छैनौं, धेरै कन्टेनर परेको छ, तर हामी अहिले कन्टेनरभन्दा पनि सम्पर्क बाहिर भएका साथीहरूलाई सम्पर्कमा ल्याउन खोजिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘आजको हाम्रो प्राथमिकता भनेकै साथीहरू कहाँ हुनुहुन्छ भनेर खोज्ने हो, धेरै साथीहरू सम्पर्क बाहिर हुनुहुन्छ, त्यसैले आज हामीले सामान खोजेका छैनौं, हामी मान्छे खोजिरहेका छौं ।’
उनले चाडपर्वको सामान आउने यो ‘पिक आवर’ भएकाले १२–१५ दिनदेखि भन्सार क्लियरिङ गर्ने एजेन्ट, व्यवसायी र चालकहरू त्यहाँ बाक्लो संख्यामा उपस्थित रहेको जानकारी दिए ।
श्रेष्ठका अनुसार भन्सार यार्डमा ठ्याक्कै कति गाडी थिए र पुलपारि कति थिए भन्ने यकिन विवरण बेलुकासम्म मात्र आउन सक्ने छ ।
‘व्यापारिक घाटा त पूर्ति होला, तर मान्छेको ज्यान कसले फर्काउने ?’
नेपाल समुद्रपार निकासी पैठारी संघ महासचिव जयन्तकुमार अग्रवालले बाढीका कारण मानिसहरू नै बगाएको देखिएकाले समग्र व्यावसायिक क्षेत्रलाई त्रसित बनाएको बताएका छन् ।
व्यापारिक मार्गको केन्द्रमै अकल्पनीय विपत्ति आएका कारण ठूलो आर्थिक नोक्सानी भए पनि मानवीय क्षतिको अगाडि त्यो केही नभएको उनको भनाइ छ ।
‘यहाँ त मान्छेहरू बगाएर लगेको खबर आइरहेको छ, त्यसले झन् अलिकति डर र त्रसित बनाएको छ,’ अग्रवालले भने, ‘व्यापारिक घाटा त फेरि पनि केही न केही पूर्ति गर्न सकिएला, तर मानवीय क्षति त धेरै ठूलो क्षति हो, यसको पूर्ति कहिल्यै हुन सक्दैन ।’
उनले भन्सारमा काम गर्ने ४९ जना एजेन्टमध्ये कति जना सुरक्षित छन् भन्ने कुरा अझै स्पष्ट नभएको बताए । ‘सर्वप्रथम त त्यहाँ भएका मानिसहरू जो जहाँ हुनुहुन्छ, उहाँहरू सुरक्षित भएको समाचार आउनु पर्यो,’ अग्रवालले थपे, ‘त्यसपछि मात्रै व्यापारिक क्षतिको आकलन गर्न सकिन्छ ।’
न्युरोडस्थित आरबी कम्प्लेक्स व्यवसायी संघ अध्यक्ष परशुराम दाहालले पनि आफ्ना सामान ल्याउने क्यारिङवाला (ढुवानीकर्ता) सँग बिहानैदेखि सम्पर्क हुन नसकेको बताएका छन् ।
उनको करिब ७ देखि ८ लाख रुपैयाँ बराबरको सामान भन्सार क्षेत्रमै रहेको अनुमान छ । तर, सामानभन्दा पनि त्यहाँका बासिन्दा, व्यापारी साथीको अज्ञात अवस्थाले चिन्तित बनाएको उनले सुनाए ।
अध्यक्ष दाहालका अनुसार केही दिनदेखि बन्द रहेको भन्सार आजैदेखि खुल्ने र दसैंको सामान छुट्ने सूचना पाएपछि काठमाडौंबाट ठूलो संख्यामा व्यापारी टिमुरे पुगेका थिए ।
‘मेरो आफ्नै पनि सामान आउँदै थियो, क्यारिङवालालाई सम्पर्क गर्न खोजेको, अहिलेसम्म सम्पर्क नै भएको छैन,’ दाहालले भने, ‘बजारमा सुन्दाखेरि झन्डै १५ सय मान्छे त्यहाँ गए भन्ने हल्ला सुनिन्छ, त्यसमध्ये डेढ सयदेखि दुई सय जना त कन्टेनरका चालकहरू नै छन्, फोन गर्दा लाग्दै लाग्दैन ।’
यस विपत्तिले दसैंको मुखमा बजारमा सामानको चरम अभाव हुने र महँगी बढ्ने निश्चितप्राय: देखिएको छ । अर्बौंको सामान पानीमा डुबेपछि बैंकबाट ऋण लिएर व्यापार गरिरहेका साना तथा ठूला हजारौं व्यवसायी प्रत्यक्ष मारमा परेका छन् ।
अहिले रसुवा लगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासिन्दा उद्धार तथा खोजी कार्यमा सक्रियतापूर्वक जुटेका छन् । सरकारले क्षतिको पूर्ण विवरण उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्रै यकिन हुने बताएको छ ।



